हिरासतमा मेरा २६ दिन

पाँचथरको लुङरूपा (२००० मीटर) मा २०७४ कार्तिक ३० गतेको दिन चिसो चिसो सिरेटो चलिरहेको थियो । सूर्य दक्षिणतिर लागेको हुनाले मधुरो धाम लागेको थियो । सबै कक्षामा पढाइ चलिरहेको थियो । म कक्षामा पढाइरहेकी थिएँ । कक्षाकोठामा नै ड्रेसमा रहेका पुलिसहरू एक्कासी प्रवेश गरे । मैले एकदमै छोटो समयमा सोचें यिनीहरू किन कक्षा कोठामा नै आए भनेर । तर उनीहरू मलाई नै लिन आएका रहेछन् । म अचम्मित भएँ । मैले के अपराध गरेको छु र पुलिस मलाई गिरफ्तार गर्न आयो मलाई नै थाहा भएन । एकजना पुलिसले “तपाईलाई फिदिम जिप्रकामा डिएसपी साबले भेटन बोलउनु भएको छ । हामी लिन आएका छौ जाऔं भनें । जाडो भएकाले न्यानो लुगा लगाउनु पर्छ भनेर मैले घर जानुपर्छ भनें । घर नजिकै थियो । उनीहरूले मानें । घरमा गएर न्यानो कपडा लगाएँ । दुवै छोराहरू पढ्न काठमाडौं गएकाले म घरमा एक्लै थिएँ । त्यसैले घरका झ्याल र ढोका बन्द गरेँ । बाहिर निस्किएपछि एकपटक घरलाई हेर्न मन लाग्यो । साँझ परिसकेको थियो । घरलाई हेर्दै अगाडि बढें ।

मलाई गिरफ्तार गर्न आएका पुलिसले यतिबेलासम्म किन समातेको कारण भनेका छैनन् । तर मैले लख काटिसकेकी थिएँ । म नेपाल शिक्षक महासंघको राष्ट्रिय महिला उपाध्यक्ष हुँ । अखिल नेपनल शिक्षक संगठनको तर्फबाट प्रतिनिधित्व गर्दछु । मलाई आस्थाकै आधारमा गिरफ्तार गरेको हो भन्ने मैले बुझेकी थिएँ । तरपनि म कुनै राजनैतिक कार्यक्रममा सरिक थिएन । तर यहाँ संसदीय राजनैतिक पार्टीप्रति आस्था राख्ने शिक्षहरूले पढाउन छोडेर कुनै पार्टीको कार्यकर्ता भएर दैनिक भाषण गरेर हिड्न छुट छ । मैले कक्षा कोठामा नियमित शिक्षण गर्दा पनि फरक आस्था राख्दा गिरफतार गरियो । यो देशको संविधानमा राजनीतिक स्वतन्त्रताको कुरा लेखिएको छ । तर नागरिकले आस्था राख्न नपाउने यही हो लोकतन्त्र ? नियमितरूपमा विद्यालय गई शिक्षण गर्नु मेरो गल्ति थियो ? लोकतन्त्र, प्रजातन्त्रमा आफ्नो विचार राख्नु के अपराध हो ? यिनै कुराहरू सोच्दै अघिपछि पुलिस लगाएर फिदिमको यात्रामा हिडें ।

फिदिम जाँदै गर्दा घाम डाँडापारी डुब्दै थियो । खेतवारीमा काम गरेर घर फकिर्दै गरेका गाउँघरका दिदी, बहिनी, दाजुभाईहरू मलाई हेरिरहेका थिए । कोही झयालबाट कोही स्कुलको चौर डिलमा लाइन लागेर विद्यार्थीले मलाइ हेरिरहेका थिए । जीवनको यस्तो क्षण बन्यो जुन कहिल्यै नबिर्सिने खालको । मलाई श्रीमानको याद आयो । उहाँ यही महादेव गुप्तेश्वर माध्यमिक विद्यालय लुङरूपाको निमावि दरबन्दीको शिक्षक हुनहुन्थ्यो । अहिले म यसै विद्यालयमा शिक्षिका छु । मेरो श्रीमान संसदीय व्यावस्थाले जनताको हित गर्दैन । श्रमजीवी जनताको मुक्तिको लागि सामन्तवादी राजतन्त्रात्मक व्यावस्थको अन्त्य गरी जनवादी व्यावस्थाको स्थापना गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यतिवेला जनयुद्द उत्कर्षमा पुगेको थियो । तत्कालिन शाही सेनाले २०५९ साल भदौ २ गते घरको आँगनबाट गिरफ्तार गरी यही स्कुलको चौरमा लगेर गोली हानेर उहाँको हत्या गरेको थियो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मेरो श्रीमान जस्तै हजारौ नेपाली आमाको छोराछोरीले बलिदान गरेका छन् । २०४७ सालको संविधान विश्वकै उत्कृष्ठ संविधान हो । बहुदलीय व्यावस्था र संवैधानिक राजतन्त्र अपरिवर्तनिय छ भन्ने दल र त्यसका नेताहरू अहिलेको शासन सत्तामा छन् । जनताको आर्थिक र समाजिक जीवनमा कुनै परिवर्तन आएको छैन । लोकतान्त्रिक गणतन्त्रको नाममा पुरानै व्यवस्थाको अभ्यास भइरहेको छ । जसले राजनीतिक परिवर्तनको लागि आफ्नो जीवन बलिदान ग¥यो, आज उसैको परिवार जेल जानु पर्ने ? यो कस्तो लोकतान्त्रिक गणतन्त्र हो ? आस्थाको आधारमा निर्दोष महिला शिक्षकमाथि यो राज्यले गरेको रवैयालाई कसरी हेर्ने ?

करिब ७:३० बजे तिर सदरमुकाम फिदिम आइपुगियो । मेरो पखाईमा यस जिल्लाका सीडीओ साहेब बसेका रहेछन् । उनले यहीँ जिल्ला प्रहरी कार्यालयमा जानकारी थिए । तर उनले किन मलाई गिरफतार गरियो भन्ने कारण सुनाएनन् । एकान्त कोठा अनि त्यो रात एक्लै बस्नुपर्ने मेरो बाध्यता थियो । नयाँ ठाउँ, नयाँ परिवेशमा बस्नुपर्दा आफ्नै छायाँसगँ अनेक कुरा गर्दै रातको दोस्रो प्रहरसम्म टोलाएँ । त्यो रात असाध्यै पिडा दायक भयो । विभिन्न सोच चिन्तन र उपियाँ र उडुसको टोकाइले रातभरी निद्रा लागेन ।

रातभरी नसुतेकोले मलाई भोलीपल्ट दिनभरी जीऊ सन्चो भएन । म गिरफ्तार भएको सुनेर मेरा शुभचिन्तक र साथीहरू भेट्न आए । उनीहरूसँगको कुराकानीले आनन्दको महसुुस भयो । सोही दिनको करिब २:३० बजेतिर संघ/संस्था, मानव अधिकारकर्मी साथै विभिन्न राजनीतिक दलका स्थानीय जिल्लाका नेताहरू सहयोगले उक्त समस्याबाट छुटकरा पाएँ । धेरै खुशी भएँ । भोलीपल्ट घर जाने तयारीमा थिएँ । मेरो कान्छी बहिनीको विहे नजिकै आइरहेको थियो । मेरो दुवै भाइहरू घरबाहिर भएकोले अभिभावकको काम आफैले निर्वाह गर्नु थियो ।

तर बिडम्बना ! मलाई छाडेको केही समय बित्न नपाउदैँ पुनः पक्राउ गरियो । मैले अलिपछि मात्र थाहा पाएँ । निर्वाचन खारेज आभियानको सक्रिय कार्यकर्ता भनेर पक्राउ गरेको रहेछ । सरकारको आधिकारीक संस्था नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको महिला उपाध्यक्ष हुँ । कक्षा कोठाको नियमित शिक्षण गर्ने शिक्षक हुँ । सायद मलाई यो कुराको कुनै जानकारी नै थिएन । एक्कासी यत्रो ठूलो उपाधि पाएकोमा अचम्म लाग्यो । केही हदमा भने खुशी पनि भएँ । यसरी पुन पक्राउ परे पनि विभिन्न निकाय, शिर्ष नेता, अधिकारकर्मीबाट मेरो विषयमा छलफल चलिरह्यो । तथापि जिल्लाका प्रमुख व्यक्तिहरूले सकारात्मक सोच देखाएपनि क्षेत्रीय प्रशासन कार्यलयले नछोड्ने कुरा आएपछि पुसिस हिरासतमा बस्नुपर्ने भयो । एकदमै पिँडा भयो । मुख्य कुरो मेरी कान्छी बहिनीको विहेको सुअवसरबाट टाढा भइरहँदा अनि विविध व्यवहारिक समस्याको कारण मेरो मनमा पिँडा पर्नु स्वभाविक थियो । यदाकदा सुन्ने गरेकी थिएँ हिरासतमा बढो कष्टपूर्ण तरिकाले बस्नु पर्ने हुन्छ भनेर आज आफैले भोग्नु पर्‍यो ।

केही दिन पछि एकजना तारा राई बहिनीलाई निर्वाचन विरोधी भनेर पक्राउ गरेर ल्यायो । त्यसपछि महिला हिरासतमा दुई जना भयौं । कुरा गर्न सजिलो भयो । २६ दिन हिरासतमा बसेको अवस्थामा दिनप्रतिदिन मेरा शुभचिन्तक साथीहरूको भेटले मलाई दिन बिताउन धेरै सहज भएको थियो । तर समय समयमा भने आफ्नो परिवारिक सम्झनाले भने असाध्यै पिँडा हुन्थ्यो । उक्त पिँडाले गर्दा आफै भित्र प्रश्नोत्तर गरी धेरै रुन्थेँ । एकजना श्रष्टाले पुस्तक ल्याइदिनु भएको थियो–“महको म” । उक्त पुस्तकका पाना पाना पढ्दै पढ्दै जादा मैले आफुलाई सहज तरिकाले बुझे, कहिले कहिले त पढ्दै जानेक्रममा थाहा नपाई नै आशु बग्ने गर्थो । फेरी आफुलाई संयमित हुन्थेँ । यसरी नै विभिन्न पत्र पत्रिका अन्य पुस्तक पढेर दिन विताउथेँ । पुरुष हिरातमा केही साथीहरूलाई राखेको थियो । उहाँहरूसँग देखादेख हुन्थ्यो । तर कुरा हुँदैन्थ्यो ।

राज्यले आस्थाका आधारले दमन गरेर आस्था मर्दैन, झन स्पातिलो हुने रहेछ । म जस्तै आस्थाका आधारमा देशैभरि दर्जनौ शिक्षकलाई पक्राउ गरेको रहेछ । आज शिक्षक कर्मचारीका समस्या जस्ताका त्यस्तै छन् । शिक्षक कर्मचारीको ट्रेडयुनियन अधिकार खोसिदैँ छ । शिक्षाको दायित्वबाट राज्य पन्छिदैछ । शिक्षामा निजीकरण र व्यापारीकरण बढिरहेको छ । वर्षेनी हजारौ युवाशक्ति विदेश पलायन भइरहेको छ । शिक्षा सामान्य जनताको लागि “आकाश फल आखाँ तरी मर” भन्ने स्थिति छ । यस्तो परिस्थितिमा शिक्षामा आमुल परिवर्तन गर्न र शिक्षकको पेशागत अधिकारका लागि एकमत हुन जरुरी छ । शिक्षक माथि राज्यले गर्ने व्यबहारले आस्था कमजोर होइन झन मजवुत हुन्छ । २६ दिनसम्मको हिरासत बसाई पछि मंसिर २४ गते तारेखमा रिहाइ भइयो । अन्तमा हिरासतमा मलाई भेटेर विभिन्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद । स्रोत: रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३२, पूर्णाङ्क १२७

२०७४ माघ १४ गते अपरान्ह ४ः५३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :