अस्वीकार

 

 

 

 

 

                                                   –इच्छुक

(सिरहाका चमारजातिले सिनो फाल्न अस्वीकार गरेपछि)

उठ् भन्यौ उठेँ
बस भन्यौ बसेँ
हिंड भन्यौ हिडेँ
मेरो मालिक ।

आजसम्म तिमीले मलाई
जे–जे आदेश दियौ
ती सबैलाई मैले शिरोपर गरेँ
तिम्रो इच्छाले म अछुत बनेँ
तिम्रो इच्छाले म दलित बनेँ
तिम्रो इच्छाले म अपहेलित बनेँ
तिम्रो इच्छा नै मेरो इच्छा बन्यो
मेरा मालिक
आजसम्म तिमीले मलाई
जे–जे बनायौ
अनिच्छापूर्वक म त्यही–त्यही बनेँ
तिम्रो भागमा तिमीले उच्च जात पार्‍यौ
तिम्रो भागमा तिमीले उच्च वर्र्ण पार्‍यौ
तिम्रो भागमा तिमीले उच्च वर्ग पार्‍यौ
तिमी सधैँ उच्चतिमी सधैँ शुद्ध
तिमी सधैँ पूज्य
मेरा मालिक
तिम्रो नजरमा म सधैँ नीच ठहरेँ ।
तिम्रा लागि घन ठोकेँ मैले
तिम्रा लागि सिनो बोकेँ मैले
तिम्रा लागि चर्पी सोहोरेँ मैले
मानिसलाई जातपात र वर्गहरूमा बाँडेर
मेरा भागमा तिमीले जे–जे तोक्यौ
मेरो मालिक
तिम्रो निर्देशनमा विवशताले हर–तुच्छ काम रोजेँ मैले
ठूलाठूला महल बन्दा
महलहरूका निम्ति मेरो पसिना बगे
ठूला–ठूला मन्दिर बन्दा
मन्दिरहरूका निम्ति मेरो पसिना चढे
पौरख चढे/पुरुषार्थ चढे
मेरा मालिक
तर तिनै महल र मन्दिरका ढोकाहरू
मेरो निम्ति प्रवेश–निषेध ठहरेँ
तिम्रा हर–मेला पर्वमा
सधैँ म नै चाहिने
तिम्रा हर खुसी र उत्सवमा
मेरै श्रमको खाँचो पर्ने
तिम्रो खुट्टामा जुत्ता मेरै छ
तिम्रो शिरमा टोपी मेरै छ
तिम्रो अ“गेनाको ओदानदेखि
भान्साका सारा सर्जामसम्ममा
मेरै हातका सीप र इलम छ
मेरो मालिक
सुन्दर वस्त्र र गहनाले
तिमीलाई सधैँ सजाइनँ कि मैले
दिनरात चाकडी र सेवा गरेर
तिमीलाई सधैँ रिझाइनँ कि मैले
सारा जीवन जीउले सकेसम्म
तिम्रा लागि भन के के गरिनँ मैले
तर त्यसको मूल्य
भन कसरी चुक्ता गर्‍यौ तिमीले ?
घाँटी–घाँटीसम्म अपमान दियौ तिमीले
टुप्पी–टुप्पीसम्म तिरस्कार दियौ तिमीले
‘अछुत र दलित’ को घृणित पगरी भिराएर
ज्यूँदै नर्कमा पुर्‍यायौ तिमीले
जब बुझेँ मैले तिम्रो कालो रीतिलाई
अपमानले तल निहुरेको मेरो शिर
आज स्वाभिमानले माथि उठाएँ मैले
फाल्नुपर्ने त दुष्ट चाल रहेछ
जब बुझेँ मैले बुझ्नैपर्ने कुरा
मेरा मालिक
तिम्रो आज्ञालाई तिरस्कार गरेँ मैले
आज सिनो फाल्न अस्वीकार गरेँ मैले । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३२, पूर्णाङ्क १२७

 

२०७४ माघ १४ गते अपरान्ह ४ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :