सी चीङफिङ नै चीन : जावेद अनिस

आजको चीन विरोधाभासले भरिएको देश हो, जहाँ एउटा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी अर्थ–व्यवस्थाको सफलतापूर्वक सञ्चालन भइरहेको छ । जसलाई चिनियाँ शासकहरूले चिनियाँ विशेषताको समाजवाद भन्ने गरेका छन् । त्यही उपडखापड बाटोमा हिँडेर चीन विश्वअर्थतन्त्रको चालक–यन्त्र बन्न गएको छ । चीनको यो सफलता चामत्कारिक छ । पछिल्लो दशकमा चीनले जसरी आफ्नो प्रभावकारी झन्डा गाडेको छ त्यसले संसार अचम्मित भएको छ । यद्यपि चीन आज सबैलाई पछाडि धकेल्ने उद्देश्य राख्छ ।

हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १९ औं महाधिवेशनले के निर्णय गरेको छ भने यो सी चीङफिङ यु हो र सीको सपना नै चीनको सपना हो । उनी अब चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय केन्द्रीय समितिको महासचिव, चीनका राष्ट्रपति र केन्द्रीय सैन्यआयोगको जस्ता असीमित शक्तिहरूले बलशाली भएका छैनन् । अब उनलाई अध्यक्ष माओको बराबर हैसियत प्राप्त भएको छ । उनको नाम र विचारलाई सीपीसको पार्टी विधानमा समेत समावेश गरिएको छ । त्यो प्रक्रियासँगै चिनियाँ सञ्चारका लागि सी जनसेवक, युगवाहक र राष्ट्रिय मेरुदण्ड बनिसकेका छन् ।

सन् २०१७ अक्टोबर ८–२४ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशन भएको छ । त्यसबाट चीनले विश्वलाई सिधा के सन्देश दिएको छ भने ऊ आफ्नो परम्परागत परिचयलाई कुनामा थन्क्याएर आर्थिक प्रगतिमुखी परिचय स्थापित गर्न चाहन्छ । देशभित्रको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गरिसकेको सीले अन्तर्राष्ट्रिय मञ्चमा पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन् । चीनमा नयाँ युगको सुरुआत र चीनको महान् पुनरुत्थानको चर्चा भइरहेको बेला त्यसको साथसाथै विश्वमञ्चमा पनि चीन निर्णायक भूमिका निर्वाह गर्न अघि बढिरहेको छ ।

अध्यक्ष सी चीङफीङ
सन् २०१२ मा सी चीङफीङलाई पार्टीको नेतृत्व गर्ने अवसर प्राप्त भएको थियो । त्यसपछि सन् २०१३ मा उनी राष्ट्रपति भए । त्यसपछि लगातार उनले आफ्नो शक्ति बढाउँदै गएका छन् । गएको पाँच वर्षयता सी र उनका सहयोगीहरूले सामूहिक नेतृत्वले देशमा समस्या पैदा हुन्छ भन्ने कुरा स्थापित गर्न खोजिरहेका छन् । त्यसले गुटबन्दी र भ्रष्टाचारलाई प्रोत्साहित गर्छ । त्यसकारण चीनको नयाँ युगमा प्रवेश गर्नका लागि शक्तिशाली र नेतृत्व केन्द्रीकरण आवश्यक छ । त्यसकै सिलसिलामा चीनमा बहुचर्चित भ्रष्टाचार विरोधी अभियान चलाइएको हो । त्यस दौरान उनले ठूलो संख्यामा नेताहरू, उच्च तहका कर्मचारीहरू र सेवानिवृत्त सेनाका अधिकारीहरूलाई जेलमा कोचिसकेका छन् । तसर्थ, त्यो भ्रष्टाचार विरोधी अभियान मात्र थिएन किनकि भ्रष्टाचार विरोधी अभियानको क्रममा सीले आफ्ना राजनीतिक विरोधी र प्रतिस्पर्धीहरूलाई समेत तह लगाएका छन् । त्यसकारण सीको हातमा अथाह शक्ति निहित भएको छ । भावी दिनमा उनीद्वारा प्रस्तुत मार्गमा अघि बढ्ने निर्णय चीनले गरिसकेको छ । अब उनलाई अध्यक्ष माओकै समकक्षीका रूपमा पेश गर्न थालिएको छ । चिनियाँ राष्ट्रवाद उनको मूल विशेषता हो र अग्रजहरूको विपक्षमा हिँड्न उनलाई कसैको अवरोध पनि छैन । आगामी पाँच वर्षपछि उनले आफ्नाे स्थानमा अरू कसैलाई जाने बाटो छोडिदिन्छन् कि फेरि आफै जान्छन् भन्ने कुराको संकेत दिएका छैनन् । सन् २०२२ मा सीको दोश्रो कार्यकाल सकिनेछ । त्यसपछि के हुन्छ भन्ने स्पष्टता छैन । आन्तरिक रूपमा उनको विरुद्ध टक्कर दिनसक्ने पात्र धेरै टाढा–टाढासम्म पनि कतै देखिन्न । उनी यसबेला सर्वेसर्वा नेता हुन् र आफ्नो बारेमा आफै निर्णय गर्न स्वतन्त्र छन् ।

आजभन्दा अघि चीनमा अध्यक्ष माओ युग र त्यसपछि तङ्ग स्याओ फिङयुग थियो । २०१२ पछिको समयलाई सीयुग भन्न थालिएको छ । त्यसो त सीलाई माओकै समकक्षी नेताका रूपमा प्र्रस्तुत गर्न थालिएको छ तर सी सुधारवादी नेता देङको बाटोमा अघि बढिरहेका छन् । वास्तवमा देङले नै चीनलाई माओको देहान्तपश्चात सुधारको बाटोमा डोर्‍याएका थिए । सन् १९७८ मा देङले सुधार र खुलापनको नीति प्रस्ताव गरेका थिए । जसलाई चिनियाँ विशेषताको समाजवाद भनिएको छ । सीले पनि उही चिनियाँ विशेषतासहितको समाजवादको कुरा गरिरहेका छन् । देङको चिनियाँ विशेषताको समाजवादमा सीले केवल ‘नयाँ युग’ थपेका छन् । त्यसो त सीको काम गर्ने शैली भने माओकै जस्तो छ । माओकै जसरी उनी पनि नेतृत्व केन्द्रीकरणको वकालत गर्छन् । जो सर्वशक्तिमान र सम्पूर्ण शक्ति निहीत भएको होस् । अध्यक्ष माओपछि चीनलाई फेरि एकपटक आफ्नो अध्यक्ष प्राप्त भएको छ ।

चिनियाँ अनुभव
चिनियाँ अनुभव आफैमा विश्वका लागि पृथक र अनौठो छ । जसलाई चिनियाँ विशेषतासहितको समाजवाद भनिन्छ । जसको राजनीतिक व्यवस्था कम्युनिस्ट तरिकाले चल्छ तर अर्थ–व्यवस्था पुँजीवादी नियम तथा शैलीमा चल्दछ । जहाँ अर्थ–व्यवस्थामा खुलापनको वकालत गरिन्छ तर अर्थ–प्रणालीमा राजकीय नियन्त्रणको विरोध गरिन्छ । पार्टी नियन्त्रण अर्थतन्त्रमा नहुने बाचा गरिन्छ । नागरिकको लागि अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गरिन्छ । स्वतन्त्र आवाजमाथि प्रतिबन्ध लगाइन्छ र जनतासमक्ष राजनीतिक विकल्प हुँदैन । चीनमा कम्युनिस्ट पार्टीको शासन छ र त्यो केन्द्रशासिात लोकतन्त्रवादी सिद्धान्तअनुसार चल्छ । जसको पार्टी सदस्य ९० करोड (९ करोड हुनुपर्ने होला तर यहाँ अन्यथा तथ्याङ्क समावेश छ– अनुवादक) रहेको बताइन्छ । त्यसको सम्पूर्ण शक्ति ७ सदस्यीय स्थायी समितिमा निहित छ । त्यसमा पनि सीजस्ता नेता स्थायी समितिमा हुन्छन् भने सम्पूर्ण शक्ति एउटै व्यक्तिमा केन्द्रित हुन जान्छ ।

आज पश्चिमको उदारवादी लोकतन्त्र आन्तरिक प्रश्नहरूमा अल्झिएको छ । यस्तो समयमा चीनले आफूलाई विकल्पको रूपमा प्रस्तुत गरेको छ तर चीनले आफ्नो विचार निर्यात गर्ने दावी कहिल्यै गरेको छैन । त्यो नमूना केवल चीनको लागि हो भन्ने उसको दावी छ ।

चिनियाँ सपना
चीनले जुन रफ्तारमा अर्थतन्त्रको विकास गरेको छ; त्यसलाई चमत्कार नै भन्न सकिन्छ । त्यसका लागि उसले ठूलो धैर्यता अवलम्बन गरेको छ । ठूलो घुम्ती र योजनाबद्ध प्रयास गर्दै ऊ त्यहाँसम्म पुगेको हो । देङको एउटा चर्चित भनाइ छ, “बिरालो कालो होस् कि सेतो, त्यसको हामीलाई कुनै पर्वाह छैन, जबसम्म त्यसले मूसो समात्छ ।” बुझ्न सकिन्छ कि उनको जोड शैलीप्रति थिएन; लक्ष्यप्रति थियो ।

आज चीनको अर्थ–व्यवस्था विश्वको दोश्रो ठूलो अर्थ–व्यवस्था बनिसकेको छ । सांघाईको फुर्ति विश्वका कुनै पनि विशाल सहरभन्दा कमजोर छैन । सुधारवादी नीति लागू भएपछि चीनमा धनी र गरिबको बीचमा असमानता बढेको छ । यद्यपि यसबीचमा ठूलो संख्यामा नागरिकहरू गरिबीको रेखाबाट बाहिर आएका छन् । सैन्यक्षमतामा वृद्धि भएको छ । विश्वस्तरमा उनको चमक वृद्धि भएको छ । आगामी वर्ष उदारवाद लागू भएको ४० वर्ष हुँदैछ । सीले त्यसलाई ऐतिहासिक उपमा दिइसकेका छन् । सीले चिनियाँ राष्ट्रवादको पुनरुत्थानको सपना प्रस्तुत गरेका छन् । जसमा विश्व रङ्गमञ्चमा चीन आर्थिक शक्तिसहित एउटा महाशक्तिको रूपमा उपस्थित हुनेछ । आफ्नाे त्यो सपनालाई राष्ट्रपति सीले ‘चिनियाँ सपना’ अथवा सम्पूर्ण चिनियाँ जनताको अपेक्षाको रूपमा प्रस्तुत गरेका छन् । त्यसका लागि उनले व्यापक रूपमा नवीनीकरणको प्रचार गरिरहेका छन् । जसमा देङको खुलापनको विस्तार र शासकीय प्रणालीमा आधुनिकीकरणको विषय उठाएका छन् । अर्को वर्ष चीनले आफ्नो शताब्दी वर्ष (१ सय वर्ष उत्सव– अनुवादक) मनाउँदैछ । २०२० पुग्दा–नपुग्दै अभावरहित चिनी समाजको निर्माण गर्ने सीको दावी छ । २०३५ सम्म चीन आफूलाई सैन्यशक्तिको रूपमा उभ्याउन चाहन्छ । सन् २०५० सम्म चीनलाई सम्पूर्ण रूपमा विकसित देश बनाउने उनीहरूको लक्ष्य छ ।

विश्वव्यापी चिनियाँ प्रभाव
चीनले विश्वसमक्ष आफ्नो महत्वाकांक्षा लुकाउन छोडेको छ । उसले आफ्नो मनसायको कुटिरो खोलेको छ । सीपीसीका नयाँ प्रमुख सीले पार्टीको १९ औं महाधिवेशनमा घोषणा गरे कि “अब हामीले विश्वको केन्द्रीय मञ्चमा आफ्नो स्थान दावी गुर्नपर्छ र मानवजातिका निम्ति महान् योगदान गर्नुपर्छ ।” उनले त्यो समय आइसकेको घोषणा गरेका छन् । सबैलाई थाहा छ कि चीन विश्व मञ्चमा आफूलाई केन्द्रीय भूमिकामा देख्न चाहन्छ ।

सीको पहिलो कार्यकालदेखि नै चीनले आफूलाई विश्व रङ्गमञ्चमा आप्mनो शक्ति प्रस्तुत गर्दै आएको थियो । त्यसयता उनले चीनलाई उदीयमान शक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन् । दक्षिणी चीन सागरमा कृत्रिम टापु बनाउने प्रश्नमा होस्; एक पाटो, एक बाटो परियोजनामा होस्; या राष्ट्रपति ट्रम्पको पेरिस जलवायु सम्झौताबाट अथवा व्यापार सम्झौताबाट अलग भएपछि सीले भूमण्डलीकरणको नेतृत्व सम्हालेका छन् । यसबेला आर्थिक र राजनीतिक रूपमा चीनको प्रभाव विश्वस्तरमा विस्तारित भएको छ ।

विश्व चौबाटोमा किंकर्तव्यविमूढ भएर उभिएको समयमा सीपीसी को १९ औँ महाधिवेशन सम्पन्न भएको छ । ट्रम्प नेतृत्वको अमेरिका विश्वको नेतृत्व गर्न अनिच्छुक देखिएको छ । युरोपियन देशहरूको आपसी सहकार्य भङ्ग हुँदै गएको छ । भारत पथभ्रष्ट हुँदै गएझैं देखिन्छ । यी सबै घटनाक्रम हेर्दा सारमा पश्चिमी लोकतन्त्र नै संकटग्रस्त देखिन्छ । यस्तो अवस्थामा चीनलाई यी सबैबाट फाइदा उठाउने अवसर आएको छ तर चुनौतीरहित होइन ।

एउटा चिनियाँ उखान छ, ‘हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ ।’ अध्यक्ष सी जिङफिङको नेतृत्वमा चीन नयाँ युगको दिशामा एक पाइलो अगाडि लम्किसकेको छ ।
स्रोतः फिलहाल, वर्ष १९, अङ्क २३–२४ भाषान्तरण– अनिल शर्मा

२०७४ माघ १४ गते दिउँसो ३ः०५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :