सहिद–बेपत्ता परिवारको अक्षयकोष नदिने सहकारीमाथि कडा कारबाही: नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कास्की सेक्रेटरी रूपेशले सहिद तथा बेपत्ता परिवारका नाममा अक्षयकोष खोली शिक्षा एवम् स्वास्थ्यमा खर्च गरिनुपर्नेमा पोखराको नयाँबजारस्थित गण्डकी माछापुच्छ सञ्चार सहकारी संस्थाले समयमा नै ब्याज नदिएकोमा पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । सेक्रेटरी रूपेशले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै उक्त मुद्दतीको साँवा रकम यथाशीघ्र सम्बन्धित निकायमा फिर्ता नगरेमा जनयुद्ध एवम् जनआन्दोलनका सहिद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै सङ्घर्ष अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन् । विज्ञप्तिको पूर्ण पाठ यसप्रकारको छ–
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट तात्कालीन संविधानसभाको सदस्य रहेका करिब दुई दर्जन संविधानसभा सदस्यले प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले सहिद तथा बेपत्ता परिवारको शिक्षा एवम् स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उद्देश्यले अक्षयकोष स्थापनार्थ एक करोड रुपैयाँ रकम सङ्कलन गरिएको थियो । त्यो रकम पोखराको नयाँबजारस्थित गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थामा खाता खोली अक्षयकोष स्थापना गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याजबाट सहिद तथा बेपत्ता परिवारको शिक्षा एवम् स्वास्थ्यमा खर्च गरिनुपर्नेमा उक्त सहकारीले समयमा नै ब्याज नदिएपछि विगत दुई वर्षदेखि सम्बन्धित पक्षले अक्षयकोषबापतको रकम फिर्ता माग गर्दै आएकोमा उक्त गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थाले बेवास्ता गरेकाले उचित कारबाही गरिपाऊँ भनी हाम्रो पार्टीमा उजुरी दिएका छन् । यस उजुरीप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।
उक्त मुद्दतीको साँवा रकम यथाशीघ्र सम्बन्धित निकायमा फिर्ता नगरेमा जनयुद्ध एवम् जनआन्दोलनका सहिद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै हाम्रो पार्टी थप सङ्घर्षको कदम अघि बढाउन बाध्य हुने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौँ । अन्त्यमा हाम्रो पार्टी सहकारीका सञ्चालक, सहकारी डिभिजन कार्यालय कास्की, आम सञ्चारकर्मी एवम् मानवअधिकारवादी सङ्घ–संस्था र न्यायप्रेमी जनसमुदायमा यस्ता खालको गलत कामको भण्डाफोर र पीडितको न्यायका पक्षमा ऐक्यबद्धताका निम्तिसमेत विशेष आह्वान गर्दछौँ ।

२०७४ माघ १५ गते अपरान्ह ५ः३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :