कोरिया प्रायद्वीपमा तनाव

काठमाडौं : केही समयअगाडि दुई कोरियाका उच्चस्तरीय नेताहरू वार्ता भइरहेको बेला कोरिया प्रायद्वीपमा फेरि तनाव उत्पन्न भएको छ । वार्तामा नेताहरूबीच फेब्रुअरी ९ तारिखदेखि ‘शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता’ मा उत्तर कोरियाले भाग लिने सहमति भएपछि मंगलबार दक्षिण कोरियामा उत्तर कोरियाविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले उत्तर कोरियाली नेता किम जोङ उनका तस्बिर र उत्तर कोरियाका झन्डा जलाएका छन् । उत्तर कोरियाले विज्ञप्ति जारी गर्दै दक्षिण र उत्तर कोरियाको सम्बन्ध सुधार्न लागेको बेला उक्त कार्यलाई भाड्ने षड्यन्त्रमा दक्षिण कोरियाली शक्तिहरू लागिपरेको भन्दै सो कार्यको निन्दा गरेको छ । साथै, यसमा बाहिरी शक्तिहरूको हात रहेको उत्तर कोरियाले बताएको छ । दक्षिण कोरियाका परम्परागत शक्तिहरूले राष्ट्रपति मुन जे इनको विरोध गर्दै आएका छन् । राष्ट्रपति अनावश्यक रूपमा उत्तरप्रति बढी लचिलो भएको र यसबाट दक्षिणलाई अप्ठेरो पर्ने उनीहरूको भनाइ छ । उनीहरूको भनाइअनुसार उत्तर कोरियालाई यति धेरै महत्व दिएर राष्ट्रपति मुनले देश जोखिममा पार्ने चेतावनी दिएका छन् । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागितालाई समर्थन गर्न आग्रह गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तरसँगको संयुक्त खेलकुदबाट कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम हुने बताउँदै सबैलाई यसमा सहयोग गर्न आह्वान गरेका छन् ।

२०७४ माघ १० गते बिहान १० : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :