भारतद्वारा वीरगंज महानगरपालिकाअन्तर्गत छपकैयामा सीमा अतिक्रमण जारी

सुदर्शनराज पाण्डे /  वीरगंज : वीरगंज महानगरपालिका १, छपकैयामा छिमेकी राष्ट्र भारतले सीमा अतिक्रमण जारी राखेकोले स्थानीय जनता विरोधमा उत्रिएका छन् । सो क्षेत्रमा सीमा सुरक्षाका लागि नेपाल र भारत दुबै तर्पmका प्रहरी तैनाथ छन् । गत पुस ३० गते स्थानीय जनताले भारतद्वारा सीमा अतिक्रमण गरिरहेको सूचना नेपाल कम्युनिस्ट पार्टी पर्सालाई दिएलगत्तै इन्चार्ज आर्जनले स्थलगत निरीक्षण गरी स्थानीय जनता, प्रहरीसँग अन्तरक्रियापछि एक प्रेस विज्ञप्ति जारी गरेर तत्काल सीमा अतिक्रमण रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । 

सो प्रेस विज्ञप्तिमा भनिएको छ– वीरगंज महानगरपालिका १, छपकैयामा साविकको नेपाल–भारत सीमाभन्दा करिब ५०० मिटर नेपालतिर नयाँ सीमास्तम्भ गाड्न खाल्डो खनिरहेको अवस्था छ । पिलर नं. ३९१–२६, २७, २८, ३९२– ६,७,८ लगायत ३० स्थानमा सीमा नेपाली भूभागमा सार्न लागिएको छ । स्थानीय नेपाली नागरिक रवीन्द्र महतोको नाममा लालपूर्जा रहेको कि.नं. १४ मा सीमा स्तम्भ नं. ३९२– २२, २६, २७, ६,७,८ गाड्न खाल्डो खनिएको छ । स्थानीयले खेलमैदानका रूपमा प्रयोग गर्दै आइरहेको चौर पनि अब अतिक्रमण भएको छ । हाल भारतले अतिक्रमण गरेको स्थानमा दशगजा र स्मसानघाट पनि रहेको छ । स्थानीय जनताको मागअनुसार खाल्डो खन्ने कार्य तुरुन्त रोक्न लगाई आफ्नो सीमा रक्षा गर्न नेकपा पर्सा ध्यानाकर्षण गराइन्छ भनिएको छ । 

सो विज्ञप्तिमा अन्यथा यस्तो गम्भीर र संवेदनशील विषयमाथि बेवास्ता गरिएमा सीमा रक्षाका लागि सिमानाको स्थानीय जनतासँग सहकार्य गर्दै हाम्रो पार्टीले संघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न सम्बन्धित पक्षलाई तयार रहनसमेत जानकारी गराउँछौँ, भनिएको छ । सो प्रेस विज्ञप्ति वीरगंजस्थित भारतीय महावाणिज्य दुतावास, जिल्ला प्रशासन कार्यालय पर्सा, स्थानीय समाचार पत्र र एफएमहरूमा बुझाइएको छ । वीरगंज भारतीय वाणिज्य दुतावास खडा भएदेखि नेपालको राजनीतिमा भारतीय प्रभाव र बारा, पर्साको नेपाली सीमा अतिक्रमण गर्ने कार्य वृद्धि भएको छ । 

जारी प्रेस विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिबाट नेपालले गुमाएको सम्पूर्ण भूभाग फिर्ता हुनुपर्ने, सन् १९५० को असमान सन्धि खारेज हुनुपर्ने माग निरन्तररूपमा भइरहेको र सन् १९५० को नेपाल–भारत बीचको असमान सन्धिको पुनरावलोकन गर्न द्विपक्षीय छलफल भइरहेको अवस्थामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भारतद्वारा नेपाली सीमा मिच्नु नेपाली जनता र नेपाल देशको स्वाभिमानमाथि चुनौती हो । भारतले बारम्बार नेपालप्रति आफ्नो हेपाहा प्रवृत्ति कायम राखेकोले त्यसका विरुद्ध स्वाधीनता रक्षाको लडाइँ नेपाली जनताले लड्नुपर्ने आजको महत्वपूर्ण आवश्यकता हो । अहिले चलिरहेको नेपाल–भारत संयुक्त सीमा सर्वे नेपालीको चाहनाअनुरूप रोकिनुपर्दछ । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३१, पूर्णाङ्क १२६

२०७४ माघ ८ गते बिहान ११ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :