सुमार्गी र सिरोहियाको दोहोरी उत्कर्षमा

अम्बिका चन्द / काठमाडाैं ः पहिले आपसमा दोस्ती रहेका दुई ठूला संचार गृहमा मालिकबीचको लडाइँ आजभोलि उत्कर्षमा पुगेको छ । आपसी लेनदेनमा कुरा नमिलेपछि मुक्ति श्री प्रा.लि. तथा थाहा संचार नेटवर्कमा अध्यक्ष अजेयराज सुमार्गी र कान्तिपुर संचारगृहका अध्यक्ष कैलास सिरोहियाबीचको पहिलेको दोस्ती अहिले दुश्मनीमा बदलिएको हो । दुई ठूला संचारगृहका मालिकहरूबीचको यो झगडा आजभोलि मिडियाकरण भएपछि एक–आपसमा आ–आफ्ना मिडियाको भरपूर प्रयोग गरी आक्रमण गर्नेक्रम जारी छ । सिरोहियाले आफ्नो संचारगृहको प्रयोग गरी सुमार्गीका आर्थिक गतिविधि र सम्बन्धका बारेमा सावर्जनिक गरिदिएपछि त्यसको काउन्टर गर्दै सुमार्गीले पनि सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा सुमार्गीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष सिरोहियाले आफूलाई ब्ल्याकमेलिङ गरेको बताए । उनले सिरोहियालाई अपराधीसम्म भन्न भ्याए र आफूलाई बेचेको जग्गा सोही म्ल्यमा फिर्ता नगरेकोले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै उनलाई कुनै पनि हालतमा टिक्न नदिन चेतावनी पनि दिए । सुमार्गीले सिरोहियाविरुद्ध कडा अभिव्यक्ति दिँदै सिरोहियाले आफूले एउटा समाचारका लागि दुई करोड रूपैयाँ मागेको समेत खुलासा गरे । पत्रकार सम्मेलनमा उनले भने– ‘केही समय पहिले सोल्टी होटेलमा सिरोहियाले मलाई रक्सी खान बोलाएर मैले तिमीलाई दुई करोडमा हाईज्याक गरेको छु भने मैले त्यो कुरा बुझिनँ । भोलिपल्ट पत्रिकामा मेराविरुद्धको समाचार छापियो । यदि मैले दुई करोड रूपैयाँ दिएको भए त्यो समाचार छापिने थिएन ।’

सुमार्गीले कुनै पनि व्यवसाय गर्दा कान्तिपुरलाई नजरना चढाएर मात्र व्यवसाय गर्न पाइने खराब नजिर बसेको भन्दै सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यवसायीहरू तैं चुप मंै चुपको अवस्थामा रहेको पनि बताए । अजय सुमार्गी र कैलास सिहोहियाबीचको विवाद उत्कर्षमा पुगेसँगै पूर्व राजा ज्ञानेन्द्र शाह, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्व आईजीपी उपेन्द्रकान्त अर्याललगायतका अन्य हाईप्रोफाइलका व्यक्ति पनि विवादमा तानिने देखिएको छ । स्रोत  : रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३१, पूर्णाङ्क १२६
२०७४ माघ ५ गते बिहान १० : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :