बोजिनी हाइड्रोपावरमा मजदुरहरू संगठित

काठमाडाैं :  दाेलखा जिल्लाको जिरी नगरपालिकास्थित बोजिनी हाइड्रोपावरमा कार्यरत मजदुरहरू संगठित भएका छन् । कम्पनीको पावरहाउसमा आज एक मजदुर भेटघाट कार्यक्रमको आयोजना कार्यक्रमका बीच छलफलमा सहभागी हुँदै प्राविधिक र संचालनमा कार्यरत १४ जनाले कार्यरत मजदुर होमबहादुर जिरेलको संयोजकत्वमा प्रारम्भिक एकाइ समिति गठन गरेका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दोलखाका सचिवालय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो, जनप्रतिनिधिसभा सदस्य नेत्र बस्नेत र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य एवं जिल्ला महासंघ संयोजक क. सरोजको सहभागिता रहेको थियो । कम्पनीले मजदुरहरूलाई न्यूनतम पारिश्रमिकमा विभेद गरी बितरण गर्ने गरेको, लामो समयदेखि पारिश्रमिक नदिएको एवं कार्यस्थलमा सुरक्षित बासस्थानको प्रवन्ध नगर्ने गरेको पाइएको छ ।

यससम्बन्धमा कम्पनीलाई पटकपटक ध्यानकर्षण गराउँदासमेत मजदुरलाई वास्ता नगरेको र स्थायी नियुक्तिपत्र, बिमा र सामाजिक सुरक्षाका निम्ति कम्पनीले कुनै पहल नगरेको गुनासो कार्यरत मजदुर कर्मचारीहरूले व्यक्त गरेका छन् भने उता ट्रेड युनियन प्रतिनिधिको आग्रहका बाबजुद कम्पनी संचालकले आफू बिरामी परेको कारण देखाइ वार्तामा चासो देखाएका छैनन् ।

मजदुरवर्ग यसरी पीडित हुनुको प्रमुख कारण दलाल पुँजीवादी आर्थिक प्रणालीको दबदबा भएको ठहर गर्दै कार्यक्रममा प्रमुख अतिथि क. बस्नेतले एकीकृत जनक्रान्तिले मूलतः मजदुरको शोषण अन्त्य गर्ने जिकिर गर्नुभयो भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मजदुरको पूर्ण मुक्तिका निम्ति केन्द्रित हुनेमा उहाँको जोड रहेको थियो । आफ्नो श्रमशक्तिमाथिको बेलगाम शोषण अन्त्य गर्ने प्रण गर्दै प्रतिष्ठानका मजदुरहरूले यथाशक्य चाँडो छलफल गरी प्रारम्भिक एकाइ समितिलाई पूर्णता दिने जानकारी रातोखबरलाई दिएका छन् भने हाललाई होमबहादुर जिरेलको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ । संगठित मजदुरहरूलाई स्वागत गर्दै जिल्ला महासंघ संयोजक सरोजले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मजदुरले अधिकार नपाएसम्म अविचल संघर्षमा सामेल हुने गरेको इतिहासलाई स्मरण गराउँदै यसका लागि आफ्नो प्रतिबद्धता नवीकरण गरेको बताएका थिए । संगठित उक्त एकाइ समितिमा संयोजक होमबहादुर जिरेल र सदस्यहरूमा सिद्धान्त जिरेल, हर्कबहादुर तमाङ, रमेश जिरेल, रुद्र जिरेल, अस्मिन जिरेल, टहलबहादुर जिरेल, केवल कार्की, कैलाश कार्की, राजकुमार खड्का, दिपेश कार्की, ढालबहादुर जिरेल, बिष्णु श्रेष्ठ र हरिशरण अधिकारी रहेका छन् । स्राेत : राताे खबर साप्ताहिक

२०७४ माघ २ गते साँझ ७ : ०६ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :