सप्तरीमा एक दर्जन घरमा आगलागी / ४ जना गम्भीर घाइते

काठमाडौं : शितलहरले जनजीवन अत्यन्तै कष्टकर  भइरहेको बेला सप्तरीमा भने शरीर न्यानो पार्न बालिएको आगोमा जलेर लाखौंको धनमाल क्षति भएको, आगो ताप्दा जलेर ४ जना गम्भीर घाइते भएका छन् । ४ दिन यता जिल्लाका ३ ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेर खरानी भएका छन् ।  पछिल्लो पटक रुपनी गापा १ मा भएको आगलागीबाट ३ दाजुभाइको ६ वटा घर जलेको छ । शुक्रबार राती भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको छ । गोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक आगलागी भएको हो । आगलागीले राजोले घरमा राखेको नगद ७५ हजार रुपैयाँसमेत जलेको छ । आगलागीले ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडितको भनाइ छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीयहरुले निभाएका थिए । त्यसैगरी शुक्रबार राती नै बेल्ही चपेना गापा ३ नर्घाेस्थित ठकाई साहको १ घर र १ गोठमा आगलागी भएको छ । गोठमा बालिएको घुरबाट सल्केको आगोले गोठसहित उनका एक घर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन् । यसअघि बुधबार राति डाक्नेश्वरी नपा ९ पत्थरगाडामा आगलागी भएको थियो । आगलागीबाट गंगाराम पंडित र सियाराम पंडितका १/१ घर जलेर नष्ट भएका थिए ।

सिरहामा पछिल्लो हप्ता ४ जना महिला आगो ताप्ने क्रममा घाइते भएका छन् । बुधबार आगोमा जलेर सिरहा नपा ४ निवासी ३० वर्षीया ममतादेवी मण्डल घाइते भइन् । जाडो छल्न घरमै बालिएको आगो ताप्ने क्रममा आगोले पोल्दा मण्डल घाइते भएको स्थानीयबासीले बताएका छन् । त्यस्तै सोमबारै आगो ताप्ने क्रममा जलेर सिरहा नपा ७ निवासी ४७ वर्षीया जिवछी महरा र कल्याणपुर नपा निवासी २३ वर्षीया सिपीदेवी यादव घाइते भएकी थिइन् । त्यस्तै गत आइतवार सिरहाको चतरी २ निवासी ३७ वर्षीया साबित्रीदेवी मण्डल आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते चारै जनाको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

२०७४ पुस ३० गते दिउँसो २ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :