शैक्षिक संस्थालाई निजीकरण नगरौं – दीपक भट्टराई, सञ्चालक, नेपाल इन्जिनियरिङ कलेज, भक्तपुर

बुद्धिजीवी दीपक भट्टराईको जन्म सन् ०८/०३/१९५१ मा भएको हो । निर्माण व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उहाँँले बेलायतस्थित लफबरा विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट सन् २००५ मा ‘निर्माण आयोजनामा हुने ढिलाइबारे’ विद्यावारिधि (पीएचडी) गर्नुभएको थियो । हाल नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरका सञ्चालक रहनुभएका भट्टराईसित रातोखबर साप्ताहिकका निर्देशक अनिल शर्मा र भीम चापागाईंले समसामयिक विषयमा लिनुभएको अन्तर्वार्ताको सारसङ्क्षेप ।

»»  नेपाल इन्जिनियरिङ कलेज कहिलेदेखि कुन उद्देश्यले स्थापना गरिएको हो ?

२०५१ सालमा मुनाफारहित उद्देश्यका साथ सामाजिक संस्थाको रूपमा खोलिएको हो । देशलाई इन्जिनियरिङ शिक्षामा आत्मनिर्भर बनाउने र सर्वसुलभ गराउने उद्देश्यका साथ स्थापना गरिएको हो ।

»»  संस्थापक को–को हुनुहुन्थ्यो ? के कति लगानी गरेर सुरु गर्नुभएको हो ?

डा. रामरत्न उपाध्याय, श्री लवराज भट्टराई, डा. उपेन्द्र गौतम, श्री हरिप्रसाद पाण्डे, श्री सूर्यबहादुर केसी, लम्बोदर न्यौपाने र दीपक भट्टराई गरी ७ जना थियौँ । ५/५ लाख गरी ३५ लाख लगानी गर्ने प्रतिबद्धता थियो । त्यति नै लगानी भयो तर मैले धेरै लगानी गर्नुपर्ने बाध्यता भयो ।

»»  संस्थापक प्रिन्सिपल को हुनुहुन्थ्यो ?

म आफैँ थिएँ ।

»»  सम्बन्धन कहाँबाट, कहिले लिनुभएको हो ?

पहिला त्रिभुवन विश्वविद्यालयबाट र त्यसपछि सन् १९९९ देखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिइएको हो ।

»»  कलेजको वार्षिक नाफा सरदर १२ करोड छ भनिन्छ, सेवामूलक उद्देश्यले स्थापना गरेको कलेजको नाफा कहाँ लगानी भएको छ ?

१२ करोड त होइन होला, ७ आठ करोड जति होला । हिसाब हेर्न बाँकी । मेरो पालामा ठीक ठीक थियो । विगत ४–५ वर्षमा पूर्वाधारमा लगानी न्यून छ । संचालकहरूले बाँडिखाने भएको छ ।

»»  कलेजको वास्तविक समस्या के हो ?

कलेजलाई लम्बोदर न्यौपानेज्यूले आफ्नो निजी नाममा प्रालि कम्पनी दर्ता गरी साविक कलेजका सबै सम्पत्ति आफ्नो हुने गरी हडप्ने काम गर्नुभएबाट समस्या सुरु भएको हो । यसमा तीनजाना साथीहरूले लिखित सहमति दिनुभएको रहेछ । कलेजबाट थुप्रै रकम हिनामिना भएको छ । त्यो अर्को समस्या हो । साथीहरू अझै प्रालि बनाउने र कलेज अन्यत्र सार्ने पक्षमा हुनुहुन्छ, यो तेस्रो समस्या हो ।

यो कलेज प्रालि हुन सक्दैन । सामाजिक संस्थाको रूपमा संचालित यो कलेज व्यक्तिको सम्पत्ति हुनै सक्दैन । यो स्थापनाको समयको प्रतिबद्धता बमोजिम नै चल्छ । मेरो अन्तिम सास रहेसम्म प्रतिबद्धताबमोजिम रहोस् भनी प्रयत्नरत रहनेछु ।

»»  नाफालाई निजी प्रयोग गर्नु उद्देश्यको प्रतिकूल र अभिभावकलाई शोषण गर्ने मनसाय भएन र ?

भयो, त्यसैमा त मेरो विमति र लडाइँ हो ।

»» शेयरवालाहरूलाई जनही १ करोड २५ लाखका दरले निजी प्रयोजनका लागि सवारी साधन खरिद गर्न रकम निकासा गरिएको भन्ने छ, त्यसबारे यहाँको धारणा ?

१ करोड ५० लाख हो । हामीलाई पनि भाग लागेको रहेछ । संचालक सलिल भट्टराईले लिन इन्कार गरेछन् । यसरी संस्थाको रकम बाँडिलिनु बेठीक काम हो, सामाजिक संस्थाबाट ठगी वा लुट जे भन्नुस् ।

»» तपाईंले कलेजमा अनावश्यक व्यवधान खडा गर्न खोज्नुभयो भन्ने चर्चा छ नि ?

ठीक प्रश्न गर्नुभयो । म यो कलेज सामाजिक नै होस् र समाजलाई योगदान दिन सकोस् भन्ने चाहन्छु । साथीहरूको प्रालि बनाइखाने प्रयासमा व्यवधान भयो, कलेजबाट अवैधानिक र अनुचित तबरले लगेको रकम फिर्ता माग गरेँ, यसले अरू व्यवधान भयो, चर्चा ठीकै हो ।

»»  स्थापनाको समयको प्रतिवद्धताअनुसार कलेजलाई सञ्चालन गर्ने सम्भावना कति छ ? त्यसका लागि यहाँको भूमिका कस्तो छ त ?

यो प्रालि हुन सक्दैन । सामाजिक संस्थाको रूपमा संचालित यो कलेज व्यक्तिको सम्पत्ति हुनै सक्दैन । यो स्थापनाको समयको प्रतिबद्धता बमोजिम नै चल्छ । मेरो अन्तिम सास रहेसम्म प्रतिबद्धताबमोजिम रहोस् भनी प्रयत्नरत रहनेछु ।

»»  अहिले शेयरवाला को–को हुनुहुन्छ ? सञ्चालक समितिमा को–को हुनुहुन्छ ?

यो सामाजिक संस्थामा शेयर भन्ने हुँदैन । हिजो हामी भोट अधिकार भन्थ्यौँ, आज हामी सबै बराबर छौँ । संचालक समितिमा डा. रामरत्न उपाध्याय, श्री लवराज भट्टराई, डा. उपेन्द्र गौतम, श्री हरिप्रसाद पाण्डे, श्री सूर्यबहादुर केसी, डा. दीपक भट्टराई, श्री सोमप्रसाद मिश्र, श्री लम्बोदर न्यौपाने, श्री सलिल भट्टराई र पोखरा विश्वविद्यालयको प्रतिनिधि गरी १० जना संचालक हुनुहुन्छ ।

»» कलेज चलाउन भूमिका खेल्ने र औपचारिक जिम्मेवारी लिनेका बीचमा अहिले अन्तर्विरोध छ कि छैन ?

मैले बुझिनँ । प्रश्न अलि गार्‍हो भयो । कलेज चलाउन सबैको भूमिका होस् भन्ने सबैको चाहना छ तर प्रालि पक्षका साथीहरू कलेजमा नआउने र बाहिरबाट भूमिका खेलिरहनुभएको छ । मलाई लाग्छ, कलेज नचलाउने, कलेजलाई चल्न नदिने नियत हो त्यो ।

»»  स्थानीय जनता, अभिभावक र विद्यार्थीसँग यहाँको अपेक्षा के छ ?

यो कलेजलाई सामाजिक संस्थाकै रूपमा रहन दिन, यसको संरक्षण गर्न र यसको आयस्ता कलेजकै विकासमा लगानी गर्ने वातावरण बनाउन सबैको सहयोग हुनेछ । हामी संस्थापक र संचालकले यसको सम्पत्ति लूट गर्न न पाउने गर्नका लागि हामीलाई सचेत गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।

»»  अन्तिममा थप केही भन्नुहुन्छ कि ?

कलेजबारे जिज्ञासा राखी मलाई मेरा कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद छ । मैले दिएका उत्तरहरूसँगै लिखित प्रमाण पनि मसँग सुरक्षित नै रहेका छन् । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३०, पूर्णाङ्क १२५  

२०७४ पुस २७ गते दिउँसो २ : ३२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :