भाइरल ज्वरोको कारण १३ जनाको मृत्यु / सरकार मूकदर्शक

काठमाडौं : जाजरकोटको जुनीचाँदे गापा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोकाे कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गापा ५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ । गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन् । उनलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका ७ बालबालिका र ५० वर्ष माथिका ६ जना छन् । जुनीचाँदे २, मजकोटबाट शुरु भएको भाइरल प्रकोप वडा नं १, २, ३, बाट अहिले ४, ५ र १० नम्वर वडामा फैलिएको छ । शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा एक हजार २०० जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा शाक्यले बताएका छन् । उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशत चाँहि कडा र सिकिस्त बिरामी रहेको डा शाक्यले जानकारी दिएका छन् । भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि बुधबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ । डा. शाक्यले भाइरल प्रभावितको संख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताएका छन् । निमोनियाविरुद्धको खोप अभावमा सोमबार ३६ दिने शिशुको ज्यान गएपछि थप औषधि मगाइएको छ । भाइरल ज्वरो बढेपछि एचवानएनवान् अर्थात कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लुको आशंका गरिएको छ । एचवानएनवान् भए धेरै ठाउँमा फैलिने खतरा रहन्छ । तत्काल रोग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै खतरा हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपचारमा संलग्न मेडिकल अधिकृत डा. शाक्य बिरामीको लक्षण हेर्दा एचवानएनवानको आशंका गरिए पनि यसै भन्न नसकिने बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जिल्ला स्वास्थ्य मातहतका स्वास्थ्यकर्मीको बिदा र काज रद्द गरेको छ । प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी अभाव भए पनि सरकार भने मूकदर्शक भएर बसेकाे छ ।  २/३ वटा टोलीलाई सबै ठाउँ पुग्नै हम्मेहम्मे भएको छ । औषधि तथा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको बताएका छन् ।

२०७४ पुस २७ गते बिहान ११ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :