चिसोले जनजीवन कष्टकर / स्थानीय सरकार मौन

अम्बिका चन्द / काठमाडौं :  दुईसातादेखि लगातार बढिरहेको चिसो, शीत्लहर र तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुले गर्दा अहिलेसम्म दुईदर्जन बढीले ज्यान गुमाइसकेका छन् । यसरी जाडोको कारण ज्यान गुमाउनेहरूमा अधिकांश सप्तरी जिल्लामा रहेका छन् । सप्तरीमा मात्र चिसोले कठाङ्ग्रिएर १४ जनाको ज्यान गइसकेको छ । रौतहटमा पनि ५ जनाको ज्यान मृत्यु भएको छ । यस्तै धनुषा, सर्लाही, मकवानपुर, रूपन्देही, बर्दियालगायत जिल्लाहरूमा पनि चिसोको कारण मानिसको मृत्यु भएको छ ।

पहाडी तथा हिमाली क्षेत्रमा दिउँसोको समयमा घाम लागे पनि तराई क्षेत्रमा दिनभरि घाम नलाग्दा जनजीवन नराम्ररी प्रभाव बनेको छ । हिमाली जिल्लाहरूमा पनि तापक्रम माइनसबाट लगातार आरालो झर्दा खोला, धारा र तालको पानी जमेर बरफ भएको छ । मनाङ, मुस्ताङ जुम्ला, डोल्पा, मुगु हुम्लालगायत मानिसहरू बरफ पगालेर पिउन बाध्य भएका छन् । जाडोले गर्दा कैयाँै ठाउँका विद्यालयहरू बन्द रहेका छन् र हवाई उडानसमेत प्रभावित भएका छन् । जाडोका कारण गरिब, विपन्न समुदायका बालबालिका, वृद्ध, वृद्धा र सुत्केरीहरू बढी प्रभावित भएका छन् । ती समुदायका मानिसहरू खुला आकासमुनि त्रिपाल र सामान्य छाप्राहरूमा एकसरो कपडा र आगोको भरमा दैनिकी चलाइरहेका छन् । हिटरको प्रयोग गर्न नसक्ने र दाउरा पनि किन्न नसक्नेहरूको अवस्था झनै कस्टकर बनेको छ । यस्तो अवस्थामा गास, बास, कपासको ग्यारेन्टी गरिदिने भन्दै चुनावमा भोट मागेकाहरू गाउँ नफर्केको र स्थानीय सरकार पनि मौन बसेको पीडितहरूको गुनासो छ ।

चिसोको कारण बिरामीको हुनेको सङ्ख्या अत्यधिक बढेपछि स्थानीय अस्पतालहरूमा भीड लाग्ने गरेको छ । यस्तो बेला स्वास्थ्य संस्थाहरूमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीको त कुरै छोडौँ, सशुल्क पाउने औषधीको समेत अभाव भएको छ । स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले औषधीको अभावमा बिरामीलाई खाली हात फर्काउनुपर्ने अवस्था रहेको बताएका छन् । यस्तै, विभिन्न ठाउँका सामुदायिक वनहरूमा बर्सेनी करोडौंको काठतस्करी भएका खबरहरू सार्वजनिक हुन्छन् । तर जाडोको समयमा वितरण गर्नको लागि सुकेको काठको अभाव रहेको वन समितिका कर्मचारीहरू बताउँछन् । उनीहरूले जाडो पीडितहरूलाई केही ठाउँमा रहेका सुकेका रुख देखाइदिने गरेका छन् । 

यता उपत्यकामा पनि तामक्रम माइनसमा झरेको छ भने ६ हजारभन्दा माथिका हिमालहरूमा माइनस ३६ सम्म पुगेको छ । केही समययता एउटै समयमा पनि तापक्रम अस्वाभाविक रूपले घटबढ हुने गरेको मौसम विज्ञान विभागको रेकर्ड छ । विश्वव्यापी रूपमा पृथ्वीको तापक्रम बढेको बताइए पनि जाडोको समयमा अत्यधिक जाडो र गर्मीको समयमा अत्यधिक गर्मी हुने गरेको मौसम विभागको भनाइ छ । यसका पछाडि मानवीय  गतिविधि नै मुख्य जिम्मेवार रहेको छ । उद्योगधन्दा  र कलखारखानाहरूबाट उत्पन्न हुने कार्बन उत्सर्जनले गर्दा वायुमण्डलको तापक्रममा असर परिरहेको यो मानवजीवनको लागि घातक हुने विज्ञहरूले चेतावनी दिइरहेका छन् । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३०, पूर्णाङ्क १२५

२०७४ पुस २७ गते बिहान १० : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :