भारत लगेका २० जना बालकको उद्धार / २ आरोपित पक्राउ

काठमाडौं : अवैध रुपमा भारत लगेका जुम्लाका २० बालक प्रहरीले उद्धार गरेका छन् । गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा बालक लैजादै गरेको अवस्थामा प्रहरीले २० बालकको उद्धार गरेको हो भने २ जना आरोपितलाई पक्राउ गरेको छ । २० बालकको उद्धारसहित २ आरोपितलाई प्रहरीले मंगलबार तिला गापाको कुडारी चेक पोष्टबाट पक्राउ गरेको प्रहरी निरीक्षक चुडामणि पुनले बताएका छन् ।

उनका अनुसार आरोपीत पातारासी गाउँपालिका ३ का २९ वर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ वर्षीय कार्मा तामाङ रहेका छन् । लामा भाषा पढाइ दिने भनेर अभिभावकलाई आश्वासनमा पार्दै आरोपीतले बालकलाई समेत ललाईफकाई भारत लैजाँदै गरेका थिए । उद्धार गरिएका बालक ७ देखि १४ वर्ष उमेर समूहका छन् । बालक जिल्लाको पातारासी गाउँपालिकाका खसक्षेत्री समुहका छन् ।

उद्धार गरिएका २० जना बालकको नाम र फोटो सार्वजनिक गरिएको छैन । उद्धार गरिएका सबै बालक बुढा, बोहोरा, महतारा र विश्वकर्मा जातीका रहेका छन् । प्रहरीले फोटो लिन दिएको छैन । अभिभावकलाई छलफलमा बोलाएर बालक जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७४ पुस २६ गते दिउँसो २ : १६ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :