गैर–कानुनी विद्यालय खोल्दै, विद्यार्थी लुट्दै

अम्बिका चन्द / काठमाडौं : रुकुममा संचालन भइरहेका चारवटा प्राविधिक विद्यालय कुनै पनि प्रक्रिया पूरा नगरी गैर–कानुनीरूपले संचालन भइरहेको तथ्य खुलेको छ । नेकपानिकट अखिल क्रान्तिकारीको पहल र नेतृत्वमा आइतबार गरिएको अनुगमनका क्रममा ती विद्यालयहरू गैर–कानुनी रूपमा संचालन भइरहेको तथ्य खुलेको हो । अनुगमनका क्रममा जिल्लाको मुसीकोटमा रहेको वेस्टर्न नेपाल टेक्निकल कलेज, सारांसी टेक्निकल कलेज, स्यार्पु पोलिटेक्निकल कलेज र रुकुम मल्टिपल टेक्निकल इन्स्टिच्युट गैर–कानुनीरूपमा संचालनमा रहेको पाइएको हो ।

सीटीइभीटीईको नाममा संचालन गरिएका ती विद्यालयहरूले विभिन्न वहानामा विद्यार्थीसँग चर्को शुल्क लिने गरेकोलगायतका गुनासो आएपछि आफ्नो संगठनको पहलमा ती विद्यालयहरूमाथि अनुगमन गरिएको नेकपानिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले बताए । साथै, उनले गैर–कानुनी रूपले संचालनमा रहेका विद्यालयहरूबारेमा केही समय पहिलेदेखि नै गुनासो आएकोले आफ्नो संगठनले अनुगमनका लागि पहल गरेको जानकारी दिँदै विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कलेजहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेसमेत बताए ।

अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरूले अवैध रूपमा संचालन गरिएका कलेजहरूले विद्यार्थीहरूबाट असुलिएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, विद्यार्थीहरूको पठन–पाठनको जिम्मा लिनुपर्ने र शाखा खोल्न सहमति दिने संस्थाको सम्बन्धन खारेज गर्दै भविष्यमा पनि अयोग्य रहनेगरी कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गैर–कानुनीरूपले विद्यालय खोल्ने र विद्यार्थीलाई ठग्ने विद्यालयहरूलाई तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन आफ्नो संगठनले पहल गर्ने अखिल क्रान्तिकारी, रुकुमको भनाइ छ ।

अनुगमनका क्रममा ती चारवटै शिक्षण संस्थाहरूले कुनै पनि कानुनी प्रक्रिया पूरा नगरेको पाइएकोले कारबाहीको प्रक्रिया अघि बढाउन प्रशासनलाई सिफारिस गरिने सीटीईभीटीई क्षेत्रीय कार्यालयका बाँके कोहोलपुरका प्रमुख शिवराम रोकायले बताए । रोकायले सीटीईभीटीईको मान्यता पाएको देखाउनको लागि सीटीईभीटीईकै समय तालिकाअनुसार ती विद्यालयले आफ्ना शैक्षिक गतिविधि संचालन गरेको पनि बताए । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३०, पुर्णाङ्क १२५

२०७४ पुस २६ गते मध्यान्न १२ : ३८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :