प्रचण्डको मरिहत्ते

काठमाडौं : माके अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेमा विलयनका निमित्त अस्वाभाविक रूपमा हतारिएका छन् । परिणामतः एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक (हिजोे मंगलबार) बसेको हो । निर्वाचनलगत्तै एकता गर्ने सहमतिमा पुगेका दुई दलबीचको एकता संयोजन समिति बैठकमा तीनवटा एजेन्डामा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा स्वास्थ्यजाँचका लागि थाइल्यान्ड जानुअघि पार्टी एकतालाई मूर्तरूप दिने उद्देश्यका साथ बोलाइएको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठानिक संरचनाबारे छलफल भएको थियो । बैठकमा दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक नीति के हुने भन्ने विवाद चर्को बहस भएको बताइन्छ । एमालेले माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो प्रमुख विचार मान्दै आएको छ भने माओवादी केन्द्रले माओवादलाई प्रमुख मान्दै आएको छ । एमालेका उपमहासचिव घनश्याम भुसालले एकतासँगै तत्कालीन महासविच मदन भण्डारीबाट प्रतिपादित जवजको ‘च्याप्टर क्लोज’ नै भइसकेको बताएपछि विवादले उग्ररुप लिएको बताइन्छ ।

माओवादी केन्द्रमा पनि नयाँ पार्टीको वैचारिक नीतिमा पनि उत्तिकै विवाद छ । अध्यक्ष पुष्पकमल दाहालले जबज नेपाली कम्युनिस्टको मौलिक विचार भएको भन्दै त्यसलाई स्वीकार्न समस्या नहुने बताइसकेका छन्, यो कुराले पनि माकेमा ठूलो तरङ्ग सिर्जना गरेको बताइन्छ । त्यस्तै, सांगठानिक संरचनाका विषयमा चर्को विवाद रहेको बताइन्छ । ओली जिवास, बालकोटमा बसेको उक्त बैठकले एकताका लागि वैचारिक, राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाइएको कुरा समाचारमा जनाइएको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, माके–एमाले एकताका सन्दर्भमा वैचारिक, राजनीतिक र सांगठानिक मिलाउने कुरा केवल नौटंकी हुन् ।

विदेशी शक्तिकेन्द्रको दबाबमा प्रचण्ड एकताका लागि मरिहत्ते गरिरहेका छन् । प्रचण्डले एमालेबिना आफ्नो राजनीतिक जीवन पूरै अन्धकार देखेका छन् । जति–जति समय घर्किंदै जान्छ, उति–उति प्रचण्डको धड्कन बढ्नुको कारण पनि यही हो । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३०, पूर्णाङ्क १२५

२०७४ पुस २६ गते अपरान्ह ४ : १५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :