हरेक मान्छेमा रूपान्तरणको गुण हुन्छ

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी
विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

हामी पार्टीमा छौँ तर पार्टीको घेराबाट यो कार्यक्रम सोचिएको होइन । विचारधारात्मक सङ्घर्ष पार्टी राजनीतिभन्दा धेरै माथि हुन्छ । आज सम्मानित हुने सांस्कृतिक अग्रजहरूले विचारधारात्मक सङ्घर्षको नेतृत्व गरिरहनुभएको छ । हामी जनयुद्धमा हुँदा राजनीतिक लडाइँसँगै जनताको दैनिक जीवनको दायित्ववोध गर्नुपर्छ भन्ने बहस हुन्थ्यो । थबाङबाट काठमाडौँ आएपछि हामी त्यो सोचाइलाई जीवनमा व्यक्त गर्न चाहन्थ्यौँ । समय र जनताले त्यो अवसर दिएका पनि थिए । तर थबाङबाट काठमाडौँ आउँदा सफल भइएन । हाम्रो लगानी र त्याग आवेग मात्र थिएन ।
चारजनाले स्थापना गरेको पार्टी यहाँसम्म आइपुगेको छ । आफ्नो समयमा बलिदान गरेका अग्रजहरू निरास र कुण्ठित किन हुनुपरेको छ ? त्यही प्रकारको स्थिति सांस्कृतिक क्षेत्रमा पनि भएको छ । एकथरी अघाएका छन्, अर्कोथरीले याचना गरेर बाँच्नुपर्ने अवस्था छ । नेतृत्व तहले त्यसलाई समाधान गर्नुपर्छ । नेतृत्वले चाहेमा धेरै गर्नसक्छ । सानो निर्णयको ठूलो तरङ्ग हुन्छ । नेताले पैसा बाँड्दै हिँड्नुपर्ने, तलकाले थाप्नुपर्ने पञ्चले पनि नगरेको अवस्था उत्पन्न भयो ।
जनताप्रति विश्वास भयो र जनताले साथ दिए भने पार्टी चलाउन दूतावास धाउनु पर्दैन । हामीले महाधिवेशनबाट तीनवटा निर्णय गरेका छौँ– प्रथम, अग्रजहरूको सुरक्षाको जिम्मा लिन्छौँ । यो काम गरेर देखाउँछौँ । जनताको पङ्क्तिभित्र रहेकाहरूसँग हामीसँग विचार मिलेन भने पनि रक्षा गर्छौं किनकि योगदान र दृष्टिकोण फरकफरक विषय हो । त्यसरी नयाँ पुस्तालाई प्रोत्साहित गरिएन भने आन्दोलनमा अपुताली पर्ने खतरा छ । करोडपति र अर्बपतिको बाटो त्यही हो । जीवनले मान्छेलाई छुन्छ तर भावुक बनाउँछ । नयाँ पुस्तालाई प्रोत्साहित गर्ने हाम्रो दोस्रो निर्णय हो । तेस्रो सांस्कृतिक क्षेत्रमा रहेका अग्रजहरूको सुरक्षाको जिम्मा लिने निर्णय हामीले गरेका छौँ । त्यो सुरक्षा लाखौँ–करोडौँमा होइन, हाम्रै हैसियतमा गर्छौं । जनताका लागि जीवन नै दिनेहरूलाई खेलबाड गर्ने संस्कृतिको अन्त्य गर्नुपर्छ । हामीले कम्युनिस्ट पार्टी बनाएर मात्र पुग्दैन, कम्युनिस्ट समाज नै बनाउनुपर्छ । नेता बन्नु संयोगको विषय हो । तर कम्युनिस्ट समाज बनाउनुपर्ने हाम्रो दायित्व हो ।
मान्छेमा रूपान्तरणको गुण हुन्छ । पार्टीमा लाग्नासाथ त्यो अब्बल हुने र अरू सबै मूर्ख र अर्थहीन ठान्नु हुँदैन । कम्युनिस्ट पार्टी भनेको सार्वजनिक यातायातजस्तो जो पनि चढ्ने, जो पनि ओर्लनसक्ने विषय होइन । जति माथि उत्तिकै स्वयम्सेवक बन्नुपर्छ । कम्युनिस्ट आए पनि काङ्ग्रेस आए पनि उस्तै हो भन्ने हल्ला सही होइन । ९० को दशकपछि योजनाबद्ध रूपमा यो चर्चा चलाइएको छ ।
हामीले १५÷१६ जना सहकर्मी एउटै खाल्डोमा अन्तिम संस्कार गरेर आएका छौँ । हामीमा ती बलिदानको पीडा र प्रभाव छ । हामी हाम्रो प्रस्ताव र आदर्श सुन भनिरहेका छौँ । कुन नेताले के भन्यो, त्यो मुख्य कुरा होइन । कुरा नसुन्ने, घेराबन्दी गरेर समाप्त पार्ने सोचाइ राज्यले बनाउँछ भने त्यसको अन्तिम जबाफ बन्दुक हो । जनताको आवाज नसुन्नु भनेको बन्दुकको घमण्ड हो । त्यो घमण्डको जबाफ दिन हामी तयार छौँ ।
पूर्ण विरामको कविता र तपाईंहरूको गीत सुनेर युवाहरू मृत्युलाई कुल्चँदै लडेका थिए । त्यसैले त माओले बन्दुकको सेना मात्रै हुँदैन, कलमको सेना पनि चाहिन्छ भन्नुभएको थियो । हार्न जसले पनि सक्छ, हामी जित्छौँ अथवा निरन्तर क्रान्तिमा हुन्छौँ । हिजोको माओवादी र आजको नेकपा सहभागी नभईकन त्यत्तिकै चुनाव हुँदैन । आफूले एउटा निर्णय गर्ने भारतको दुइवटा वक्तव्य पर्खेर बस्ने नेताहरूले शान्ति र स्थायित्व दिन सक्दैनन् ।
मधेसी नारामा मधेसी जनताको चर्को शोषण भएको छ । दुःख दिएका छन् । पार्टी जतिवटा भए पनि संसद्वादी र गैरसंसद्वादी दुईवटा धारा छन् । अब पनि तपाईंहरू जहाँ भए पनि हामी तपाईंहरूको गीत गाउँदै लड्न जानेछौँ । गीत, कविता, लेख्न र गाउन नछोड्नुहोला । जार र च्याङकाइसेकका सेनाका इमानदारहरू त्यहाँ विद्र्रोह गरेर कम्युनिस्ट फौजमा मिल्न आएका थिए । त्यो स्थिति नेपालमा पनि हुन्छ र हुनुपर्छ । किरण र मोहनविक्रमले यहाँसम्म ल्याए । हामीले त्यो आन्दोलनलाई अब अगाडि लैजान सक्नुपर्छ ।
(२०७४ वैशाख १३ गते संस्कृतिकर्मी सम्मान कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश, शीर्षक हामीले दिएका हौँ ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :