भ्रष्टाचारीलाई उन्मुक्ति नदेऊ

पढेलेखेका र राज्यको भत्ता थाप्नेहरूले नै देश बनाउने अथवा बिगार्ने हुन् । निमुखाले देश कहिल्यै बिगारेको हुँदैन । जब देशमा संकट आइलाग्छ, लाखौँ नागरिक ढाल बनेर उभिन्छन् । तर क्रान्ति वा शान्तिपछि निमुखो खेल–खलिहान फर्किन्छ । कारखानामा फर्किन्छ । भत्ता थप्नेहरू तिनै निमुखाको बुइँ चढ्न थाल्छन् । समय त्यसरी नै गुज्रिँदै आएको छ ।

शंकास्पद व्यापारी अजयराज सुमार्गीले अवैध रूपमा विदेशबाट ऋणको नाममा ल्याएको गैर–कानुनी भएको प्रस्ट भइसकेको छ । उनको अवैध धन्दाका पछाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको चर्चा चलिरहेको छ । दाहालसहितको संलग्नतामा अवैध रकम विदेश लगिएको र त्यही कालो धनलाई वैधता दिन ऋणको नाममा भित्र्याउन खोजेको देखिन्छ । दाहालको राजकीय शक्ति प्रयोग गरेर सुमार्गीले उन्मुक्ति पाइरहेका छन् । दाहालकै कारण देउवा–दाहाल सरकारको समयमा प्रम दाहाल र हाल एमालेका शक्तिशाली नेताहरूसमेत सुमार्गीलाई चोख्याउन लागेको आशंका गरिन्छ । सुमार्गीसँगै थुप्रै भत्तावाल र झण्डावालाहरू तानिन सक्छन् ।

भूकम्पबाट पीडितको राहत सामग्री यत्रतत्र भ्रष्टाचार भएका थिए । मन्त्री, सांसद् र शक्तिशाली नेताहरू नै सो भ्रष्टाचारमा संलग्न थिए । भारतका कतिपय राज्यहरूमा यात्रुवाहक वाहन दुर्घटना भएमा उद्धार गर्नको सट्टा दुष्टहरू गोजी र झोला छाम्ने गरेका समाचार आउँछन् । त्यस्तै स्थिति नेपालमा देखिएको छ । भूकम्प पीडितलाई राहत दिनुको सट्टा उनकै भाग खोस्ने कार्य भएको छ । त्यसप्रकारको अपराधमा शक्तिकेन्द्रको आशीर्वादप्राप्त व्यक्तिहरू छन् । तसर्थ, त्यसप्रकारका अपराधीलाई त तत्काल कारवाहीको दायरामा ल्याउनुपर्दछ ।

स्रोत : रातो खबर साप्ताहिक सम्पादकीय, वर्ष ३, अंक २९, पूर्णाङ्क १२४

२०७४ पुस २३ गते अपरान्ह ५ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :