कराँचीदेखि कलकत्तासम्म

हावर्ड फास्ट 

चर्चित अमेरिकी लेखक हावर्ड फास्ट जुलाई, अगस्त १९४५ मा भारत भ्रमणमा थिए । उनलाई ‘कोरानेट’ अखबारले दोस्रो विश्वयुद्धको समयमा चीन, बर्मा र भारतको यात्रा गरेर युद्धको विषयमा लेख्न पठाएको थियो । उक्त अवसरमा फास्टले गान्धीसँग अन्तर्वार्ता लिनुभयो । उनले ब्रिटिस साम्राज्यवादद्वारा बंगालमा थोपरिएको भीषण ज्यादती, अकाल आफ्नै आँखाले देखेका थिए । त्यसलाई उनले नरक भनेका थिए । जसका कारण उनी धेरै दिन कलकत्ता बस्नसमेत सकेनन् । उनले कलकत्तामा भएको ब्रिटिसको ज्यादती तथा अपराधलाई हिटलरको होलोकोस्ट काण्डभन्दा पनि भयानक र ज्यादतीपूर्ण भनेका थिए । फास्टले सो यात्रा वृत्तान्त अमेरिकी कम्युनिस्ट पार्टीको अखबार ‘द न्यू मासेज’ मा लेख्न चाहे तर सो पत्रिका उनको लेख छाप्न तयार भएन । आफ्नो उपन्यासमा त्यस विषयमा फास्टले विस्तारपूर्वक लेखेका छन् । आफ्नो आत्मकथा ‘विइङ रेड (१९९०) मा प्रकाशित सोही कृतिको भारत प्रसङ्ग पृष्ठ (११२–१२८) यहाँ नेपाली भाषी पाठकका लागि साभार प्रकाशित गरिएको छ)

कराँचीमा उखर्माउलो गर्मी थियो । अधिकांश संवाददाताहरू वातानुकुलित संचारगृहको भवनमा चिसो पेयपदार्थ खाँदै समय गुजार्दै थिए । अमेरिकी सभ्यताको हावाले यहाँको समाजलाई पनि छोएको देखिन्थ्यो । त्यसकारण उनीहरूसँग कोकाकोला मात्र होइन बरफका टुक्रा पनि हुन्थे । हवाईजहाजबाट हामी पेशावर गयौँ । त्यसपछि एकजना अंग्रेज अधिकारीले हामीलाई सडकमार्गबाट खैबरदर्रा पु¥याई दिए । ती जनसम्पर्क अधिकारीको व्यवहार अत्यन्त भातृत्वपूर्ण थियो । उनी पनि त्यो इलाकामा कहिल्यै पुगेका रहेनछन् । हामी दुवैले त्यो इलाकाको विषयमा निकै पढेका थियौँ । ती अंग्रेजको लेखनलाई त्यहाँका अंग्रेजहरू महत्व दिन्थे । उनले मलाई सुनाए कि अंग्रेजी तानाशाहहरू विमान चालकलाई अफगानिस्तान पठाउँछन् । कविलाहरूको बस्तीमा बम पड्काउँछन् । कविलाहरू बन्दुकको प्रतिरोध गर्छन् । अंग्रेजहरू अफगानिस्तानमा त्यस्तो गर्दा त्यहाँ ब्रिटिस–अफगानिस्तान युद्ध भएको थिएन ।

अमानवीय सेवक
कराँचीमा मलाई मन पर्ने कुनै पनि कुरा थिएन । बरु मन अमिलो पार्ने थुप्रै विषय थिए । अंग्रेज शासनको यो दास सहरमा जता गयो, त्यतै मन दुख्ने विषयहरू थिए । एक ठाउँमा दुईजना अंग्रेज अधिकारीहरू स्नानगृहबाट नुहाएर सर्वाङ्ग नांगै बाहिर आएको देखेँ । दुईजना भारतीय सेवकले उनीहरूको शरीर पुछ्दै थिए । ती सेवकहरूलाई नोकर भनिँदो रहेछ । दुवैजना साहेबहरू यसो उसो भनिरहन्थे र नोकरहरू तिनीहरूको शरीर सुख्खा नहुन्जेल पुछिरहन्थे । उनीहरू तिनका गुप्ताङ्गसमेत पुछिरहेका हुन्थे । नोकरका अनुहार कान्तिहीन थिए । उनीहरू प्रतिक्रिया जनाउने स्तरको मानवीय गुणसमेत गुमाएका मान्छेजस्ता लाग्थे ।

म उनीहरूसँग प्रतिक्रिया माग्न अघि सरेँ । त्यसपछि म वायुयानमा दिल्ली गएँ । दिल्लीको वायुसेवा मुख्यालयमा गएर सुचित गरेँ । आफ्नो कागजात देखाएँ र आफ्नो काम जाहेर गरेँ । म एउटा आलेख तयार गर्न आएको बताएँ । मेरो यात्राको विषयमा उनीहरूलाई पूर्ण जानकारी थिएन । जनसम्पर्क इन्चार्ज मेजर आस्टिनले संवाददाताहरूको लागि सबै उडान स्थगित गरेको जानकारी गराएँ । विदेशमा लामो समयदेखि काम गरिरहेका जवानको विषयमा अमेरिकी संचारमा लेख छापिन थालेदेखि त्यसो गरिएको बताए । मलाई वायुअड्डामा सम्पर्क गर्न भनेको हुनाले आफू त्यहाँ गएको मैले जानकारी गराएँ । म एउटा रोचक लेख तयार गर्न चाहन्छु । मेजर आस्टिनलाई त्यस विषयमा कुनै जानकारी थिएन । उनले फौजी शैलीमा त्यस विषयमा निर्णय गर्ने आफूलाई कुनै अधिकार नभएको ठाडो जवाफ दिए । मैले उनलाई काहिरामा सम्पर्क गर्न अनुरोध गरेँ । उनले सम्पर्क पनि गरे तर उताबाट पनि त्यस विषयमा कुनै सूचना नपाएको जानकारी आयो । उसले थप के पनि बताए कि अब क्याप्टन फिप्ससमेत छिट्टै फिर्ता हुँदैछन् । उनले मलाई रेलबाट कलकत्तातर्फ फर्कन सल्लाह दिए र त्यहाँबाट चीन जान सकिने सम्भावना छ ।

दिल्लीमा
यताउता भौँतारिंदै मेरो पाँच दिन गए । ती दिन म दिल्लीमा नै बसेँ । कार्जन सडकको गल्लीमा मलाई एउटा कोठा दिइएको थियो । त्यो सफा सुग्घर इलाकामा थियो तर चिरन्तता अल्पायु हुन्छ । त्यो कुरा एडोल्फ हिट्लर र अन्य धेरै मान्छेहरूलाई थाहा थियो । सन् १९४५ को वर्ष भारतमा ब्रिटिस शासन पतनको सँघारमा थियो । यद्यपि ब्रिटेनले नयाँ दिल्लीको भव्य निर्माण जारी राखेका थिए । गुलाबी ढुङ्गाको महल बनाएका थिए । फौजहरू, अमेरिकीहरू र अंग्रेहरू बस्नका लागि भव्य आवासगृह निर्माण गरेका थिए ।

यहाँ गर्मी चढ्दै गएको थियो । यो मौसममा सबैजसो सरकारी कार्यालयहरू कास्मिर पहाडतिर सारिन्छन् । लडाइँ चर्केको कारण थोरै मान्छेहरू मात्र त्यता लागेका थिए । जब दिल्ली हवाईअड्डामा हाम्रो जहाज उत्रेको थियो, कार्यालयको तापमापक यन्त्रले १२० डिग्री फरेनहाइट देखाइरहेको थियो । तर, हामी उत्रिनासाथ मुसलधारे वर्षा सुरु भयो । जसका कारण तापक्रम १०५ सम्म झ¥यो । हामीलाई थोरै भए पनि राहत महसुस भयो । मलाई सम्झना छ रेडक्रसका दुइटी परिचारिका (नर्स) पनि त्यही हवाईजहाजबाट उत्रेका थिए । उनीहरूको माडले सुन्दर मुजा पारेका लुगा पहिरेका थिए । उनीहरू चिच्याउँदै हवाईअड्डाबाट बाहिर निस्कँदै थिए । दोस्रोपटक दिल्ली आएकोमा उनीहरू हर्षित देखिन्थे ।

अर्को दिन ब्युँझदा दिल्लीको तापक्रम १ सय डिग्री थियो । विश्रामकक्षको छेउमा चकटी थियो । नोकरले चकटी सफा गरिरहेको थियो । त्यो आवाजले म निद्राबाट ब्युँझेको थिएँ । परम्परागत गिजरमा पानी हाल्नासाथ कोठा चिसो भयो । अघिल्लो दिन मैले त्यहाँका कतिपय मान्छेहरूसँग चिनजान गरेको थिएँ । उनीहरूलाई मैले अर्को दिन भेट्ने वाचा गरेको थिएँ ।
तिनीहरूमध्ये राल्फ लोएवे एकजना थिए । आज दिल्लीमा गान्धी आउने सूचना भान्छाघरमा आएर उसैले दिएको थियो । मैले आफूलाई गान्धीसँग भेट्न चाहेको बताएँ । उसले यो त्यसका लागि अवसर हुन सक्ने उसले बताएको थियो । म पनि त्यो अवसरको प्रतीक्षामा थिएँ । त्यसका लागि पुरानो दिल्ली जानुपथ्र्यो । तर कसरी जाने ? उसले मलाई टाँगा चढेर जाने सल्लाह दियो ।

उसबेला भारतमा यताउता छोटो यात्राका लागि टाँगा वा रिक्सा नै मुख्य साधन थिए । धेरैपछि कलकत्तामा भने ड्युक कारहरू पर्यटक वाहन वा ट्याक्सीको रूपमा चल्न थालेका थिए । त्यसको अगाडि सिटमा बडेमानको दारीवाल पञ्जाबीहरू बसेका हुन्थे तर त्यसबेला दिल्लीमा भने त्यस्ता ट्याक्सी वा कार देखिन्नथे । (दिल्लीको उक्त भेटपछि राल्फसँग मेरो फेरि कुराकानी भएन । कैयौँ वर्षपछि उनको चिट्ठी पाएको थिएँ । त्यसबेला उनी कुनै क्याम्पसको प्रोफेसर भएका थिए । उनले मेरो उपन्यास स्पार्टाकसलाई नाट्य–रूपान्तरण गर्न अनुमति मागेका थिए, जसका लागि मैले अनुमति दिएको थिएँ; जसको मञ्चन पनि कुनै क्याम्पसमा गरियो ।

टाँगा दुईओटा पाङ्ग्रा भएको सवारी साधन हो । ब्रिटेनको कुकुर सवारीजस्तै । जसमा टाँगा चालक अग्रभागमा बसेको हुन्छ र त्यसको एककदम पछाडि यात्रुहरू हुन्छन् । नयाँ दिल्लीलाई छुट्याउने कच्चीबाटोबाट हामी टाँगामा पुरानो दिल्लीतिर लाग्यौँ । सखारैदेखि चर्को गर्मी थियो र गर्मी बढ्दै गएको थियो । टाँगा तान्ने घोडा अत्यन्त दुब्लो पातलो थियो । त्यो निकै सुस्तरी हिंडेको थियो । मेरो साथी घोडाको दयनीय स्थिति हेरेर सहनै नसक्नेगरी दुःखी भयो । उसले टाँगावालालाई लागेको भाडा दिएर ओल्र्यो र टाँगा खाली लैजान भन्यो । त्यसपछि हामी पैदलै पुरानो दिल्ली जाने निर्णयमा पुग्यौँ । म यहींनेर एउटा कुराको दाबी गर्न चाहन्छु । लोएवे बिहान निस्कँदा गोजीभरि खुद्रा पैसा हाल्थे र दिनभरि माग्नेहरूलाई दिन्थे । आना भारतको सबैभन्दा सानो एकाइको मुद्रा थियो । सेन्टको दसौँ भाग बराबर थियो ।

चर्को गर्मीले जलेको धुले उजाड सडकमा हामी एक माइल यात्रा गरिसकेका थियौँ । दुई तिहाइ बाटो हिंडेपछि जैनमन्दिर देखियो । हामी खुसी भयौँ । हरियाली भू–भागमा आएझैँ लाग्यो । जैनपुजारीले हामीलाई भित्र बोलाए, जुत्ता बाहिरै राखेर हामी छहारीतिर लाग्यौँ । केही समय आराम गरेर हामी फेरि आफ्नो बाटो लाग्यौँ । कसैले पनि हामीलाई केही भनेन । धेरैपछि हामीलाई थाहा भयो कि जैन असाध्यै शान्तिप्रिय समुदाय हो । ठ्याक्कै बौद्धमार्गीसरह हुन्छन् जैनहरू । कसैको कसैसँग बैरभाव हुँदैन ।
गान्धीसँग साक्षात्कार
पुरानो दिल्लीमा त्यसबेला गान्धी आउँदैछन् भन्ने कुरा हरेक नागरिकलाई थाहा थियो । जब हामी रेड स्टेसनमा पुग्यौँ, गान्धी आउनुभन्दा अगाडिदेखि नै हजारौँ मान्छे प्रतीरक्षामा थिए । त्यो भीड मिनेट–मिनेटमा उर्लिरहेको थियो । हामी पनि त्यही भीडमा मिसियौँ एकजना अंग्रेजी भाषी भारतीयले अग्ला स्थानमा उभिएर गान्धी ३ बजे या त्यसपछिको रेलमा आएर सार्वजनिक सम्बोधन गर्नेछन् । सायद गान्धी रेलको डिब्बाबाट निस्कनेछैनन् । मैले आफू गान्धीसँग भेट्न चाहेको जाहेर गरेपछि मेरो वरपरका मान्छेहरू हाँसे ।

हामीले होचा साधुजस्ता ख्याउटे गान्धीलाई देख्यौँ । पचास गज नजिकबाट देखेका थियौँ । हामी त्यसभन्दा नजिक पुग्न भने सकेनौँ । दुईचार शब्द बोल्यौँ र त्यो पनि भीडमा हरायो । त्यसपछि गान्धीको रेल हिंडिहाल्यो । ममाथि त्यसको गहिरो प्रभाव प¥यो । मलाई लाग्यो, जीवनमा अविस्मरणीय घटना भयो ।

भीड कम हुँदा झमक्क साँझ भइसकेको थियो । राल्फ रोएवेले स्नेसनको कुनातिर इङ्गित गर्दै यसभन्दा अगाडि आउँदा पनि मैनटोलको मधुरो प्रकाशमा केही मान्छे त्यसरी नै पढ्दै थिए भन्ने दृश्य देखाए । एकजना हिन्दु सम्प्रदायको व्यक्तिले उनीहरूलाई पढाइरहेका थिए । त्यसप्रकारको दृश्यले द्रवीभूत भएका राल्फले दिल्ली उच्च अधिकारीलाई भनेर स्टेसनमा ठूलो बत्ती राख्न लगाएका थिए । निरक्षरता हटाउन केही गर्नैपर्छ भनेर उनले चिट्ठीसमेत लेखेका थिए ।

त्यसदिन लोएवेको निवासमा हामी अबेरसम्म छलफल गरेर बस्यौँ । बिहान २ बजेसम्म निद्रा लागेन । हामीले कहिले शान्ति र कहिले युद्धको विषयमा कुराकानी गर्दा गर्दै रात ढल्केको थाहै पाएनौँ । हामीले सनफ्रान्सिस्कोमा के भइरहेको छ भन्नेबारेमा पनि छलफल ग¥यौँ । कहिले हामी संयुक्त राष्ट्रसंघको मुख्यालय कहाँ रहँला भनेर कुरा गरिरहेका हुन्थ्यौँ । बर्लिनमा हिटलरको लास रुसीहरूले बरामद गरेको चर्चा साँच्चै होला त ? के विश्वयुद्ध चलिरहँला त ? के अब हामी रुससँग मिलेर लडाइँ लडिरहन्छौँ । अब जमाना साँच्चिकै शान्तिको याचना गरिरहेको छ त ? अमेरिका, ब्रिटेन र अस्ट्रेलियाका फौज भारतमा के गरेर बसिरहेका छन् ? यति धेरै फौज भारतमा किन तैनाथ छन् ?

यी विषयहरू तन्किने–खुम्चने भइरहन्थे । नयाँ दिल्लीमा अमेरिकी जनसम्पर्क कार्यालयका इन्चार्ज कर्णेलले मलाई कोठाबाहिर जान संकेत गरे । उनले मलाई बिहानसम्म बाहिरै रहन भनेका थिए । उसको आदेश मलाई अपमानित र आरोपित गर्ने खालको थियो तर भारतमा मेरो कोहीसँग कुनै सम्बन्ध थिएन । मैले यसलाई म कुनै भगवानको निर्देशन र आदेशमा यहाँ आएको होइन र निकृष्ट हाकिमसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ । त्यसैले मैले कोसँग कुरा गर्ने, कोसँग नगर्ने सिकाउनुपर्दैन, भनिदिएँ । तीन दिनमा म आफ्नो धैर्यता चाँडै गुमाउने गर्थेँ । म जे चाहन्छु त्यही गर्छु, तिमीहरूले भनेको गर्दिनँ भनिदिएँ तर मैले गर्न सक्ने के थियो त ? म केवल लेख्न सक्थेँ ।

त्यसपछि कर्णेल थोरै नरम भयो । उसले मलाई ‘आमकक्ष’ मा भाषण गर्ने अनुमति दियो । जब कि अझसम्म रोकिराखेको थियो । सभामा भाग लिन २ सय मान्छेहरू जम्मा भइसकेका थिए । मेरो मन्तव्य सकिएपछि पनि घन्टाँै छलफल चलिरहेको थियो । छलफलमा कैयौँ ब्रिटिस नागरिक पनि थिए । अघिल्लो दिन मैले पत्नी बेट्टीलाई एकदमै दुःखी र आक्रोशित भएर पत्र लेखेको थिएँ । म यहाँ के गरिरहेको छु ? केवल यताउता भौँतारिरहेको छु । म यस्तो प्रवचन दिन्थेँ श्रोताहरूबाट त्यत्ति धेरै प्रतिक्रिया पाउन्नथेँ । यहाँ लडाइँ सुरु भइसकेको थिएन । युद्धको समयमा विचित्र खालको एकता हुनेगर्छ ।

उत्तर अफ्रिका पुगेदेखि नै मैले गरिबी र दरिद्रता देखेको थिएँ । जहाँ हजारौँ अमेरिकी सैनिक थिए । उनीहरूको कुनै काम थिएन । पाशा खेलेका जुवाडे जस्ता लाग्थे । आफ्नी पत्नीबाट हजारौँ माइल टाढा वर्षौं रहँदा पनि अमेरिकी फौजमा खुसी देखिन्थे । म चाहिँ यहाँ के गर्दैछु त ? वास्तवमा म निकै महत्वपूर्ण काम गर्दै थिएँ । त्यो त्यस्तो काम गरिरहेको थिएँ, जुन औसत लेखकहरू गर्छन् । केही हेर्दै थिएँ, अनुभव बटुल्दै थिएँ । ज्ञान आर्जन गर्दै थिएँ । (क्रमशः)
भाषान्तरण : अनिल शर्मा
स्रोत : फिलहाल, अगस्त २०१७, वर्ष १९, अंक १५–१६

२०७४ पुस २३ गते दिउँसो ३:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :