माओ र ग्रेटवाल – हरिप्रसाद सिलवाल

स्वागत छ तिनलाई !
तिनीहरू जिन्दगीका मोर्चा कस्दै
चेतनाको उकालो उक्लिरहेछन्
बेसीहरूबाट भारी उठाएर
चिसापानीमा घाँटी रसाएर
यार्साको निकुञ्जतिर तन्कँदै
मेरा धर्तीका साहसी माओहरू
पुर्खाले कोरेका साँधहरूमा
हड्डीहरू बटुल्दै र गाड्दै
मुट्ठी उठाउँदैछन् साथीहरू
मधेसका फाँकट झरेर
पिल्लर उखेलेका डोबहरूमा
करङका काँडेतार बनाउँदै
सिउँदैछन् आमाको छाती
उठाउँदैछन् भोका–तिर्खा बस्तीहरू
रगतले मुछेका माटोका लिउनले
लिप्दैछन् योद्धाहरू
भरिया, घँसिया, आरन र गोठालाहरूबाट
स्वाभिमानको सामरिकता कस्न
ए, मेरा धर्तीका माओहरू !
ए, माओका नव–चेतनाहरू !!
कुन साल, महिना, गते र बारदेखि
हाम्रो आँगनको सुरक्षा सिलाइन्छ ?
हाम्रो ग्रेटवालको जग श्रीगणेश हुन्छ ??
गाउँदैछन् गीत : चेतनाका माओहरू
रगतले मुछेको चपरीले
हड्डीको ग्रेटवाल उठाउनु छ !
पुर्खाको शिर र सिला जोगाउनु छ !!

स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक २९, पूर्णाङ्क १२४

२०७४ पुस २३ गते बिहान ११ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :