नेकपाका जिल्ला नेतामाथि आक्रमण

काठमाडाैं : धादिङ जिल्लाको सिद्धलेक गाउपालिका वार्ड नम्बर ५ स्थित कम्पुर पाँचखोलामा गुरुङ सामुदायको पर्व तमु ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम भइरहेको बेला नेकपाका जिल्ला नेता बुद्ध गुरुङ माथि साङ्घातिक आक्रमण भएको छ । शनिबार राति साढे ८ बजेतिर राजेन्द्र श्रेष्ठ नामक व्यक्तिले एक्कासी तिब्र गतिमा मान्छेको भिड भएतिर बा २ ख ९४०२ नम्बरको ट्रक चलाए । प्रत्यक्षदर्शीका अनुसार नाचागानमा भिड भएतिर पछाडिबाट तीब्र गतिमा ट्रक आयो, सबैले देखेर दायाँबायाँ भागे । घटनाबाट अरु सबै बच्न सफल भएपनि नेपाल कम्युनिस्ट पार्टीका जिल्लानेता बुद्ध गुरुङमाथि आक्रमण भयो । गुरुङमाथि सांघातिक हमला हुँदा गम्भीर घाइते भएका छन् । नेता गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।

नेकपाका धादिङ सेक्रेटरी प्रमोदले विज्ञप्ति प्रकाशित गर्दै घटनाको घोर भत्सर्ना गरेका छन् । उनले दोषीलाई कडा कारवाही गर्न माग समेत गरेका छन् । ‘सेक्रेटरी प्रमोदद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. ५ कुम्पुर चाँपखोलामा २०७४ पुस १५ गते साँझ सांस्कृतिक पर्व तमु ल्होसारको अवसरमा टोलका मानिस जमघट भइ गीत गाइ नाचगान गरिरहेको अवस्थामा राजेन्द्र श्रेष्ठले मान्छे मार्नेगरी मान्छेको भिड भएतिर ट्रक चलाएको र राजनीतिकरुपमा संरक्षित टोले गुण्डाहरुबाट हाम्रो पार्टीका नेता क. बुद्ध गुरुङमाथि ज्यान मार्ने उदेश्यसहित सांघातिक हमला भएको छ । त्यसप्रति हाम्रो पार्टी घोर आपत्ति व्यक्त गर्दछ । साथै कम्पुर पाँचखोला नेवार टोल बस्ने राजेन्द्र श्रेष्ठ, हिराबहादुर श्रेष्ठ, राममबहादुर गुरुङ, पदम श्रेष्ठ र कोइरालालेको कान्छो लगायतका व्यक्तिहरुको समूहले उक्त हमला गरेको र दोषीहरू सबैलाई कानुनी कठघरामा ल्याएर कारवाही गर्न विज्ञप्तिमार्फत अपिल गर्दछौं । ‘यदि कुनै अप्रिय परिवेश, परिस्थिति सृजना गरी राजनैतिक संरक्षण गर्ने कोसिस भएमा पार्टी, नेता, कार्यकर्ता र जनताको रक्षार्थ जस्तोसुकै कडा कदम चाल्नु परेपनि पार्टी सक्षम र तयार रहेको जानकारी यसै प्रेस विज्ञप्तिमार्फत् गर्न चाहन्छौं ।’

२०७४ पुस १८ गते अपरान्ह ५ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :