जनयुद्धको डायरी

२०६१ साल मंसिर ५ गते शनिबार
म D5 को सुर्खेत जिल्लाको बाबियाचौर चतुरेमा छु । न्यायसम्बन्धी जनसत्ताको प्रशिक्षण कार्यक्रमको लागि करीब एक हप्ता बस्नु पर्ने भएको छ । यस जिल्लाका न्याय विभागका चारजना साथीहरू क. यात्री, क. पदम, क. तोसी र क. कमल समेतका करिब १५ जना कमरेडहरू छौं । यहाँ भर्खरै एउटा कर्तव्य ज्यानसम्बन्धी दुःखद घटना भएको रहेछ । यस विषयमा पीडितको उजुरीको आधारमा दोषी भनेर जनसत्ताले स्थानीय डबल सिंहलाई पक्राउ गरेर छानबिन गर्दै रहेछ । यसै विषयमा आज बिहान यसबारे सार्वजनिक रूपमा छलफल गर्ने भनेर स्थानीय जनसत्ताका न्याय विभागका कमरेडहरू तयारीमा हुनुहुँदो रहेछ । छलफलमा मलाई पनि आमन्त्रित गरियो ।

जनसत्ता र न्यायिक मामलाका विषयमा स्थानीय जनतासहितको सहभागितामा व्यापक छलफल गरियो । पीडित र पक्राउ परेका व्यक्तिहरूका कुरा पनि सार्वजनिक रूपमा सुनुवाइ भयो । छलफल स्थगित भएपछि मलाई फुर्सद भयो । त्यसपछि म स्थानीय कमरेडहरूले हाम्रा लागि तयार गरिएको एउटा शेल्टरमा आइपुगँे । हामी बसेको शेल्टर स्थानीय पुलामी थरका मानिसको हो, नामचाहिँ थाह भएन ।

बिहान बेलुका अलि जाडो छ यहाँ बिहान त १०/११ बजेसम्म हुस्सु लाग्छ तपतप शीत झर्छ । खाना खाइवरी नजिकैको कुलोमा १२ बजेतिर नुहाउन गयौं । पारिलो घाम लागेको छ । नुहायौं पनि । मसँग भएभरका लुगामध्ये एउटा पातलो रातो स्वेटर र एउटा ट्राउजर बाहेक अन्य सबै लुगा, झोला र स्लिपिङ ब्याग समेत धोएर घाममा सुकाएँ । लुगा सुकिसकेका छैनन् । दुई पनि बज्यो । प्रशिक्षण कार्यक्रम साढे दुईबजेपछि शुरु हुने भनिएको छ । घाममा बसेर सुन्तला खाइरहेका छौं । एकाएक गडम्म बन्दुकको आवाज आयो । के हो? कता हो? सतर्क भएर चनाखो रूपमा सबैले यताउति हेर्न थाल्यौं । ३० सेकेन्डमै अर्काे यस्तै आवाज दुईचोटी आयो, यो के हो? क. तोसीले यो त एसएमजीको आवाज हो बुझ्न पर्छ है भन्दै भ¥याङ ओर्लनुभयो । ३० सेकेन्डमै पुनः पटटट गर्दै लगातारको बन्दुकको आवाज आयो । यो आवाज नजिकैको जस्तो लाग्यो । “ठोक,! ठोक!” को आवाज पनि सुनियो । अब हामी प्रष्ट भयौं, यो फायर दुश्मन शाहीसेनाको हो भनेर । किनकी यसखालको अटो गनसहितको जनमुक्ति सेनाको टिम यता नजिक छैन भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । घरको बार्दलीमा सुकाएका चिसा लुगा फटाफट एउटा प्लास्टिकको थैलोमा कोचारेँ । हत्तपत्त जुत्ता लगाएँ । दुईवटा झोला समातेँ । हामी सबै फटाफट भ¥याङ ओर्लियौं । यताउति साइडमा फाट्ट फुट्ट घरहरू छन् । बीचमा तोरी बारी छ अनी जोतेको बाँझो बारी छ । हामी तोरीबारी हुँदै फटाफट उतरतिर जंगलतिर दौडिन थाल्यौं । जंगलकै छेउमा एउटा प्रा.बि स्कूल छ । स्कूलसँगै जंगल छ । मेरो पिठ्यूमा एउटा र हातमा एउटा गरी दुइवटा झोला छन् । खुब दौडेँ । फायरिङ गर्दै दुश्मन सेना हामीलाई लखेट्दै आइरहेको छ । जोतेको ठुल्ठुला डल्ला भएको बारी हुँदै कस्सिएर दौडिदै छु । अरु कमरेडहरू अगाडि दौडे कतातिर लागे थाहा भएन । म धेरै दौडन सकिरहेको छैन । स्याँ स्याँ बढिरहेको छ । सास फेर्न गाह्रो भइरहेको छ । खुट्टा पनि चाल्न गाह्रो भइरहेको छ । तै पनि दौडिरहेको छु । पछाडिबाट एकजना महिलाले म तिर संकेत गर्दै “छिटो छिटो दौड, भाग, छिटो भाग, आइसक्यो, नजिकै आयो, छिटो भाग बाबू, छिटो भाग” भन्दै आत्तिएर मलाई भनिरहनुभएको छ ।

म र स्थानीय कमरेड यात्रीसँगै जोडतोडले दौडिरहेका छौं । हामी दुवै जना जंगलभित्र पस्न सफल भयौं । ठूल्ठूला साल, साज र अरु जातका स–साना बुट्यानहरू भएको घना जंगल छ । हात गल्यो । झोला बोकेर दौडन साह्रै गाह्रो भयो, थाम्नै सकिनँ । अनि दुवै झोला सुरक्षित जस्तो देखिने झाडीमा फालेर अगाडि बढ्यौं । लगभग दुईसय मिटर अगाडि गैसकेपछि सानो खोल्सो भेटियो । खोल्साको किनारमा रहेको बुट्यानभित्र पस्यौं र गुजुल्टिएर बस्यौं बन्दुक को आवाज आइरहेको छ गोलीहरू नजिकै खसेको आवाजहरू आइरहेको छ । यतिखेरै आकाशमा हवाईजहाज आयो हामीले अनुमान लगायौं यो पक्कै जासुस जहाज हा,े अब एकछिन पछि हेलिकप्टर आउनेछ र बमबार्ड गर्नेछ । त्यसैले जासुस जहाजबाट नदेखीयोस् भनेर लगाएको रातो स्वीटर फुकाले । तर त्यो जहाज फेरी फर्केन हामीहरू यो झाडीमा निकैबेर चुपचाप बस्यौं । पाँच पनि बज्यो । एकजना स्थानीय व्यक्ति घट्टको कुलो मर्मत गर्न आउनुभएको रहेछ । उहाँले हामीलाई देखेर शुरुमा त डराउनु भयो । पछि नजिक बोलायौं र उहाँलाई आफ्नो परिचय दिदै उहाँसँग केही कुरा बुझ्न खोज्यौं । उहाँलाई केही पनि थाहा रहेनछ । यहाँबाट पूर्वतिर बराइचे गाउँ नजिकै छ भन्ने कुरा थाहा भयो र लाग्यौं उतैतिर । जंगलको अलि अग्लो स्थानमा गएर एकछिन बस्यौं । बाबियाचौर बजारबाट हाटबजारको किनमेल सकेर घरतिर फर्कदै गरेका एउटा आठ÷दस वर्षको बच्चासहित एकजना महिला आउँदै हुनुहुँदो रहेछ । आज शनिबार । बाबियाचौर बजारमा हटिया लाग्छ । यी आमा छोरा पनि हटियाबाट घर फर्कदैछन् । हामीलाई देख्नेबित्तिकै उहाँ अलि डराएजस्तो गर्नुभो र भन्नुभोः– “शाही सेना आएको छ, बाबियाचौरको विद्याज्योति मा.वि.मा बसेको छ । दुई तिन जना मानिसलाई पक्राउ गरिसक्यो । तपाइँहरू को हो ? यहाँ किन आउनु भएको ? ज्यान जोगाउनुस् है ।”

यतिखेर ५ः४५ बजिसक्यो । हामी बसेको जंगलको डाँडो दुश्मन बसेको ठाउँदेखि करिब डेढ किलोमिटरको दुरीमा छौं । एकचोटी बम ब्लास्ट भएको ठूलै आवाज आयो । यो आवाज बमको नै हो भन्ने हामीले अनुमान ग¥यौं । साँझ पर्दैछ । यो जुनेली रात हो । अब हामी गाउँतिर हिड्दैछौं । बम पड्केको बारे हामीले अनुमान ग¥यौं कि, यो बम पक्कै पनि दुश्मन सेनाले जनसत्ताको कार्यालयमा पड्काएको हुनुपर्छ । दुश्मन सेनाले स्थानीयलाई धरपकड गर्ने, पक्राउ गरेर यातना दिन सक्ने भएकोले त्यसबारेमा हामी एकदमै चिन्तित छौं ।

क. कमल, क. अनुकूल र क. ऋषिराज बराल पनि त्यतैकतै हुनुहुन्थ्यो, के भयो होला । यसले पनि हामीलाई चिन्तित बनायो । हामी जंगलको सानो खोल्सो पार गरी पूर्वतर्फको गाउँतिर लाग्यौं । जंगल नजिकैको एउटा घरमा पुग्यौं । पानी मागेर पियौं । यो घर स्थानीय शिक्षक कृष्णबहादुर बि.सी.को रहेछ । हामीलाई यहाँ आएपछि थप जानकारी भयो कि, बाबियाचौरका जनसत्ताका उपप्रमुख चन्द्रबहादुर नेपालीलाई पक्राउ गरिएछ । उहाँलाई शाही सेनाले पिटेको सबैले देखेका रहेछन् । चन्द्रबहादुर नेपाली यो ठाउँमा मिलनसार, समाजसेवी भनेर चिनिने स्थापित नाम हो । उहाँलाई सबैले मनपराउँदा रहेछन् । उहाँलाई सम्झेर कृष्णबहादुर सरले पनि चिन्ता गर्नुभयो ।

कृष्ण सर र उहाँको परिवार एकदमै मिजासिलो हुनुहुँदो रहेछ । हामीले बेलुकीको खाना पनि यहीँ खायौं । मलाई केही समयदेखि आउँ परेको कारण सञ्चो छैन । मेरो यो पेटसम्बन्धी पुरानै समस्या हो । खाना पनि थोरै खाएँ । म सधैं उमालेको पानी पिउने गर्छु । मसँग भएको एक लिटरको थर्मस र एक लिटर उमालेको पानी अट्ने बोतल पनि झोलासँगै जंगलमै छुट्यो । मसँग २०० मिलिलिटर अट्ने सानो बोतल छ । पानी उमाल्न लगाएर त्यसमा भरेँ ।

मेरो जीउमा लगाएको एउटा पातलो रातो स्वेटर र ट्राउजर मात्रै भएकोले जाडो खूब लाग्यो । मेरो अवस्था देखेर आफ्नो परिवारको सदस्यलाई कृष्ण सरले एउटा ज्याकेट दिन भन्नुभयो । एकजना बच्चाले केही धूलोजस्तो भएको गुटुमुटु परेको एउटा ज्याकेट ल्याएर दिए । मैले पनि जाडोमा यही भएपनि लगाउँछु भनेर टकटक्याएँ र लगाएँ पनि । एकछिन त त्यसले न्यानो बनायो । तर एकैछिनपछि मेरो सारा जीउ सकसकाउन थाल्यो । साह्रै अत्यास बनायो । टर्च लाइट बालेर यसो हेरेको, मेरो जीउभरी कुखुराको सुलसुले रहेछ । त्यो ज्याकेट त फुल कोरल्न ओथारो बसेको कुखुरीको खोरबाट झिकेर बच्चाले मलाई त्यो लगाउन दिएका रहेछन् । त्यसपछि मैले तेल मागेँ र जीउभरी दलेँ । धेरै राहत भयो । ज्याकेट त्यहीँ छोडेर हामी हिड्यौं । दुश्मन सेना नजिकै भएकोले यहा सुत्न सुरक्षित नभएपछि अलि टाढाको अर्काे गाँउमा सुत्नको लागि जानुपर्ने भयो । यतिखेर रातको १० बज्दै छ । हामी जुनेली रातको उज्यालोमा त्यतैतिर लाग्यौं । हामी नजिकैको अर्को गाउँको एउटा किसानको घरमा पुग्यौं । दिनभर खेतमा काम गरेपछि चाँडै खाना खाने अनि चाँडै सुत्ने यहाँको चलन नै हो । त्यसमा पनि यतिखेर खेतमा गहुँ छर्ने समय हो परिवारहरू सुतिसकेका रहेछन् । त्यसमा पनि यतिखेर खेतमा गहुँ छर्ने समय हो परिवार सुतिसकेका रहेछन् । हामीले ढोका ढकढक्यायौ र ढोका खोल्न अनुरोध ग¥र्याैं । उहाँहरूले उठेर ढोका खोलिदिनुभयो । यसरी रातमा सुतेकालाई उठाउनु हामीलाई पनि राम्रो लागेको थिएन । तर हामीसँग विकल्प पनि केही थिएन । हामीले आफ्नो कुरा उहाँहरूसँग बतायौं र आजको रात हामीलाई यहीँ सुत्न दिनोस् भनेर अनुरोध गर्‍याैँ । द्रोण भण्डारीको घर रहेछ त्यो । द्रोण भण्डारी पनि बाहिर कतैबाट यतिखेर नै घर आइपुग्नुभयो । आज हामी यहीँ सुत्यौं । द्रोणकी श्रीमती मनिसरा हुनुहुन्छ । एक छोरा र दुइवटी छोरी रहेछन् । राति हामी यही घरमा सुत्यौं । दिउँसोको घटना दिमागमा घुमिरह्यो । हामी मिनेट र सेकेन्डको फरकले मात्र दुश्मन शाही सेनाबाट बचेका थियाैँ । पछिपछि शाही सेनाले फायरिङ गर्दै लखेटेको हामी ज्यान जोगाउन ब्वाँसोको पञ्चाबाट फुत्केर भाग्दै गरेको कुखुरा जस्तै दौडिरहेको क्षण त्यसपछि स्थानीय दिदीले हामीलाई छिटो भाग ! भनेर हामीलाई बचाउन खोजेको क्षण दिमागमा घुमिरह्यो । ती दिदी हाम्रो कुनै नजिकको नाता सम्बन्ध वा चिनजानको मानिस थिइनन् तर पनि हामीलाई उहाँले जोखिम मोल्दै बचाउन खोजेको क्षण मेरो जीवनको अविस्मरणीय क्षण हो । माओवादी भगाएको कुरा सेनाले थाहा पायो भने उहाँको ज्यानै खतरा हुन सक्थ्यो । यो कुरा जान्दा जान्दै उहाँले हामीलाई बचाउन लाग्नु भयो ।

जनयुद्ध चलिरहेका नेपालका थुप्रै ग्रामीण बस्तीहरूका आमा महिला दिदी बहिनीहरूले थुप्रै नेता, कार्यकर्ताहरूलाई बचाएका उदाहरणहरू छन् । कतै दुश्मन नजिकै आइसक्दा लुगाले छोपेर भएपनि बचाएका उदाहरण छन् । कतै मलको खातमा, घाँसको थुप्रोमा लुकाएर बचाएका थुप्रै उदाहरणहरू छन् । आज ती दिदीले पनि त्यसैगरी हामीलाई बचाउनुभयो । ति महान् आमा दिदी बहिनीहरू ! लालसलाम ।

सशस्त्र शाही सेना एवं क्रुर शाहीसेनाले फायरिङ्ग गर्दै लेखेको क्षण पनि मेरो लागि कहिल्यै नबिर्सने क्षण हुनेछ । यस्तोमा सुझबुझका साथ म आफूलाई नियन्त्रणमा राख्ने गर्छु । बरु दुश्मनप्रति तीव्र घृणा र आक्रोश पैदा हुने गर्दछ । विपिनलाई खूब सम्झन्छु यस्तोमा । जाजरकोटको चौखामा दुश्मनको हवाइ आक्रमणमा होस् कि जुनी (कम्युन) को हेलीकप्टरको बमबार्डमा होस्, यस्ता क्षणहरूमा किन हो कुन्नी ! मलाई विपिनको याद आउँछ । हजारौं सहिद र बेपत्ता योद्धाहरूको सम्झना आउँछ । अनि दाँत किटेर दुश्मनप्रति घृणा र आक्रोश व्यक्त गदर्छु र सोच्ने गर्दछु, अझ धेरै बाँच्नु छ । अझ धेरै गर्नुछ । सदियाैँदेखि पीडा भोग्दै आएका नेपाली जनताको मुक्तिका लागि धेरै गर्नुछ । आवश्यकता पर्याे भने मृत्युलाई पनि सहज ढंगले स्वीकार गर्न सक्ने आँट पनि छ ममा । यो कुरालाई मैले भित्रैदेखि आत्मसात् गरेको छु ।

जब दुश्मनले घेरा हाल्छ र कारबाहीमा अघि बढ्छ, अनि सुरक्षित हुन नआत्तिइकन सुझबुझका साथ अगाडि बढ्नुपर्ने रहेछ । यो राम्रैसँग झेलियो, बुझियो, सिकियो र व्यवहारमा प्रयोग पनि गरियो । दिउँसो भेट भएका हाटबजारबाट फर्कँदै गरेका ती आमा छोराको भेट पनि मेरो दिमागमा घुमिरह्योे । ती आमालाई आठ वर्षको बालकले बमको आवाज सुनेपछि सोधेको रहेछ, आमा ! यो आकाश पड्केको हो ? पानी पर्छ हो ? बालकको यो निर्दाेष प्रश्नमा आमाको कुनै जवाफ थिएन । ती बालकको नाम हामीले सोधेका थियौं, तिनको नाम प्रकाश थियो । प्रकाशको भविष्य कस्तो भएर आउँदैछ ! ऊ अनभिज्ञ छ, उसले आकाश जब पड्कन्छ तब पानी पर्छ भन्ने कुरा बुझेको रहेछ । उसले प्रकृति जानेको छ तर बिनाशकारी मानव निर्मित बमको बारेमा केही थाहा छैन । आज प्रकाश खाँटी भौतिकवादी भएको छ । उ भित्रको भौतिकवादी सोच कसरी बचाईराख्ने ? यो चिन्ताको विषय हो । जब प्रकाश ठूलो हुँदै जानेछ र सामन्तीप्रथा, चलन, रुढीवादी संस्कृतिहरूले उसलाई एकसाथ गाँज्नेछन् अनि ऊभित्रको भौतिकवादी सोच बिलाएर जानेछ र ऊभित्र आदर्शवादी चिन्तनले घर गर्नेछ । क्रान्ति र परिवर्तनको बाधकको रूपमा रहेको यो विषाक्त चिन्तनको छायासमेत उसमा पर्न नदिने कसरी हो, आजको लडाइँ यहीँबाट सुरु हुन्छ । सिंगो आदर्शवादी दर्शनको पक्षपोषक प्रतिक्रियावादी राज्यसत्ता आफ्नो नगुमोस् भनेर लागिपरेको छ । जति क्रुर ढंगले पनि जति हत्या हिंसा गरे पनि शासकहरू जहिले पनि अल्पमतमै हुन्छन् । बहुमत त उत्पीडित जनताको नै हुन्छ । त्यसैले दुनियाँ उत्पीडित एवं शोषणमा परेका गरीब वर्गको हो । क्रुर शासनहरूको अन्त्य अवश्यंभावी छ । जित सत्यको हुन्छ । सहिद र बेपत्ता योद्धाहरूको सपना अवश्य पूरा हुन्छ । यिनै कुराहरू सोच्दा सोच्दै राति १२ बजि सकेछ । पेट खराब छ मेरो । त्यसैले ट्वाइलेटको लागि बाहिर खेतमा वा जंगलमा जानुपर्ने हुन्छ । रातमा करिब करिब तीनचोटी म बाहिर भित्र गरेँ । सुत्न खोजे निदाएछु । मैले एउटा अजीबको सपना देखेँ– म कुनै अज्ञात घरमा छु, त्यहाँ शान्ता, विपिन र सलोनी पनि छन् । हामीलाई त्यहाँ दुश्मन सेनाले घेरा हाल्यो । हामीले उम्किने प्रयत्न गर्‍यौंँ तर असफल । दुश्मन शाही सेना भित्रै आउन थाल्यो । मैले केही पत्रकार, मानवअधिकारवादीलाई फोन गर्न प्रयास गरेँ तर फोन लागेन । मैले ४२८८७९ मा क.रूपेशकोमा फोन गरेँ । फोन नितेसले उठायो । मैले रूपेशलाई पाउन भनेँ । नितेसले को बोलेको भन्यो । बाबू छिटो देऊ न भनेँ । नाइँ, पइला को बोलेको भन्नोस् न, उसले अड्डी कस्यो । बाल सुलभको दुरुस्त अभिनय मेरो दिमागमा कसरी आयो होला । यत्तिकैमा त्यो सेनाको कब्जाबाट फुत्कन प्रयास गर्दैछौं, बिउँझेँ । म ओछ्यानबाट उठी बाहिर हेरे । बाहिर टन्न हुस्सु छ । चिसो पनि छ । …
स्रोतः महिला क्रान्ति, २०७४ पुस (रातो खबर अङ्क २८, पूर्णाङ्क १२३)

२०७४ पुस १७ अपरान्ह ५ः५० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :