नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम संगठन विस्तार अभियानमा

एसबी छन्त्याल / आन्ट्वेर्पेन, बेल्जियम : नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम, केन्द्रीय समिति बैठकले प्रदीप अधिकारीलाई केन्द्रीय समितिको सदस्यमा चयन गरेको छ । अधिकारी तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा सम्पन्न भएको जनयुद्धका पूर्णकालीन कार्यकर्ता हुन् । अधिकारीलाई नेपाली जनप्रगतिशील मोर्चाको गत मंगलबार बसेको बैठकले हार्दिकता साथ संगठनमा आबद्ध गरेको छ ।

मोर्चाको नोभेम्बरमा बसेको बैठकले बेल्जियमस्थित नेपालीहरुका बिचमा भेटघाट तीव्र पार्ने र नेपालको वर्तमान राजनैतिक अवस्थाको बारेमा छलफल चलाउने, दलाल पुँजीवादी संसदीय व्यवस्थाको भन्डाफोर गर्ने, वैज्ञानिक समाजवादको पक्षमा प्रचारप्रसार गर्ने र स्वतन्त्र, स्वाधीन, सम्पन्न नेपाल निर्माणको लागि संगठन विस्तारमा तीव्रता ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप संगठनले बेल्जियमलगायत युरोपका अन्य देशहरुमा नेपालको बिषम परिस्थितिका कारणले यहाँ आइपुगेका विचारमा प्रतिबद्ध अन्य व्यक्तिहरुलाई पनि घनिभूत सम्पर्क गर्ने क्रमलाई जारी राख्ने निर्णय गरेको छ ।


बैठकमा मोर्चाका अध्यक्ष मेख गुरुङले अधिकारीलाई केन्द्रीय सदस्यको रुपमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई उपस्थित सम्पूर्णले एकमतका साथ पारित गरेको होे । नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेलले अधिकारीलाई मोर्चामा आबद्ध भएकोमा हार्दिक बधाई दिंदै मोर्चाको अभियान र समसामयिक राजनैतिक विषयमा चर्चा गरेका थिए ।

२०७४ पुस ८ गते दिउँसो १ :२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :