मजदुर : चोमु शेर्पा (खुशी)

चोमु शेर्पा (खुशी) दमक, झापा

हरेक बिहान फ्याक्ट्रीको
अत्याधुनिक मेसिनहरूसँगै
मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ
फरक यति छ कि
मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन्
म मेरो दुई छाक टार्नुपर्ने
बाध्यता बाट संचालित हुन्छु ।

बेला बखत मेसिन बिग्रन्छ,
इन्जिन खराब भएर
बेला बखत म पनि बिग्रन्छु
म भित्रको इन्जिन खराब भएर
फरक यति हो कि
मेसिनहरू बिग्रे मालिकले
लाखौं खर्च गरेर बनाउँछन्
मेरो भित्रको मेसिन बिग्रिए
उपचार गर्ने पैसा त के कुरा
आरामको लागि पाँच मिनेट समय पाईंदैन
पाइन्छ त केवल सित्तैमा गाली पाइन्छ ।

महत्व छ हामी दुवैको उत्तिकै
म नभए मेसिन चल्दैन र
मेसिन जतिकै मेरो हात चलेन भने
मेसिन चलेको औचित्य हुन्न
फरक यति हो म चलिन भने
म भन्दा सस्तोमा सयौं बेरोजगार युवा
तम्तयार हुन्छन्
मेसिन बिग्रेमा महंगो दाम पर्छ ।

पुरै जीवन समर्पित गरें बस्
न त मेरो काम फेरियो
न त मेरो पहिचान फेरियो
न त मेरो घर फेरियो
न त मेरो रहर फेरियो
फेरियो त साहुको फेरियो
हेर्दाहेर्दै महल बन्यो
हेर्दा हेर्दै कार फेरियो
हेर्दा हेर्दै हिराको हार फेरियो
सर्पले बर्षेनी काँचुली फेरे जस्तै
अनेक फेरिए
कमाए, जमाए, रमाए भरपुर
म जहाँको त्यहीँ
एउटै रहिरहें
कुवाको भ्यागुत्ता जस्तै
सबैले चिन्ने
त्यही एउटै नाम ज्यालाको मजदुर !

प्रत्येक तिहारमा आमाले
पकाउनु हुन्छ सेलरोटी
गोलो–गोलो घुमाएर
अनि म सोच्छु
फ्याक्ट्रीदेखि झुप्रो, झुप्रोदेखि फ्याक्ट्री हुँदै
मेरो प्रत्येक वर्षहरू घुम्दै–घुम्दै
डुब्न लागेको घाम जस्तै बनिसकेछु
के भयो र उपलब्धी
बस् बाँचियो त्यति !

बादलले अचानक घाम छले झैँ
जालझेल गरेर छल्न जानिन
इमान्दारिता भन्दा ठूलो
जीवनमा अरु केही ठानिन
अभावले मल नपुगेको
बिरुवा खुम्चिए झैँ खुम्चें बरु
तर इमानभन्दा पैसा ठूलो मानिन ।

धेरै भए परिवर्तनका कुरा
कति चर्के अधिकारका नारा
आन्दोलित भए सबै–सबै
कति भाँडिए, कति मारिए
कति सफल पारिए
कराउञ्जेल, बर्बराउञ्जेल, नथाकुञ्जेल
सबैका नजर तानिए
तर कोइला थपेपछि मात्र सल्किने आगोझैं
ती आवाजहरू फेरि थपिन
फेरि सल्किन, फेरि झुल्किन
तर उपलब्धी हासिल गर्न सकेनन्
कोही आश्वासनमै खुशी भए
कोही अभावको कारण पछि सरे ।

सबै–सबै हराए तर म जाग्ने प्रयास गर्दैछु,
भनिन्छ उदाउने बेला र अस्ताउने बेलाको
घाम चम्किलो र सुन्दर हुन्छ
त्यस्तै म अस्ताउनु अघिनै
म जस्तै संसार भरिका
मजदुरहरूको आवाज बनेर
सधैं अहम रूपमा उठ् भने उठ्
बस् भने बस् गर्ने शोषक
र अहंकारी मालिकहरूलाई
बुझाउन चाहन्छु
मजदुरहरूको महत्व
चिनाउन चाहन्छु श्रमको मूल्य
किनकि भोलि म अस्ताए पनि
सबै मजदुरहरूको दिन उदाउन सकोस् । स्राेत : रातो खबर साप्ताहिक
मंसिर २७

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!