खानपिनमा ध्यान नदिँदा मधुमेहको समस्या

काठमाडाैं  : पछिल्लो समय नेपालमा मधुमेह रोगीको संख्या बढेको छ । नेपालमा मुटुरोगपछि दोस्रो ठूलो समस्याका रूपमा मधुमेह रोगका बिरामी देखिन्छन् । नसर्ने रोगले भयावह रूप लिँदै गएका वेला नेपालमा मधुमेह रोगका बिरामीको संख्या दिनप्रतिदिन थपिँदो अवस्थामा छ । रोगीको संख्या बढ्दै जानु भनेको राज्यका लागि ठूलो चुनौती हो । एकातिर राज्यले स्वास्थ्यलाई मौलिक हकको रूपमा मान्यता दिएर जनताको स्वास्थ्यमा गम्भीर भएको देखिन्छ भने अर्कातर्फ मधुमेह रोगका बिरामी बढ्दो क्रममा रहेको देखिन्छ । विलासी जीवनशैली, अनुशासनहीन व्यवहार, अनावश्यक तनाव, अखाद्य वस्तुको सेवनलगायतका कारणले मानिसमा अत्यधिक मात्रामा मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । मधुमेह रोग कस्तो अवस्थामा हुन्छ, के कारणले यो रोग लाग्छ र यसबाट बच्न के गर्नेलगायतका विषयमा डाक्टर रिनेश सापकोटाले दिएका सुझाब यस्ता छन् : 
के हो मधुमेह ?
मानव शरीरभित्रको आमाशय र आन्द्राको बीचमा प्यांक्रियाज ग्रन्थिमा गडबड भएर इन्सुलिन हर्मोनको मात्रामा कमी हुन आएमा तथा यसको उत्पादन रोकिएमा मधुमेह रोग लाग्दछ । मानव शरीरमा भएको रगतमा चिनीको मात्रा बढी देखिएको खण्डमा त्यसलाई चिनीरोग लागेको भनिन्छ ।
लक्षण
अनियमित ढंगले पिसाब लागिरहनु । अस्वाभाविक रूपमा भोक लाग्ने र जति खाए पनि मानव शरीरमा वजन नबढ्नेजस्ता क्रियाकलाप देखिनु ।
छिनछिनमा तिर्खा लाग्नु । जति पानी खाए पनि मुख सुक्खा भइरहने हुनु ।
यौन इच्छा घट्दै जानु, शारीरिक सम्पर्क गर्ने वेलामा यौन पार्टनरसँग झर्को मान्नु ।
मानिसको शरीरमा कुनै कारणले घाउ, चोटपटक लागेको खण्डमा निको हुन अधिक समय लाग्नु ।
मानव शरीरका विभिन्न भागमा अनावश्यक ढंगले चिलाउने लक्षण देखिनु ।
निरन्तर रूपमा छालामा संक्रमण हुनु ।
आँखाको हेर्ने शक्ति कमजोर हुँदै जानु । आँखा धमिलो हुनु ।
लागे के गर्ने ?
मधुमेह रोगको लक्षण देखा परेको खण्डमा तत्काल चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नेतर्फ लाग्नुपर्छ । आफ्नो नियमित बानीमा सुधार गर्दै जानुपर्छ ।
यसरी लाग्छ मधुमेह
घर अथवा मावलीतिरको वंशाणुगत गुण पनि मधुमेह रोग लाग्नुको प्रमुख कारण हो । विलासी जीवन बिताउने र व्यायाम पटक्कै नगर्ने मानिसलाई मधुमेह रोग लाग्न सक्छ ।
शरीरलाई आवश्यक पर्नेभन्दा बढी खानेकुरा खायो भने पनि मधुमेह रोगले च्याप्न थाल्छ । गुलियो पदार्थ धेरै मन पराउनु र अत्यधिक मात्रामा खाएमा मधुमेह रोग लाग्न सक्छ ।
अल्छी र खन्चुवा स्वभावको मान्छे र मोटोघाटो मानिसलाई छिट्टै मधुमेह रोगले भेट्छ । गर्भावस्थामा ध्यान दिएन भने मधुमेह रोगले छुन सक्छ ।
चिया, कफी, केकलगायतका चिनीबाट बनेका परिकारमा बढी जोड दिने मानिसलाई मधुमेह रोगले भेट्छ ।
कार्बोहाइड्रेडको मात्रा बढी भएका आलुलगायतका वस्तु मन पराउने मानिसलाई मधुमेह रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
मिर्गौला, कलेजो र मुटुरोगका बिरामीलाई उपचारका क्रममा दिइने विभिन्न औषधिका कारण पनि मधुमेह रोग लाग्न सक्छ । मानव शरीरमा भिटामिन सीको कमी हुँदा मधुमेह रोग लाग्न सक्छ ।
कसरी छुटकारा पाउने ?
नियमित रूपमा व्यायाम गर्ने । विलासी जीवन त्याग गर्नेतर्फ ध्यान दिने । सन्तुलित भोजन तथा आहार सेवन गर्ने ।
मन र मष्तिष्कलाई सकारात्मक पार्ने र सकारात्मक रूपले सोच्ने बानीको विकास गर्नतर्फ लाग्ने ।
नियमित श्रम र योग गर्ने ।
दुई–दुई घन्टाको बीचमा खानपिन गर्ने बानी बसाल्नुका साथै समयमै खाने ।
शरीरलाई आवश्यक पर्ने भिटामिन सी पर्याप्त मात्रामा सेवन गर्ने । हप्ताको दुईपटक शरीर मालिस गर्ने र सम्भव भएसम्म जिम जाने ।
हरेक बिहान कम्तीमा एक घन्टा हिँडडुल गर्ने । नियमित रूपमा ठीक समयमा सुत्ने र उठ्ने बानीको विकास गर्ने ।
अध्यात्मिकतातिर ध्यान दिने । दैनिक जीवनशैलीमा परिवर्तन गर्ने र समयअनुसार चल्ने ।
चिनीको मात्रा बढी भएका चिया, कफी सख्खर, चकलेट, बिस्कुट, चाउचाउलगायतका खानेकुरामा जोड नदिने ।

२०७४ मंसिर २९ गते मध्यान्न १२ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :