युरोपबाट हेर्दा देशको चुनाव !

रोजगारको खोजीमा नेपालीहरू विश्वभरि छरिएका छन् । तर उनीहरूको मस्तिष्कमा नेपालकै गाउँघर हुन्छ । नेपालीहरू कामबाहेक अध्ययन र व्यापारका लागि पनि विदेश जान्छन् । त्यस्तो सङ्ख्या आजभोलि एकदमै बढेको छ । पहिलापहिला नेपालीहरू काम र अध्ययनका लागि भारत जान्थे । अहिले अरब, खाडी, युरोप, अमेरिका हुँदै विश्वभरि फैलिएको अवस्था छ । जहाँ पुगे पनि उनीहरूको मन भने नेपालमै हुन्छ ।

नेपालमा भएका सबै विद्रोह वा जनआन्दोलनमा विदेशमा रहेका नेपालीको ठूलो सहयोग रहेको छ । नेपालको शाही सरकारले आतङ्ककारी भनेको र नेपालमा खुला रूपले त्यसको प्रचार नभएको बेला थियो । त्यस्तो अप्ठ्यारो समयमा पनि युरोपमा जनयुद्धको ठूलो प्रचार भएको थियो । क्रान्तिकारी कम्युनिस्ट भनेपछि युरोपका सरकारहरूले राम्रो दृष्टिले हेर्दैनन् । माओवादी भनेपछि नराम्रो भावनाले हेर्दा रहेछन् । वैधानिक सङ्गठन बनाएर नेपाल, भारत र अमेरिकाले आतङ्ककारी घोषणा गरेको अवैधानिक सङ्गठन, विचार र पार्टीका पक्षमा बोल्नु सजिलो काम थिएन । रोजगार गुम्ने, कानुनी झन्झट हुने अनेक चुनौती हुनसक्थ्यो । त्यस्तो अवस्थामा पनि जनयुद्धका पक्षमा काम भयो । विश्वभरिका प्रगतिशील, वामपन्थी र भाइचारा व्यक्ति तथा संस्थासँग नेपालको जनयुद्धलाई जोड्ने, विचार पु¥याउने, छलफल गराउने कामहरू भए । पुस्तक, लेख, अन्तरवार्ता र समाचार प्रसारण भए । जुलुस, सभा र अन्तरक्रियाहरू भए । त्यति मात्र हैन, सुनेअनुसार अमेरिकाको निर्देशनमा बेल्जियम सरकारले २०६१ तिर ज्ञानेन्द्र शाहको सरकारलाई एम १६ नामको लङ रेन्ज मार हान्न सक्ने हतियार (राइफल) सहुलियत दरमा बिक्री गर्दै थियो । बेल्जियमको त्यस बेलाको सङ्गठनले त्यसका विरुद्ध कानुनी सङ्घर्ष ग¥यो । यहाँका एकजना सांसदले नेपालीलाई सहयोग गरेछन् । बेल्जियमको सदनमा छलफल भएछ । अन्ततः नेपाललाई घातक हतियार बेच्ने निर्णय नै सरकारले फिर्ता लिन बाध्य भयो । कति महान् कुरा ! बेल्जियमको सानो तर फ्रान्स, जर्मनी, इङ्ल्यान्डभन्दा सुन्दर र चर्चित देशको सदनमा नेपालको जनयुद्धको चर्चा र जनयुद्धको हितमा निर्णय भयो । यो त एउटा उदाहरण मात्र हो । यस्ता धेरै कामहरू भएको यहाँका साथीहरू सुनाउँछन् । युरोपका नेपाली क्रान्तिकारीहरुमा महिलाको भूमिका पनि कम छैन । अनिता छन्त्याल,शुशिला पराजुलीजस्ता दर्जनौं महिलाको महत्वपूर्ण भूमिका छ । तर उनीहरु न महत्वपूर्ण जिम्मेवारीमा छन् न त समितिमा रहेकाको उचित भूमिका हुन्छ । महिलालाई श्रमिक मात्र ठान्ने रोग जहाँसुकै हुँदो रहेछ । युरोपको संगठनमा पनि महिलाहरुले त्यस्तै गुनासो गर्दा रहेछन् ।

नेपालबाट आएका व्यक्तिहरूलाई समस्या पर्दा सहायता गर्नेदेखि जनयुद्ध दिवस, महिला दिवस, मई दिवस र परम्परागत चाडपर्वमा कार्यक्रमहरू आयोजना गरेर विचार, भावना र राजनीति साटासाट गर्ने काम पनि गरिन्छ । त्यसले गर्दा नेपालमा भएका वर्गसङ्घर्षका पक्षमा समर्थन जुटाउने काम पनि गर्दो रहेछ । म यहाँ रहेका थोरै दिनमा पनि त्यस्ता कार्यक्रमहरू भए । सहभागी हुन पाइयो । त्यस्ता कार्यक्रममा भाग लिँदा आफू नेपालमै छु कि युरोपमा भनेझैँ हुँदो रहेछ । त्यस्तै एउटा अनौपचारिक कार्यक्रम केही दिनअघि ब्रसेल्समा भयो । महान् क्रान्तिकारी नेता, क्युबाली क्रान्तिका नायक चे ग्वेभाराका छोरा कामिलो गुभारा बेल्जियम आएका थिए । क्युवामाथि अमेरिकी नाकाबन्दीको विरुद्ध क्युवाको पक्षमा जनमत बनाउन उनी त्यहाँ आएका रहेछन् । चे ग्वेभाराका छोरासँग यहाँको सङ्गठनकोे पनि भेटघाट र अन्तरक्रिया थियो । यस्ता कार्यक्रमहरू बेल्जियममा भइरहने रहेछन् । चेका छोराले नै आफ्नो युरोप भ्रमण अनौपचारिक भएको र राजनीतिक चर्चाका लागि नभएको भनेको हुनाले चर्चामा गएन । तर त्यो निकै महत्वपूर्ण कार्यक्रम थियो । नेपालका घटनाअनुसार यहाँको नेपाली जनमत पनि प्रभावित भइरहन्छ ।

नेपालमा अहिले संसदीय चुनाव चल्दैछ । चुनावको जितहारको चर्चा छ । अर्कोतिर बहिष्कार र खारेजीको चर्चा छ । नेकपाले खारेजी अभियान भनेको छ । चुनाव खारेजी अभियानमा भएका घटना हेरेर यहाँका नेपालीहरू नेपालमा फेरि जनयुद्ध भइरहेको अनुभव गर्छन् । २०५४/०५५ तिर म खुसीराम पाख्रिन दाइसँग सांस्कृतिक कार्यक्रममा नाच्ने–गाउने गर्दा जस्तो अनभूति हुन्थ्यो आज नेपालमा फेरि त्यस्तै वातावरण देखिन्छ । मान्छेहरू जेल, पक्राउ, विरोध, आक्रमण, जनकारबाही यस्ता शब्दहरू दोहोरिएका छन् । चुनावसम्म पुग्दा युरोपमा पनि धु्रवीकरण बढेको छ । वैद्य बा र बाबुरामको सङ्गठन यहाँ छैन । चुनाव पक्षधर र जनयुद्ध वा क्रान्ति पक्षधर भनेर विभाजित भएका छन् ।

चुनाव र त्यसको विरुद्ध खारेज अभियान चलिरहेको बेला नेपालमा थुप्रै राजनीतिक व्यक्तिहरू पक्राउ परे । अस्पतालका बिरामी, ८५ वर्षका वृद्ध, आपाङ्ग–घाइते, स्वास्थ्यकर्मी, शिक्षक कोही बाँही रहेनन् । हिजो माओवादीलाई बास दिएको भनेर, खाना दिएको भनेर दुःख दिन्थे । मारिन्थे अनाहकमा मान्छेहरू । आज नेकपालाई समर्थन गरेको भनेर दुःख दिन थालिएको छ । सरकार र प्रशासनले नै नेकपालाई झन् ठूलो पार्टी बनाउन खोज्दैछ । नेपालमा सयौँ गिरफ्तार भएपछि युरोपमा नेपालीहरू चुपचाप बसेनन् । आस्थाका आधारमा गिरफ्तार गरिएका सबैलाई रिहाइ गर्न माग गरेर विज्ञप्ति जारी गर्ने काम भयो । त्यसले गर्दा युरोपमा रहेका नेपालीमा ध्रुवीकरण झन् बढाएको छ । भोलि त्यसप्रकारको धु्रवीकरण झन् बढ्नेछ ।

नेपालमा जसरी नै युरोपमा पनि चुनावप्रति नेपालीहरू त्यति आशावादी देखिन्नन् । ठूलो परिवर्तन नभएसम्म पुरानै पार्टी र नेताले के गर्लान् र खै ? भन्ने सोचाइ धेरैमा छ । उनीहरूका हावादारी घोषणापत्र हेर्दा, उनीहरूले मञ्चमा कुर्लेर सपना भट्ट्याउँदा बेल्जियमका नेपाली ओली, दाहाल र देउवाको विगतको अनुहार र तिनका काम सम्झन्छन् । जनयुद्धमा ठूलो धोका भएको कारण ‘क्रान्ति त चाहिन्छ तर…’ मान्छेहरू भर पर्न वा के हुने हो ? भनेर शङ्का गर्छन् । तर मान्छेको जात राम्रो कामका लागि समर्थन र खराब कामका लागि विरोध नगरी बस्न सक्दो रहेनछ । स्रोत : रातोखबर साप्ताहिक, अंक १२१

२०७४ मंसिर २८ गते मध्यान्ह १२ः०० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :