भारतसँग टाढिंदै माल्दिभ्स

काठमाडौं : जलवायु परिवर्तनको कारण सामुद्रिक सतह उठ्दै गएपछि आगामी केही शताब्दिमा टापुहरूको देश माल्दिभ्स समुद्रमा डुब्ने चर्चा भइरहेका बेला केही समययता यो देश चीनसँगको सम्बन्धका कारण चर्चामा छ । दक्षिण एशियामा भारतलाई उछिनेर उदीयमान विश्व शक्ति चीनले प्रभाव विस्तार गरिरहेको देखिन्छ । पाकिस्तान र श्रीलंकापछि माल्दिभ्स पनि चिनियाँ प्रभावमा ढल्केको छ । दक्षिण एशियाली देशहरूको संगठन ‘सार्क’ का ३ वटा देशहरू चीनको प्रभावमा परिसकेका छन् । नेपालमा पनि चीनको प्रभाव बढ्दो र भारतको प्रभाव घट्दै गएको छ । नेपालमा विदेशी लगानी गर्ने पहिलो दाता देश चीन भएको छ । यी घटनाहरूलाई भारतको असफल विदेश नीतिका रूपमा हेरिएको छ ।

गएको बुधबार माल्दिभ्सको संसदले छलफल नै नगरी चीनसँग मुक्त व्यापार सम्झौता पारित गरेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश चीनमा कर नतिरीकन मत्स्य निर्यात गर्न पाउने सम्भावनाका कारण मालेको संसदले सो सम्झौतामा स्वीकृति जनाएको हो । चीनसँगको निकटताले भारत र माल्दिभ्सको नाता अझ टाढिने देखिन्छ । चिनियाँ राष्ट्रपतिको गएको भ्रमणमा नै माल्दिभ्स र श्रीलंकाले सामुद्रिक रेशम मार्गमा सम्झौता गरेका थिए । ओबिओआर र रेशम मार्गप्रति भारत नकारात्मक भइरहेको बेला यी दुवै देशले हस्ताक्षर गरेपछि भारत थप असन्तुष्ट छ । तर भारतको अगाडि अमेरिकासँग नजिक हुनुबाहेक अर्को कुनै बिकल्प पनि छैन । माल्दिभ्सको चीन ढल्काई सन् २०१४ देखिकै हो । जतिबेला उसले रेशम मार्गलगायत सम्झौतामा चीनसँग सम्झौता ग¥यो ।

नरेन्द्र मोदी सरकारले ‘छिमेकी पहिलो’ नारा दिएपनि उसको दक्षिण एशियामा घट्दो प्रभाव रोकिएको छैन । त्यसको क्षतिपुर्ती अमेरिकासँग हात बढाउन खोजेको देखिन्छ । दक्षिण एशियामा घट्दो प्रभावले भारतको अन्तर्राष्ट्रिय कद घटाउनेछ । भारतकै कारण सार्कको शिखर सम्मेलन पनि हुन सकिरहेको छैन । माल्दिभ्स सामरिक दृष्टिले निकै महत्वपूर्ण थानमा रहेको छ । नेपालले यसै वर्ष भारतको इच्छा विपरीत ओबिओआरमा हस्ताक्षर गरिसकेको छ । दक्षिणएशियाको शक्ति सन्तुलनले पाकिस्तानलाई एक्लो बनाउने भारतीय रणनीति र भारतको साथ लिएर चीनलाई घेर्ने अमेरिकी रणनीति दुवै असफल बन्दै गएको देखिन्छ ।
स्रोत : रातो खबर साप्ताहिक, मंसिर २०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :