आज पनि उनै आए : मातृका पोखरेल

अस्ति उनी
विकासका योजना लिएर आउँथे
पारी पाखामा
कुलोको खाँचो छ भन्दै आउँथे
यो गाउँका निम्ति
यति मिटर पाइप चाहिन्छ भन्दै
फुलबुट्टा भरेर आउँथे
उनी भोट माग्थे
माननीय बन्थे
मन्त्री बन्थे
पाँच बर्षपछि फेरि आउँथे ।

यसरी पारी पाखामा फापर फलाउनेहरू
धान फलाउने सपना
भोट बनाउँदै बाकसमा खसाउँथे
दुई कोसको पधेंरा धाउने दिदीबहिनीहरू
आँगनमा गाग्रो भर्ने कल्पना
उनैको बाकसमा भर्थे उ
नी पाँच बर्षपछि आउँथे
झन् सुकिला बनेर आउँथे
खाइलाग्दा बनेर आउँथे ।
गाउँहरू ढाँटिए
देश लुटियो
मानिसले चाल पाए
उनीहरू अत्याचारका निम्ति लडे
छोराहरू मारिए
छोरीहरू बलात्कृत भए
तर छोराको बलिदानको कथा सुनाउँदै
छोरीको त्यागको मन्त्र जप्दै
नयाँ प्रजातन्त्रको आँगनमा
खै ! आज पनि फेरि उनै आए ।

स्रोत : जनादेश साप्ताहिक, वर्ष १, अंक ४९, २०४६ असार २३ / रातो खबर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :