मतदान झनै निराशाजनक हुने

काठमाडौं : निर्वाचन आयोग, सञ्चार माध्यमहरू, देशी–विदेशी अनुगमनकर्ता र सरकारी निकायले सूचना विभ्रम सिर्जना गरेको रहस्य खुल्दै गएको छ । मृत्यु भएका, विदेश गएका, बहिस्कार गरेका सबैको नाममा मतदान भएको छ । चुनावलाई धाँधलीरहित गर्ने प्रयोजनाका लागि निर्वाचन आयोगले जारी गरेको फोटोसहितको मतदाता परिचयपत्रको औचित्य के हो ? सुरक्षाकर्मी र निर्वाचन आयोगका कर्मचारी त्यो स्तरको भ्रष्टाचार तथा संसदीय व्यवस्थाको चुनावप्रति नै प्रश्न उठ्ने हर्कत हुँदा कहाँ थिए ? बाजुरालगायतका जिल्लामा शुरुमै ८० प्रतिशत मतदान भएको समाचार योजनाबद्ध रूपमा वितरण गरियो । जिल्ला निर्वाचन समितिले अर्को दिन ७६.२५ प्रतिशत मतदान भएको तथ्याङ्क सार्वजनिक ग¥यो । बाजुरामा एक जनाले ६० पटकसम्म मतदान गरेको, लोकतन्त्रका ठेकेदार नेता, कर्मचारी र सुरक्षा निकायले महिलालाई मतदान गर्नसमेत दिएनन् । मतदाताहरू मतदान केन्द्रमा पुग्दा अरूले नै आफ्नो मतदान गरिसकेको थाहा पाएपछि निराश भएर फर्किनु प¥यो । बहिस्कार गरेका मतदाताको नाममा अरूले नै मतदान गरेका कारण रुष्ट भएका कालीकोटका मतदाताले काँग्रेसका कार्यकर्तालाई कालोमोसो दलेका थिए । दोस्रो चरणको निर्वाचन हुने काठमाडौं र तराईका धेरै ठाउँमा भएका नमूना मतदान केन्द्रमा २५ देखि ३० प्रतिशतसम्म बदर मत देखिएको छ । बाजुरामा ०.०१ प्रतिशत मात्र अनुपस्थित मत कसरी भयो ? धादिङको एउटा मतदान केन्द्रमा ९९.२६ प्रतिशत मतदान कसरी भयो ? त्यसबाट प्रष्ट हुन्छ, मतदानमा जनताको उपस्थिति आधा पनि भएन र संसदीय लोकतन्त्र निर्वाचनद्वारा अस्वीकृत भएको छ । नेकपाका नेता हेमन्तप्रकाश वलीले भन्नुभए झैं ४० प्रतिशतभन्दा कम मात्र मतदान भएको देखिन्छ ।

संसदीय चुनाव ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो’ भन्ने महान लेनिनको भनाइ नेपालको चालु चुनावमा एकपटक फेरि पुष्टि भएको छ । संसदीय चुनाव देखाउने दाँत मात्र हो । वास्तविक चपाउने दाँत भनेका बन्दुक, विदेशी आडभरोसा र कर्मचारी तन्त्र हो भन्ने कुरा यसले पुष्टि गरेको छ । जब जनताले अनुमोदन नगरेको व्यवस्था बन्दुक र अमेरिका, भारतजस्ता आतङ्कवादी देशहरूको आडभरोसामा कायम रहन्छ, जनता विद्रोहमा उत्रनु बाध्यकारी कदम र अन्तिम विकल्प बन्न जान्छ । देशका पछिल्ला घटनाक्रमले त्यही अप्रिय परिस्थितिको सूचना दिइरहेका छन् । तर कतैबाट पनि त्यस दृष्टिले गम्भीरता देखिएको छैन । बौद्धिक जगत पनि लाभको पदका लागि नेता रिझाउनमै व्यस्त छ । ठूला सञ्चार माध्यमहरू ‘विज्ञापन राजनीति’ मै अल्मलिएका छन् । समय घर्किसकेपछि धारेहात लगाएर केही हुनेवाला छैन ।

स्रोत : रातो खबर साप्ताहिक

मंसिर २०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :