चुनाव होइन मुठभेडतिर देश

UDMF-cadres-ans-security-personnel-clash-in-Rajbirajनेपाल कम्युनिस्ट पार्टीले सप्तरीको राजविराजमा सोमबार भएको गोलीकाण्ड निन्दनीय भन्दै घटनाप्रति पार्टीको गम्भीर ध्यान केन्द्रित भएको जनाएको छ । नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै दलाल संसदीय व्यवस्था रहेसम्म एकएकवटा बहानामा जनतामाथि दमन भइरहने भएकाले यसको अन्त्यका लागि लाग्नुपर्ने बताउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सप्तरीको राजविराजमा भएको गोलीकाण्डप्रति हाम्रो पार्टीको गम्भीर ध्यान केन्द्रित भएको छ । एमालेले कथित चुनावी जनसभाको अभियान चलाउनु र मधेसवादी मोर्चाले क्षेत्रीयता र जातीयतावादी भावना भड्काउनु साथै त्यसैको कारणले प्रहरीको गोलीबाट अनाहकमा जनताले ज्यान गुमाउनु निकै गम्भीर र दुःखको विषय हो ।’
महासचिव विप्लवले विज्ञप्तिमा भन्नुभएको छ, ‘सामान्यतः शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्नु सबै नागरिकको आधारभूत अधिकार हो । त्यसलाई जबर्जस्त भड्काउनु अराजनीतिक कार्य हुन्छ । अर्कोतिर राजनीतिक समस्यालाई राजनीतिक हिसावले समाधान गर्नुको साटो पेलेर समस्यालाई विस्फोटक बनाउनु मूर्खतापूर्ण कार्य हो ।’
महासचिवले अगाडि भन्नुभएको छ, ‘यसो त हामीले नेपालमा दलाल संसदीय व्यवस्था लादेदेखि नै प्रस्ट भन्दै आएका छौँ– केन्द्रमा संसदीय व्यवस्था लाद्ने र अर्कोतिर जनतालाई क्षेत्रीय र जातीय आधारमा भड्काउने कार्य एकै केन्द्रबाट भइरहेको छ । दलाल संसदीय व्यवस्था रहेसम्म जनतालाई फुटाउने र शासन चलाउने खेल चली नै रहनेछ ।’
महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘तसर्थ हाम्रो अपिल छ, दलाल संसदीय व्यवस्थालाई मिल्काएर वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा सवै देशभक्त, लोकतन्त्रवादी र कम्युनिस्टहरू अगाडि बढौँ । देशको शान्ति, स्थिरता र समृद्धि वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।’
जनअधिकार अभियानद्वारा पनि भत्र्सना
जनअधिकार अभियान नेपाल र प्रगतिशील कानुन व्यवसायी एसोसिएससन (पीएलए) ले बुधबार बेग्लाबेग्लै विज्ञप्ति प्रकाशित गरी सप्तरीको मलेठमा सोमबार भएको प्रहरी दमन र प्रदर्शनकारीको मृत्युको घटनाप्रति आपत्ति प्रकट गरेका छन् । जनअधिकार अभियान नेपाल र प्रगतिशील कानुन व्यवसायी एसोसिएससन (पीएलए) का अध्यक्ष एकराज भण्डारीद्वारा जारी विज्ञप्तिमा घटनाको भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘हिजो मिति २०७३।११।२३ गते सोमबार नेकपा (एमाले) को शनिबारदेखि सुरु भएको “मेची–महाकाली अभियान” का क्रममा सप्तरीको मलेठमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागी मलेठ २ का सन्जन मेहता, दिगम्बर यादव, मलेठ ३ का पिताम्बर मण्डल र परसबन्नीका आनन्द साहसमेतका चारजनाको मृत्यु भएको र अन्य दर्जनभन्दा बढी घाइते भएको भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको दुःखद् समाचारप्रति यस जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी सरकारी सुरक्षाकर्मीद्वारा गोली हानी हत्या गरिएकोमा जनअधिकार अभियान नेपाल दुःख व्यक्त गर्दै त्यस्तो कार्यको भत्र्सना गर्दछ । जनअधिकार अभियान नेपाल उक्त घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही र पीडितहरूको औषधोपचार गर्न र उचित क्षतिपूर्ति दिन माग गर्दै नागरिकको वैयक्तिक स्वतन्त्रता तथा बाँच्न पाउने अधिकारको सम्मान एवम् पालना गरोस् भन्ने समेत सरकारसमक्ष माग गर्दछ । आफ्ना राजनीतिक कार्यक्रमहरू शान्तिपूर्ण तवरबाट गर्न पाउनु राजनीतिक दल तथा सङ्गठनको अहरणीय अधिकार हो । साथै, नागरिकको मौलिक हक एवम् अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले निर्दिष्ट गरेको आधारभूत नागरिक तथा राजनीतिक मानवअधिकारसमेत हो । अतः यस्तो अधिकारलाई कसैले पनि निषेध गर्न खोज्नु वा गर्नु कानुन तथा आधारभूत मानवअधिकारको समेत उल्लङ्घन हो । जनअधिकार अभियान नेपाल उल्लिखित राजनीतिक कार्यक्रमलाई बिथोल्नेलगायत यस किसिमको कार्यको घोर भत्र्सना गर्दछ र यस्ता हकअधिकारको प्रत्याभूति तथा सम्मान गर्न सरकार, सुरक्षानिकाय र सम्बन्धित पक्ष सबैको गम्भीर ध्यानाकर्षण गराउँछ । साथै, समग्र राजनीतिक समस्याहरूलाई दमन गर्ने तथा निषेध गर्नुको साटो स्वतन्त्र तथा सार्वभौम राष्ट्र तथा राष्ट्रियतालाई आत्मसात् गर्दै राजनीतिक तहबाटै वार्ता र छलफलबाट समाधान गर्न जनअधिकार अभियान नेपाल सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :