संसदीय चुनाव बहिष्कार मात्र होइन, ध्वस्त पार्ने हो !

संसदीय चुनाव बहिष्कार मात्र होइन, ध्वस्त पार्ने हो !

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

Netra_Bikram_Chand_Biplav

कमरेड, सर्वप्रथम त यहाँलाई बधाई छ आठौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएकोमा ! कस्तो अनुभूति गरिरहनुभएको छ ?
धन्यवाद । सबैलाई जानकारी छ महाधिवेशन भनेको विचार, नीति, आन्दोलन, नेतृत्वको उच्चतम अभिव्यक्ति हुने थलो हो । त्यसले लिने निर्णयले देश र जनताको भविष्यलाई निर्धारण गर्छ । हाम्रो आठौँ महाधिवेशनले त्यस्तै युगीन कार्यभार पूरा गरेको छ । त्यस्तो कार्यभार बोकेका संश्लेषणहरूलाई नेतृत्व दिने जिम्मेवारी मलाई सुम्पिनु जीवनकै अनुपन क्षण हो । यो महाधिवेशनपछि आफ्नो निजी जीवन सकिँदै गएको महसुस गरेको छु । हाम्रासामु देश, जनता र माानव जाति मुख्य बनेको छ । यसका लागि महाधिवेशन, नेता, प्रतिनिधि, पर्यवेक्षक कमरेडहहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।
काठमाडौँ र रोल्पाको थबाङमा सम्पन्न नेकपा (माओवादी) (अब नेपाल कम्युनिस्ट पार्टी) को आठौँ महाधिवेशनका उपलब्धिहरूको संश्लेषण गरिदिनुस् न !
हाम्रो महाधिवेशनले दर्शन, राजनीति, अर्थतन्त्र, सङ्गठन, संस्कृति, अन्तर्राष्ट्र, स्टालिनजस्ता विषयमा महत्वपूर्ण संश्लेषणहरू गरेको छ । जस्तो कि समाज विज्ञान अर्थात् दर्शनमा विकास गर्नुपर्नेमा जोड दिएको छ । राजनीतिमा जनवाद र अधिनायकत्वलाई विकास गरेर वैज्ञानिक समाजवादको निर्माण गर्ने संश्लेषण गरेको छ । साथै साम्राज्यवादको नयाँ विश्लेषण गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण गरेका छौँ । अर्थतन्त्रमा निजी स्वतन्त्रता र समाजवादी नेतृत्वको संश्लेषण ग¥यौँ । सङ्गठनमा आवधिक प्रणालीमा जाने निर्णय ग¥यौँ । संस्कृतिमा केन्द्रीय समितिबाट बिदा लिने कमरेड र पुराना पुस्ताका कमरेडहरूलाई संरक्षण गर्ने नीति पास ग¥यौँ । काम गर्नेलाई पुरस्कृत गर्ने कार्य ग¥यौँ । अन्तर्राष्ट्रिय आन्दोलनमा कमरेड स्टालिन र सर्वहारा सांस्कृतिक क्रान्तिलाई नयाँ उचाइबाट पकड्ने निर्णय लियौँ । यी यस्ता संश्लेषण हुन् जसको प्रभाव हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा मात्र होइन, अन्तर्राष्ट्रिय आन्दोलनमा पनि रहन पुग्नेछ ।
नेकपाका यसअघिका सातवटा महाधिवेशनको ऐतिहासिकताका सिलसिलामा आठौँ महाधिवेशन केकति कारणले ऐतिहासिक बनेको छ ? तपाईंहरूले त यो महाधिवेशनलाई ऐतिहासिक भनेर प्रचारप्रसार गरिरहनुभएको छ नि ?
ठीक भन्नुभयो । हाम्रो महाधिवेशन विगतको भन्दा उचाइमा पुगेको निष्कर्ष हाम्रो छ । त्यसो भनेर विगतका महाधिवेशनहरूका योगदानलाई न्यूनीकरण गरेको होइन । यो महाधिवेशनको महत्व र ऐतिहासिकता उच्च छ भनेको हो । यसको कारण माथि उलेख गरेका संश्लेषणले गर्दा नै हो । हेर्नुस्, हामी निकै फरक विकसित दुनियाँमा उभिएर विगत र वर्तमानका समस्याहरूलाई समाधान गर्ने पहल गरिरहेका छौँ । हाम्रासामु पुँजीवादी दुनियाँको चुनौती मात्र छैनन्, आफ्नै आन्दोलनले पैदा गरेका चुनौतीको पनि सामना गर्नुपरेको छ । हामीले ती विषयमा प्रवेश गर्ने कार्य अघि बढाएका छौँ । जो सामान्य छैनन् तर हामीले प्रवेश गर्नैपर्छ किनकि दुनियाँलाई वैज्ञानिक समाजवाद र साम्यवादतर्फ लैजाने जिम्मा हाम्रो नै छ ।
तपाईंहरू थबाङबाटै ‘जङ्गल’ पस्नुहुन्छ भन्ने चर्चा थियो तर काठमाडौँ नै फर्किनुभयो नि ?
क्रान्तिलाई जङ्गल र मान्छेमा विभक्त गरेर प्रचार गर्ने प्रवृत्ति जनताका वैरीहरूको हर्कत हो । यो प्रचार क्रान्तिलाई जनताबाट अलग गर्ने निकृष्ट कार्य हो । थबाङ जङ्गल होइन र काठमाडौँ मान्छे होइन । हुनत काठमाडौँको कुरा गर्दा पनि शासकहरू थर्किन्छन्, थबाङको कुरा गर्दा पनि थर्किन्छन् । किनकि यी तत्वको मन अपराधले भरिएको छ । उनीहरू के भनेर एक छिन भए पनि क्रान्तिको त्रासबाट राहत पाएको महसुस गर्छन्, त्यही गर्दछन् । हामी त काठमाडौँका जनता र थबाङका जनतालाई एकै लाममा राखेर क्रान्ति सम्पन्न गर्ने विचारमा काम गर्न यसो गरिरहेका छौँ ।
तपाईंहरू महाधिवेशनमै हुँदा सरकारले स्थानीय चुनाव घोषणा गरेको छ । अब तपाईंहरू के गर्नुहुन्छ ?
यो चुनाव कुनै नयाँ होइन । उनीहरूले नै भनिरहेको तर्क हेर्दा २० वर्षदेखि गर्न नसकेको संसदीय व्यवस्थाको स्थानीय चुनाव हो । जनयुद्ध र जनसत्ताहरू देशैभरि चलेको कारणले हुन सकेको थिएन । आज शान्तिप्रक्रियामा माओवादी नेताहरू प्रचण्ड र बाबुरामलाई किनेर, आत्मसमर्पण गराएर त्यही चुनाव गर्न खोज्दैछन् । जुन चुनाव २०५४ साल, २०५६ साल र २०६१ सालमा नै खतम भइसकेका थिए । अर्कोतिर जब शान्तिकालमा काङ्ग्रेस, एमालेले संसदीय व्यवस्था स्थापना गर्ने संविधान पास गरेर सत्ता बनाउन थाले त्यसैबेला आजभन्दा २ वर्षपहिले नै हामीले जनताको सत्ता निर्माण सुरु गरिसकेका छौँ र नेपालमा हाल दुई सत्ता सञ्चालन भएको अवस्था छ । यसबेला यो चुनावको कुनै औचित्य नै छैन । बरु दुई सत्ता सँगसँगै प्रतिस्पर्धामा गइरहेका छन् । उनीहरूले उनीहरूको सत्ताको सञ्चालन गर्नेछन् भने हामी हाम्रै सत्ताको चुनाव गर्दै जानेछौँ ।
जनताले प्रस्ट बुझ्ने भाषामा भनिदिनुस् न आगामी चुनाव बहिष्कार गर्नुहुन्छ कि भाग लिनुहुन्छ ?
यो चुनावको बहिष्कार मात्र होइन खारेज गर्दछौँ ।
सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले त चुनावविरोधीलाई कुल्चन्छौँ भन्नुभएको छ नि ?
दमनले विद्रोह र क्रान्ति जन्माउँछ भन्ने बुझे हुन्छ । बहिष्कार गर्ने र क्रान्ति गर्ने जनताको अधिकार हो । निरङ्कुश र तानाशाहले मात्र दमनमा समाधान खोज्छ । अपसोचको कुरा, दमनको बाटो रोज्ने तानाशाहलाई विद्रोहले लापत्ता गरिदिएको इतिहास साक्षी छ ।
सरकारद्वारा घोषित चुनावका विपक्षमा रहेका शक्तिहरूसँग सहकार्यको सम्भावना छ कि छैन ?
विचार र राजनीति मिल्नुपर्छ, सहकार्य हुन्छ ।
तपाईंहरूले नयाँ सत्ताको कुरा पनि गर्नुभएको छ । नेतृत्व छनोटको जनअधिकारको प्रश्नलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सम्भवतः तपाईंलाई पनि थाहा हुनुपर्छ जनसत्ता सञ्चालन भएको समयमा हामीले जनसत्ता सञ्चालक प्रतिनिधिहरू जनताको प्रत्यक्ष निर्वाचनबाट नै ल्याएका थियौँ । हामीले यसपटकको महाधिवेशनबाट यो विचारलाई संश्लेषणसमेत गरेका छौँ र भनेका छौँ– वैज्ञानिक समाजवादमा पनि सत्ता सञ्चालक प्रतिनिधिहरू प्रत्यक्ष चुनावबाट आउनेछन् । हामीले सञ्चालन गर्ने जनसत्तामा त्यसै गरिनेछ ।
प्रसङ्ग बदलौँ, तपाईंहरूले भारतलाई विस्तारवाद नभनेर साम्राज्यवाद भन्नुभएको छ । यसका आधार केके होलान् ? के अब भारतले विस्तारवादी नीति अख्तियार गर्न छाड्यो त ?
हो, हामीले भारतलाई साम्राज्यवादी मुलुक भनेका छौँ । यसमा निकै ठूलो रहस्य केही छैन । साम्राज्यवाद भनेको आफूभन्दा कमजोर देशलाई राजनीतिक, आर्थिक, भौगोलिक रूपले अतिक्रमण गर्ने, आफूभित्र गाभ्न खोज्ने, खाई पनि हाल्ने देश नै साम्राज्यवादी देश हो । यो चरित्र भारतमा प्रस्ट देखिन्छ । भारतले कास्मिर खायो, गोवा खायो, सिक्किम खायो, मणिपुर खायो । भुटानलाई टुप्पीमा समाएर नचाइरहेको छ र नेपाललाई उठबस गराइरहेको छ भने यो साम्राज्यवादी नै हो । अहिले उसले गरिरहेको आर्थिक, प्राविधिक र सैन्य विकासले पनि यसलाई साम्राज्यवादी वनाएको छ ।
अमेरिकालाई साम्राज्यवाद नभनेर किन उत्तरसाम्राज्यवाद भन्नुभएको ? भारतलाई साम्राज्यवाद भनिसकेपछि अमेरिकालाई केही थपेरै भनौँ भन्ने लागेर त होइन ? केही आधारहरू दिनुहुन्छ कि ?
यहाँ उत्तरसाम्राज्यभन्दा अमेरिकालाई नै हो भन्ने परेजस्तो भयो, त्यो मात्र होइन । सिङ्गो पुँजीवादको विकास बीसौँ शताब्दीको साम्राज्यवादभन्दा पनि नयाँ ठाउँमा पुग्यो भन्ने अर्थमा उत्तर भनिएको हो । कतिपयले यसलाई साम्राज्यवाद सकियो त ? भन्ने गरी सोचेको पनि पाइयो, यो पनि होइन । पुँजीवादले अहिले जस्तो चरित्र ग्रहण गरेको छ त्यो साम्राज्यवादबारे लेनिनले भन्नुभएको विशेषताबाट नयाँ भएको छ भन्ने अर्थमा भनेका छौँ । यसको विशेषतामा हामीले केही चरित्र राखेका छौँ जस्तो कि यो भूमण्डलीकृत छ, निगम पुँजीमा पुगेको छ, अत्यधिक प्रविधियुक्त बनेको छ, समन्वयकारी पनि छ । अब त फर्किंदै अन्धराष्ट्रवादी वा अतिराष्ट्रवादी रूपमा पुगेको छ । यी विशेषता साम्राज्यवादको भन्दा पछि देखिएका विशेषता हुन् । यसलाई उत्तर अर्थात् पछिको भनेका हौँ ।
नयाँ हुने भन्दै क्रान्तिकारी माक्र्सवादबाट पलायन हुँदै गर्ने विरासतको थुप्रोमा उभिनुभएको छ । पार्टी नाममा ‘माओवादी’ पनि छोड्नुभयो । नेकपाले त्यसो गर्दैन भनेर वाम जनमतलाई कसरी आश्वस्त पार्नुहोला ?
यो पनि ठीक प्रश्न गर्नुभयो । नयाँ र वैज्ञानिक नयाँ एकै होइन । हामीले नयाँको मात्र कुरा गरेका छैनौँ, वैज्ञानिक नयाँको कुरा गरेका हौँ । राजनीतिक रूपले संसद्वादमा फर्किनु नयाँ होइन । कुनै पनि बहानामा पुँजीवादभित्र घुस्नु वा समाहित हुनु नयाँ होइन, त्यो पछि फर्किनु वा पुरानो हुनु हो । तर पुँजीवाद वा संसदीय व्यवस्थालाई मिल्काउन अघिसर्नु त्यसका लागि आवश्यक विचार, नीतिको विकास गर्नु वास्तविक नयाँ हो ।
अर्को कुरा पार्टीको नामको विषय छ, यसबारे हामीले चार आधार पेस गरेका छौँ ः १) कम्युनिस्ट पार्टी सिद्धान्ततः एक कम्युनिस्ट पार्टी हो । यो विश्व कम्युनिस्ट आन्दोलनको एक शाखा मात्र भएकाले यसको नाम कम्युनिस्ट पार्टी हुनु नै सही हुन्छ । २) नेपाली कम्युनिस्टहरू धेरै नै विकेन्द्रित भएको स्थितिमा एउटै केन्द्रमा धु्रवीकरण गर्नुपर्ने आवश्यकताले पनि कम्युनिस्ट मात्र राख्दा राम्रो हुने भयो । ३) माओवादीहरूलाई विभिन्न समूहका रूपमा व्याख्या गर्दै सङ्कुचित गरेर जनतामा असफलता र कमजोरको भाव दिन खोज्ने समस्यालाई असफल पार्न पनि कम्युनिस्ट पार्टी मात्र राख्नु उचित छ । ४) माओवादीको एउटा हिस्सा कम्युनिस्ट विचार र आदर्शबाट विचलित भएर जनता र देशलाई धोका दिँदै बदनाम हुन पुगेको स्थितिमा नाम फेरेर कम्युनिस्ट पार्टी मात्र राख्नु उचित छ । यही सत्य जनतामा हामीले पु¥याउनुपर्छ ।
तपाईंले हिजोआज राष्ट्रियताको कुरा गर्दा बीपी र सन यात्सेनको सन्दर्भ उठाउने गर्नुभएको छ । तपाईंलाई ती पात्रले किन प्रभावित पारिरहेका छन् ?
सन यात्सेन चीनका जनवादी (प्रजातन्त्रवादी) नेता हुन् । उनले चिनियाँ जनताको जनवादी अधिकार, पुँजीवादी उन्नति र चीन देशको स्वाधीनताका लागि इमानदारीपूर्वक सङ्घर्ष गरे र तीनजन सिद्धान्त विकास गरे, उनले जनता र देशको हितमा कम्युनिस्ट पार्टीसँग मिलेर मुक्ति अभियानलाई अगाडि बढाउन तयार भए । वास्तवमा जनवादी नेता हुँदा कम्युनिस्टसँग सहकार्य गर्न कुनै समस्या भएन । माओले उनको निकै प्रशंसा गर्नुभयो । च्याङ्काई सेकले जनतालाई धोका दिएर दलालीकरणमा फसे पनि सन यात्सेनको नीतिअनुसार देशभक्त कोमिङताङ पार्टी सन यात्सेनकी श्रीमतीको नेतृत्वमा गठन गरेर कम्युनिस्टसँग सहकार्य गर्ने वातावरण माओले बनाउनुभयो । नेपालमा बीपी राष्ट्रियता र जनतन्त्रको हकमा अन्य प्रजातन्त्रवादी भनिने नेताभन्दा माथि देखिन्छन् । खासगरी प्रधानमन्त्री भएको मान्छे जेल बस्न तयार भए तर प्रजातन्त्र चाहिन्छ भन्न छोडेनन् । अर्को भारतमा निर्वासित हुँदा भारतका शासक वर्ग त्यसमा पनि इन्दिरा गान्धीले हेपेपछि र अनेक सर्त लाद्न खोजेपछि बरु राजासँग सम्झौता गरेर त्यहीँ मर्छु तर भारतको स्वार्थमा फस्दिनँ भन्ने लक्ष्य राखेर उनी नेपाल प्रवेश गरे । यी दुईवटा कुरा अलि महत्वपूर्ण छन् आजको सन्दर्भमा पनि यस अर्थमा मैले उल्लेख गरेँ । आज वास्तविक प्रजातन्त्रवादी जो देश र जनताप्रति इमानदार होस्, हुँदा हाम्रो बीचमा नयाँ सम्बन्ध भएर देशलाई निकास दिन मद्दत पुग्नेछ भन्ने अर्थमा भनेको हो ।
यहाँहरूले कम्युनिस्ट र राष्ट्रवादी शक्तिको संयुक्त मोर्चा बनाउने कुरा गर्नुभएको छ । यहाँहरूले राष्ट्रवादी भनेर कसलाई भन्न खोज्नुभएको हो ?
खासगरी चारवटा क्षेत्रमा रहेका देशभक्त शक्तिहरूलाई हामीले भन्न खोजेका हौँ ः १) सबै पार्टीहरूभित्र र राजनीतिक क्षेत्रमा रहेका इमानदार देशभक्त शक्ति २) कर्मचारीहरूभित्र रहेका इमानदार व्यक्तिहरू ३) सेना र प्रहरीभित्र रहेका देशभक्त शक्ति ४) उद्योगी, व्यवसायीभित्र रहेका इमानदार देशभक्त शक्ति । यी क्षेत्रबाट एक भएर अगाडि आएमा हामी निकै माथि पुग्न सक्छौँ भन्ने विश्वास गरेका छौँ र यो सम्भव पनि छ ।
कुनै दल वा शक्तिप्रति सङ्केत गर्न खोज्नुभएको हो कि ?
होइन, कुनै दलतिर मात्र भन्न खोजेको होइन । यसो त कम्युनिस्ट पार्टीहरूसँग हाम्रो राम्रो छलफल चली पनि रहेको छ ।
भारतीय माओवादी आन्दोलनका सन्दर्भमा यहाँको धारणा ?
भाकपा (माओवादी) भारतका कम्युनिस्टहरूको पार्टी र अग्रदस्ता हो । यो कुनै पनि कम्युनिस्टका लागि भाइचारा महत्व राख्ने पार्टी हो । यसले सञ्चालन गरिरहेको जनयुद्ध श्रमिक जनताले चलाएको मुक्तियुद्ध हो । यो भारतीय जनताको मुक्ति र नयाँ जनवाद, वैज्ञानिक समाजवादसँग सम्बन्धित छ । यसप्रति हाम्रो पूर्ण समर्थन छ ।
स्टालिनको पुनर्मूल्याङ्कन किन गर्नुभएको ?
यो महत्वपूर्ण प्रश्न गर्नुभयो । स्टालिन एक महान् कम्युनिस्ट नेता, लेनिनका सहयोद्धा र समाजवादी सत्ताका संस्थापक हुनुहुन्थ्यो । तर पछिल्लो समयमा उहाँमाथि कम्युनिस्ट नै नभएका भन्दै जुन हमला भयो र त्यसैको प्रभावमा परेर क्रान्तिकारीहरूले पनि स्टालिनबारे गलत सोचाइ बनाउन थाले त्यसलाई समाधान दिन हामीले यो मूल्याङ्कन गरेका हौँ । यसमा हामीले दुईवटा कुरा अलि नयाँ उठाएका छौँ ः एउटा, माओले एउटा सन्दर्भमा स्टालिनबारे गरेको ३० प्रतिशत कमजोरीको तर्कलाई अरूले गरेको दुरूपयोग र दोस्रो, लेनिनले १२ औँ महाधिवेशनलाई लेखेको स्टालिनलाई महासचिव नबनाउनू भन्ने भावको पत्र । यी दुई कुराले पनि स्टालिनको योगदानमाथि प्रहार गर्ने ठाउँ दिए कि भन्ने हो ।
परिवर्तित सन्दर्भमा थबाङमा महाधिवेशन गर्नुभयो । हिजोका आधारइलाका, जनकम्युन, हिजोका जनसत्ता र तपाईंहरूले अहिले घोषणा गरेका जनसत्ताहरूका बारेमा केही बताइदिनुस् न !
हामीले थबाङमा जनयुद्धभित्रै राष्ट्रिय सम्मेलन गर्ने भनेर डाँडै काटेर सम्याएका थियौँ तर त्यो पूरा हुन पाएको थिएन । अर्को, थबाङ नेपाली कम्युनिस्ट आन्दोलनको विशिष्ट भूमि र आदर्श भनेको ठाउँ हो । यसलाई नमुना गाउँ बनाउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । तेस्रो, थबाङ आज पनि जसरी क्रान्तिका पक्षमा दृढतापूर्वक उभिएको छ यसलाई आदर्शीकरण गर्नुपर्छ भन्ने लाग्यो । आज हामी नेतृत्वमा आएपछि थबाङलाई केन्द्रित गरेर कार्यहरू सञ्चालन गर्न कसैले रोक्दैनन् भने किन नगर्ने भन्ने हाम्रो निष्कर्ष रह्यो र हामीले आठौँ महाधिवेशन थबाङमा गर्ने निर्णय ग¥यौँ ।
जनयुद्धको कठिन कालमा खडा गरेका कम्युन, सहकारी आदिलाई शान्तिकाल आएपछि प्रचण्डले धोका दिए । उनले एक्लै विघटनको वक्तव्य दिएर समस्या पारे तर ती आज पनि कुनै न कुनै रूपमा जीवित छन् । हामी युद्धकाल र शान्तिकालका नयाँ शिक्षासहित ती क्षेत्रलाई पुनर्सङ्गठित गर्ने सोचाइमा छौँ ।
सबै पार्टीहरूमा पदप्रतिष्ठाका लागि मारामार चलिरहेको बेला र भीमकाय केन्द्रहरू बनाइरहेको बेला तपाईंहरूले यति सानो र दुरुस्त केन्द्रीय समिति कसरी बनाउन सक्नुभयो ?
यो एक दृष्टिकोणको सवाल हो । सामान्यतः केन्द्रीय समितिबाट सेवा गर्ने इच्छा नेताहरूमा हुनेलाई स्वाभाविक रूपमा लिनुपर्छ तर हामी कम्युनिस्टहरूले के बुझेका छौँ भने सबैभन्दा महान् कुरा कम्युनिस्ट बनेर क्रान्तिको सेवा गर्नु हो । हामीले एक कुनै जिम्माबाट सम्पूर्ण रूपले जनता र देशको हितमा योगदान गर्न पाइन्छ भने त्यो नै मुख्य कुरा हो । कमिटी मात्र ठूलो बनाएर जिम्मेवारीविहीन र अर्थविहीन हुनु भनेको कम्युनिस्टभित्रको ऊर्जालाई खेर फाल्नु हो । जब कि त्यही क्षमता ठोस काममा निकै नै उपयोगी हुन सक्छ । हाम्रो पार्टीमा यो विचार प्रबल छ र हामीले कार्यकर्ता र नेताहरूको भावनाअनुरूप निर्णय गरेकाले यो दुरुस्त कमिटी बन्न सकेको हो । फेरि युवाहरू मेहनत गर्दै गर्दा उनीहरूले नै ढिलोचाँडो जिम्मेवारी पाउने हो ।
काम गर्नेलाई पुरस्कार पनि दिनुभयो भन्ने छ नि, के हो ?
ठीक भन्नुभयो, हामीले यो महाधिवेशनबाट निरन्तर इमानदारी साथ विशिष्ट काम गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेका छौँ । पुरस्कृत पनि ग¥यौँ । यो कम्युनिस्टहरूले गर्नैपर्ने कार्य थियो, हामीले सुरु गरेका छौँ । यसले युवकयुवतीमा स्वच्छ विकासको वातावरण बन्छ । त्यस्तै गल्ती गर्नेलाई हामी सजाय पनि गर्छौं । त्यो पनि सुरु भएको छ ।
पार्टी केन्द्रीय समितिबाट बिदा लिनेलाई पनि भरणपोषण गर्ने नीति बनाउनुभएको हो र ?
हो, हामीले कम्युनिस्ट आन्दोलनमा विशेष योगदान गर्ने अग्रज र सम्मानित कमरेडहरूलाई भरणपोषण गर्नुपर्छ भन्ने निर्णय गरेका छौँ । यो लागू पनि गछौँ । हो, यो हाम्रै सापेक्षतामा लागू हुन्छ । यो कम्युनिस्ट संस्कार हो । यसले ठूलो हेरफेर ल्याउने सोचेका छौँ ।
सहिद, बेपत्ता योद्धाहरूको स्मृतिमा पनि केही नयाँ गर्नुभयो कि ?
हो, हामीले सहिद, बेपत्ता योद्धाहरूको सामूहिक प्रतीक बनाउने निर्णय गरेका छौँ जो देशैभरि राख्न सकियोस् । यो हामी केही महिनाभित्रै पूरा गर्छौं ।
केन्द्रीय समिति बैठक बस्दै हुनुहुन्छ, नयाँ कार्यक्रम के सोच्नुभएको छ ?
ठीक भन्नुभयो । हामी केन्द्रीय समितिको बैठक बस्दैछौँ र यसबाट केन्द्रीय स्तरको अभियान सञ्चालन गर्ने निर्णय गर्ने सोच्दैछौँ । यो अभियान मुख्यतः चुनावको भण्डाफोर गर्ने, जनजागरण ल्याउने र जनतालाई क्रान्तिका पक्षमा गोलबन्द गर्ने उद्देश्यमा केन्द्रित हुनेछ ।
अन्तरवार्ता गर्दागर्दै मधेसको सप्तरी राजविराजमा गोलीकाण्ड भयो र जनताहरू मारिए । यसबारे के धारणा छ ?
यो निकै दुःखद् कुरा हो । राज्य र संसद्वादी दलहरूको गलत विचार र कार्यका कारण जनताको क्षति भयो । काठमाडौँका दलालहरूले जबर्जस्ती दलाल संसदीय व्यवस्था लाद्ने गल्ती गरेका छन् भने मधेसवादी दलहरूले श्रमिक जनताको राज्यसत्ताको कुरा छोडेर केवल मधेस र केही जिल्लाको सिमानाको कुरा मात्र गरेर जातीय एवम् क्षेत्रीय भावना भड्काउने कार्य गरेका छन् । यी दुवै कुरा गलत छन् । जेसुकै भए पनि जनतामाथि जुन दमन भयो यो गलत भएको छ ।
यसको सही समाधान कसरी होला ?
हामीले दलाल संसदीय व्यवस्थाको संविधान लेख्दा नै भनेका थियौँ– यसले देशलाई शान्ति र स्थिरता दिनेछैन । मधेसलाई मात्र होइन, कुनै पनि उत्पीडित वर्ग र समुदायलाई मुक्ति दिनेछैन । नेपाल उत्पीडित हुने, मधेस मुक्त हुने यो सम्भव हुने कुरा होइन । नेपाली जनता दलाल संसदीय व्यवस्थाको उत्पीडनमा रहने र मधेसी मात्र मुक्त हुने कुरा सम्भव छैन । मुक्त हुँदा सबै नेपाली प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट मुक्त हुने हो, नहुँदा कोही पनि नहुने हो । आखिर भयो त्यस्तै । अब बुझ्नुपर्छ, यसको समाधान भनेको संसदीय व्यवस्थालाई सदाका लागि मिल्काउनु र नेपाललाई जनवादी गणतन्त्र र वैज्ञानिक समाजवादतर्फ प्रवेश गराउनु हो ।
के तपाईंहरू यो क्रान्तिको नेतृत्व गर्न तयार हुनुहुन्छ ? तयार भए कुनकुन शक्तिसँंग मिलेर गर्नुहुन्छ ?
सही कुरा गर्नुभयो । हो, हामी यो राज्यसत्ताविरुद्ध नयाँ जनवादी एवम् वैज्ञानिक समाजवादी क्रान्तिको नेतृत्व गर्न तयार छौँ । तयार मात्र होइन, गरिछाड्नेछौँ । हाम्रो स्पष्ट नीति छ, यो क्रान्तिमा उत्पीडित वर्ग, जाति, समुदाय, देशभक्त शक्ति, लोकतन्त्रवादी शक्ति र वैज्ञानिक समाजवाद मान्ने कम्युनिस्टहरूसँग मिलेर गर्नेछौँ । अब यथास्थितिमा घुमेर समस्या समाधान गर्ने आधार छैन । राजनीतिक व्यवस्था निर्माणमै नयाँ आधार निर्माण गरेर नयाँ एकता र नयाँ समाधान गर्नुपर्छ । त्यो भनेको वैज्ञानिक समाजवाद नै हो । बरु यसका लागि नयाँ कर्याविधि सोच्न सकिन्छ ।
नयाँ कार्यविधि भन्नाले ? यो त नयाँ तर्क भयो नि ?
हो, नयाँ कार्यविधि । जस्तो कि जनमत व्यक्त गर्ने कुनै विधि । संविधानसभा वा संसद्भन्दा माथि जसले जनताको जनादेश व्यक्त गर्न सकोस् ।
रातो खबरमार्फत हाम्रा पाठकहरूलाई विशेष सन्देश छ कि ?
रातो खबरले क्रान्तिको बेला हतियारले गर्ने कामजस्तै महत्वपूर्ण काम गरिरहेको छ । यो जनताका वैरीविरुद्ध सङ्घर्ष गर्ने सशक्त साधन हो । यो साधन जति सकिन्छ जनताको हातमा पुगोस् । यही शुभकामना !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :