चुनावको पूर्वसन्ध्यामा भीआईपी लक्षित आक्रमण

काठमाडौं : पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा देशैभर भीआईपी लक्षित बम आक्रमण भए । प्रधानमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानका लागि कालीकोट पुगेको बेला उनी लक्षित आक्रमण भयो । नेपाल कम्युनिस्ट पार्टीको अत्यधिक प्रभाव रहेको मानिने कालीकोटको मालकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेको बेला नजिकै शक्तिशाली बम विस्फोट गराइएको थियो । विस्फोटपछि भागदौड मच्चिँदा सभा नै बिथोलिएको थियो । विस्फोट कसले गराएको भन्ने एकिन नभए पनि चुनाव खारेजी अभियानमा रहेको नेकपाले गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ताहरूलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्नू र जेल हाल्नू भनी देउवाले सुरक्षा निकायलाई निर्देशन दिएको पृष्ठभूमिमा यो आक्रमण भएको थियो ।

उता पूर्वमा नेकपा एमालेका अध्यक्ष एम्ं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि बम आक्रमणमा परेका छन् । ओलीको झापास्थित पुख्र्यौली घरमा बम विस्फोट भएको हो । विस्फोटका कारण घरको पूर्वी गेटमा क्षति पुगेको प्रहरीले बताएको छ । ओलीले सञ्चारमाध्यममा नेकपाको चुनाव खारेज अभियानतर्फ लक्षित गर्दै ‘विप्लव भाइ, बरु गाउँका बिरामीलाई डोकोमा हालेर काठमाडौँ पु¥याऊ तर बम नपड्काउ’ भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति दिइरहेको बेला उनको घर लक्षित विस्फोट भएको हो ।

यता उपत्यकाभित्रै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमै बम फेलाप¥यो । निर्वाचनको अघिल्लो दिन ललितपुरको धापाखेलमा रहेको यादवको घरमा फेलापरेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । उता जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका राजेन्द्र महतोको घर लक्षित बम विस्फोट भएको छ । शनिबार राती भएको उक्त विस्फोटबाट कुनै मानवीय क्ष्ाित भने नभएको प्रहरीले जनाएको छ । सोही पार्टीका अर्का नेता शरतसिंह भण्डारीको घरमा पनि बम विस्फोट भएको छ ।

राज्यमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता शम्भुलाल श्रेष्ठको घरमा पनि शनिबार राति बम विस्फोट भयो । सर्लाहीमा रहेको श्रेष्ठको घरमा भएको बम विस्फोटबाट घरको बाहिरी पर्खाल ढलेको छ । गएको स्थानीय चुनावताका पनि श्रेष्ठले सञ्चालन गरेको क्रसर उद्योगमा बम विस्फोट हुँदा करोडौँको क्षति हुन पुगेको थियो । काङ्ग्रेसका मकवानपुर सभापति तथा पूर्वगृहराज्यमन्त्री समेत रहेका इन्द्र बानियाँको चुनाव प्रचारप्रसार समितिको कार्यालयमा पनि बम विस्फोट भयो । विस्फोटका कारण कार्यालय भवनमा क्षति पुगेको बताइएको छ ।

उता माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका वर्षमान पुन लगातार ३ पटक बम आक्रमणमा परेका छन् । रोल्पाका नेकपाका कार्यकर्ताहरू पक्राउ गर्न उर्दी गर्ने र सञ्चारमाध्यममा नेकपाविरुद्ध चर्को शैलीमा अन्तरवार्ता दिएपछि लगातार नेकपा समर्थित स्थानीय युवाको लखेटाइमा परेका हुन् । माओवादी केन्द्रकै अर्का नेता डिलाराम आचार्यको घरमा पनि बम प्रहार भएको छ । रूपन्देहीको बुटवलमा रहेको आर्चायको घरमा प्रहार भएको बम नेपाली सेनाले डिस्पोज गरेको हो । स्रोत : रातो खबर साप्ताहिक
मंसिर १३

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :