एउटा विद्रोह ज्यापुनीहरूको : ज्यापु

सामन्तहरूको शोषण र उत्पीडन बढ्दै गएर जब चरम सीमामा पुग्न थाल्छ त्यसबेला कातर पिछडिएकाहरूमा पनि रगत उम्लिन्छ र विद्रोहको भावना जाग्न थाल्छ । यस्तै एउटा विद्रोह ज्यापुनीहरूले पनि साहसपूर्वक गरेका थिए । पहिले पनि भनिसकिएको कुरो हो– मेरा बा भोटे ज्यापु साधारण किसान थिए र जग्गाधनीको अर्थात् तल्सिङको खेतमा श्रम लगाएर उत्पादित बाली तल्सिङलाई बुझाई बचेको केही उब्जनीमा नै निर्भर रही जीवन गुजारा गर्ने गर्थे । यसरी सामन्तहरूको शोषणबाट हैरान भएका र २००७ सालको राजनीतिक जागरणको हावाले पनि प्रभावित भएको हुँदा उनी अनपढ किसान भएर पनि राजनीतिमा अलिअलि चाख राख्थे । तर मेरा हजुरबाजे भने पुरानै विचारका, तल्सिङलाई देउता मान्ने र आफ्नो परम धर्म मान्ने इमानदार मोही थिए । यही कारणले गर्दा बेलाबेलामा बाले तल्सिङको शोषणको विरोध गर्न खोज्दा हजुरबाजे पाप सम्झेर गाली गर्नुहुन्थ्यो र दुवैको बीच ¥याङठ्याङ मिल्दैनथ्यो । यस्तैमा एउटा विद्रोहको घटना हुन पुग्यो ।

हाम्रो छिमेकी घरमा इमानसिंह गुरुङ नाम गरेको एकजना मानिस डेरा गरी बस्थे । उनी २००७ सालको क्रान्तिमा इमानदारीपूर्वक अदम्य साहसका साथ भाग लिएका योद्धा थिए । नेपाली काङ्ग्रेसको झन्डामुनि रहेर नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको पर्वाह नगरी लडेर क्रान्ति गर्दागर्दै नेपाली काङ्ग्रेसले दिल्ली सम्झौता गरी राणाहरूसँग हात मिलाइदिएको हुँदा उनी उक्त क्रान्ति असफल भएको ठानी निराश भएर काङ्ग्रेस पार्टीबाट विद्रोह गरी बाहिर निस्केका थिए । इमानसिंह गुरुङको र मेरा बाको विचार र दृष्टिकोण मिल्ने र राम्रो पनि थियो । क्रान्ति असफल भएको हुँदा उनमा नैराश्य आयो र उनी दिनहुँ जाँड र रक्सीमा लट्ठिन थालेका थिए । मेरा बा पनि जाँडरक्सीमा मात्तिने मतवाली भएका हुँदा दुवै खूब मिल्थे । उनी अक्सर हाम्रो घरमा आई नै रहन्थे । उनको कुरागराइ अत्यन्त राम्रो, सुनिरहुँजस्तो लाग्ने थियो । त्यसैले म स्वाँथ्यामा (तमाखु खाने एक प्रकारको हुक्का जस्तो भाँडो) मा तमाखु भरेर ल्याइदिन्थेँ र उनीहरूका कुरा सुनिरहन्थेँ । तमाखु खाएर धुवाँ उडाउँदै जीवनका उकालाओरालाहरूको गफ गरिरहेको चाख लिएर रमाइलो मानी सुन्थेँ । तर कहिलेकहीँ भने उनीहरूका कुरा बुझ्नै नसकिने हुन्थ्यो । तर पनि सारांशमा देश र नेपाली जनता ओरालो लागिरहेको छ भन्ने कुरा बुझ्थेँ ।

त्यतिखेर अखिल नेपाल किसान सङ्घ जन्मेको थिएन । काठमाडौँमा उपत्यकामा किसानहरूको भ्याली कमिटी थियो । भ्याली कमिटीबाट थालनी भएर काठमाडौँको किसान आन्दोलन विकसित हुँदै थियो । त्यसबेला किसान फाँटमा शम्भुराम श्रेष्ठ र गौरीभक्त प्रधान हुनुहुन्थ्यो । त्यसताका अधिराज्यको ठाउँठाउँमा किसान आन्दोलनहरूको थालनी भइरहेको थियो । आन्दोलन चर्कंदै गएर यसले रौतहटमा उग्र रूप लियो । त्यसको लगत्तै पछि काठमाडौँका किसानहरूलाई साक्षर बनाउने हेतुले किसान सङ्घ र ठाउँठाउँमा किसान स्कुल खोलिएको थियो । त्यसका अतिरिक्त पौढहरूलाई पढाउन ज्याठा टोलमा प्रौढ कक्षाको व्यवस्था पनि गरिएको थियो । उक्त स्कुल सञ्चालनको खातिर ठमेलका न्हुछे महर्जन र भिन्चा सानुहरू धेरै सक्रिय थिए ।

मेरा पिताजी पनि निरक्षर नै हुनुहुन्थ्यो । त्यसैले एक दिन टन्टलापुर घामको पर्वाह नगरी खेत खन्दै काम गरिरहेका पिताजीकहाँ न्हुछे काका आइपुगे । त्यसबेला म त्यही छाप्रोभित्र घाम छलेर बसिरहेको थिएँ । न्हुछे काकाले भोटेदाइ भन्दै बासँग कुरा गर्नुभयो । अनि बाले मलाई तमाखु भर्न अह्राउँदै कुराकानी गर्नुभयो । मैले बाको आज्ञाबमोजिम स्वाँथ्यामा तमाखु भरेर दिई ती दुईको कुरा सुन्न लागेँ । कुराकानी यसप्रकार चल्यो ः बाले भन्नुभयो– ‘आज के कुराले आयौ तिमी ? मलाई हतार छ । यहाँ चाँडै खेत खन्ने काम सकेर भगवानबहालको घाँस उखेल्न जानु छ । चकद्यःको जात्राका लागि त्यहाँ सफा गर्नुछ । होइन भने गाली खानुपर्ने हुन्छ । अझ सजायसमेत भोग्नुपर्ने हुन्छ । हामी रैतीहरूले चकद्यःको जात्रामा बाजा बजाउने, द्यौता बोक्ने आदि काम गरेर द्यौतालाई नगर परिक्रमा गराउनुपर्छ ।’ यसपछि पसिना पुछ्दै स्वाँथ्या तानेर बा आलीमा बस्नुभयो । अनि न्हुछे काकाले भने, ‘हेर भोटे दाइ, तिमी पनि किसान स्कुलमा पढ्न हिँड । किसानहरूका लागि भनेर स्कुल खोलिएको छ ।’ बाले भन्नुभयो, ‘हामी किसानहरूले खेतमा काम गरेर त्यसको भरमा परिवार पाली जीवन गुजारा गर्नुपर्ने भएकाले खेतीको काम छोडेर अक्षर पढ्नेतिर लाग्यौँ भने जीवन कसरी चल्छ ? परिवारको के गति होला ?’ अनि न्हुछे काकाले भने, ‘हेर भोटे दाइ ! तिमी एकपटक त्यहाँ गई हेर । त्यहाँ पढाइका साथै देशविदेशका किसानहरूका कुराहरू पनि सिकाइन्छ र सामन्तहरूको शोषणबाट मुक्ति पाउन केकस्तो गर्नुपर्छ भन्ने कुरा पनि सिकाइन्छ । खेतीपातीको काम सकेर बेलुकातिर जाने त हो नि ।’

यो सुनेर मेरा बा निद्राबाट बिउँझेझैँ झस्कनु भएको म अहिले पनि झल्झली सम्झन्छु । यसरी किसानहरूमा चेतना जगाउन अखिल नेपाल किसान सङ्घले स्कुलसमेत खोलेर शिक्षा दिई तिनीहरूलाई सङ्गठित पार्ने काम गरिएको थियो । हुँदाहुँदै मङ्सिर महिना आइपुग्यो । खेतमा पहेँलो धानबाली लहलहाएको बेला किसानहरूको अनुहार हँसिलो देखिनु स्वाभाविकै थियो । किसानहरू बडो उत्साहित थिए । एकदुई दिन बिराएर खेतमा बालीको रेखदेख गर्न जान्थे । कतै पानी जमेको रहेछ भने बाली कुहिएला भनेर पानी पन्छाउने तरखरमा लाग्थे । त्यतिबेला पानी जमेका खाल्टाहरूमा पोडेहरू माछा पक्रँदै मालाजस्तै उन्दै लिएर बजारमा बेच्न जान्थे ।

त्यसबेला हाम्रो घरमा कसैलाई पनि फुर्सद भनेको हुँदैनथ्यो । धान काटेर बाली भित्र्याउने, त्यसपछि कालीमाटी निकाल्न जग्गा छनोट गरी काम थालिहाल्ने योजना बन्थ्यो । २५ देखि ४०/५० सम्म जवानहरू कालीमाटी निकाल्न जम्मा हुन्थे । मेरा हजुरबाजेचाहिँ कालीमाटी निकाल्ने टोलीका नाइके हुनुहुन्थ्यो । त्यसैले त्यसको तयारीका लागि घरका बज्यै, आमा र भाउजूहरू दिनरात एक गरेर लागिरहन्थे । जाँड–रक्सी पार्ने, चिउरा कुट्ने आदिआदि थुप्रै काम आइमाईहरूले गर्नुपथ्र्यो । हामी पनि उहाँहरूलाई सघाउन पानी बोकेर ओसार्ने, ढिकी कुट्ने, चुलोमा बसेर आगो बालिदिने आदि सानातिना कामहरू गरिदिन्थ्यौँ । त्यस्तै लोग्नेमान्छेहरू हँसिया, कोदाली आदि समाल्ने कामतिर तल्लीन रहन्थे । यसरी सारा किसानहरू व्यस्त रहेकै मङ्सिर महिनाको समयमा अकस्मात् ठूलो असिना परेको थियो । हामी अबुझ केटाकेटीहरू असिना परेकोमा रमाएका थियौँ । असिना डल्लो पारेर हिर्काउँदै सडकमा खेलेका थियौँ । तर त्यस असिनाले खेतको सारा बाली नष्ट पारिदिएको थियो । घरमा रुवाबासी नै चलेको थियो । त्यत्रो श्रम लगाएर फलाएको बाली सर्वनास भएको थियो । मेरा हजुरबाजे नुन खाएको कुखुरोजस्तै निन्याउरो मुख लिएर निहुरिरहनुभएको थियो । बुढाको ढाडै भाँचिएको जस्तो भयो । धानबानी भित्र्याएर तल्सिङलाई तिरी नातिहरूको व्रतबन्ध गर्ने उनको सपना चकनाचुर भएको थियो । खेतमा असिनाले झारेको धान भए पनि टिपेर जम्मा गर्ने आशाले डालो, कुचो बोकी हामी खेतमा गएका थियौँ । केही भित्र्यायौँ पनि । त्यस साल किसानले भन्दा शिला खोज्ने र माछा मार्ने पोडे कुचीकारहरूले बढी धान भित्र्याएका थिए । खेतमा त टुँडीखेलमा भेडा–च्याङ्ग्राजस्तै शिला खोज्नेहरूको ताँती नै थियो । धान काटेर भित्र्याई आनन्द लिने सपना बोकेका हामीहरू त हे¥याहे¥यै भएर पक्क परिरहेका थियौँ ।

मेरा हजुरबाजेको एउटै मात्र पिर तल्सिङलाई बाली तिर्न नसकिएला भन्ने थियो । धानबाली सोत्तर भएपछि त उहाँको हंसले ठाउँ छोडिसकेको थियो । सुर्ताले खान पनि छोडिसक्नुभएको थियो । तल्सिङलाई बाली तिर्न सकिएन भने पाप लाग्छ भन्ने डरले उहाँलाई पिरोलेको थियो । त्यसबेला सरकारले उपत्यकाका किसानहरूलाई त्यस सालको धानबाली मिनाहा गरिएको उर्दी सुनायो । त्यस उर्दी सुनेपछि बल्ल हजुरबाजेको सास फर्केको जस्तो भयो र हिँडडुल गर्न थाल्नुभयो । नत्र त भगवानबहालको बुद्ध भगवान्को दर्शन गरेर पुकारा नगरी भातै खानुहुन्नथ्यो । बुढालाई ठूलो भारी बिसाएजस्तै भयो । तर केही समयपछि विक्रमशील महाबिहारका प्रधानहरूले ‘दगु’ अर्थात् बिहारका सिपाहीहरू पठाएर सबै रैतीहरूलाई पक्रेर लगे र यसपालिको बाली अर्को सालमा भए पनि तिर्नुपर्छ भनी कबुलियतनामा लेखाउन थाले । कबुलियत नगर्नेलाई बिहारको चिसो छिँडीमा थुन्न थाले । खेतमा उब्जनी नै नभएको बाली कसरी तिर्ने भन्ने किसानहरू बिहारमा थुनामा परेछन् । मेरा हजुरबाजे पनि थुनिनुभयो । सरकारले नै माफी दिइसकेको बाली हामी कसरी तिर्न सकौँला भनी हजुरबाजे पनि कस्सिनुभएछ । त्यसैले उहाँ पनि थुनिनुभयो । ती थुनिएका रैतीहरूलाई ढिक्के नुन र चिउरा ख्वाई थुनेका रहेछन् ती सामन्त शोषकहरूले ।

त्यसपछि ती थुनिएका किसानहरूका स्वास्नी र बालबच्चाहरू प्रधानहरूकहाँ गई रोइकराई अनुनयविनय गर्दा पनि ती सामन्तहरूको मन पग्लिएन । उल्टो ती आइमाईहरूलाई समेत थुनिदिने धम्की दिन थालेछन् । अनि सोझो औँलाले घिउ निस्किँदैन भन्ने कुरा बुझेर ज्यापुनीहरूको एक जत्था गई जबर्जस्ती ती थुनिएकाहरूलाई निकाल्ने योजना बनाउन लागे र आक्रमण नै गर्न गए । तर दगुहरू र पुलिसहरूको संयुक्त टोलीले आइमाईहरूलाई पिटपाट गरी पठाइदिएछन् । यो कुरा मेरी फुपू बज्यै छ्याक अजीले थाहा पाइन् । उनी अति खरो र रिसाहा स्वभावकी थिइन् । उनी निडर पनि थिइन् । रिस उठेपछि त उनी रणचण्डी नै बन्थिन् । त्यसैले उनले सबै रैतीहरूलाई जम्मा गरी आआफ्ना घरमा भएका हतियारहरूसमेत लिएर गई हमला नै गर्न पुगिन् । म केटाकेटी अवस्थाकै भए पनि पछिपछि लागेर हेर्न गएको थिएँ । ती आक्रोशित ज्यापुनीहरूको अगाडि दगु र सिपाहीहरू टिक्न सकेनन् र बिहारको आँगनमा रहेको खोरमा तोडफोड गरी बन्दीहरू सबैलाई छुटाएर ल्याए । धेरै दिनसम्म चिसो छिँडीमा जाकिएका हुँदा मेरा हजुरबाजे सेता फुस्रा भई हिँड्नै नसक्ने भइसक्नुभएको थियो । ती बन्दीमध्ये एकजना हकमान ज्यापु त केही दिनपछि चिसो लागेको कारणले मरेका थिए ।
यसरी सामन्त–शोषकहरूको नियत अत्यन्त नीच र घिनलाग्दो हुन्छ भन्ने यो एउटा नमुना नै थियो । साथै विद्रोहको उत्पत्ति बाध्यताबश कसरी हुनसक्छ भन्ने उदाहरण पनि यस घटनाबाट बुझ्न सकिन्छ । स्रोत :रातो खबर साप्ताहिक

मंसिर १३

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!