युरोपबाट राजबन्दी रिहाईको माग

काठमाडौं : युरोपमा रहेका प्रवासी नेपालीहरुले नेकपाका नेताकार्यकर्ता तथा शुभचिन्तकहरुलाई यथाशिघ्र रिहाईको माग गरेका छन् । उनीहरुले मंसिर १६ गते (३० नोभेम्बर २०१७) संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख तमु, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगलका संयोजक इन्द्र न्यौपाने, नेपाली जनप्रगतिशील मोर्चा,स्पेनका संयोजक इश्वर शर्मा, नेपाली जनप्रगतिशील मोर्चा,अष्ट्रियाका संयोजक बुद्धी तामाङ, नेपाली जनप्रगतिशील मोर्चा युरोपका महासचिव तथा नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्डका संयोजक सुवर्णबाबु सापकोटा, नेपाली जनप्रगतिशील मोर्चा, बेलायतका संयोजक टिएन रिजाल र नेपाली जनजाती सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्गले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सो मााग गरेका हुन् । विज्ञप्तिको पूर्णपाठ – सरकारलले कथित लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान कार्यान्वयनको हवाला दिंदै सम्पन्न भइरहेको स्थानीय निर्वाचन, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गरिरहेको छ । सारमा यो दलाल तथा संसदीय व्यवस्थाको संरक्षणको लागि भइरहेको निर्वाचन जनविरोधी रहेको छ । यो निर्वाचन र यसबाट बन्ने संरचनाले देशलाई पराधीन बनाउने, भ्रष्ट्राचार, कालोबजारी, अराजकता, महंगी बढाउने र देशलाई झन गरीबीतर्फ धकेल्ने र अन्तमा पराधीन बनाउने निश्चित छ ।

नेकपाले यो निर्वाचन राष्ट्रहितमा नभएको ठहर गर्दै यसका सम्पूर्ण प्रकृयालाई खारेज गरी देशलाई स्वाधिन र नेपाली जनतालाई सबैखाले उत्पीडनबाट मुक्त गर्दै समुन्नत राष्ट्र बनाउनको लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि आव्हान गर्दै आएको छ । आफ्नो अभियानको क्रममा नेकपाले शान्तिपूर्ण रुपमा गरेको जनसभा, पर्चा, पोष्टर टांस्ने कार्यक्रम, भित्तेलेखनजस्ता कार्यक्रमहरुमाथि हस्तक्षेप गर्दै शान्तिपूर्ण अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुलाई सुरक्षकर्मीहरुले गैरकानुनी रुपमा पक्राउ गरेका छन् । अस्पतालमा उपचार गराइरहेका, कक्षाकोठामा अध्ययन गरिरहेका, राती घरमा सुतिरहेका, खेतबारीमा काम गरिरहेका व्यक्तिहरु, रिपोर्टिङ्गको क्रममा रहेका पत्रकारहरुलगायतलाई सयौंको संख्यामा अन्धाधुन्द पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई मानसिक तथा भौतिक रुपमा कठोर यातना दिएर आतंकित परेको छ । त्यस्तै गरेर नेकपाका नेता तथा कार्यकर्ताहरुको परिवारलाई अनावश्यक यातना दिइरहेको छ ।

यसरी शान्तिपूर्ण रुपमा विचारको अभिव्यक्त गर्न पाउने जनताको अधिकारमाथि राज्यद्वारा ठाडो प्रहार तथा मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको छ । राज्यका यस्ता हर्कतहरुले दलाल तथा संसदीय व्यवस्थाको कथित लोकतन्त्र अन्तत दलाल फासीवादमा पतन भएको पुष्टि गरेको छ । जसको परिणाम स्वरुप देशमा जनताको स्वस्फुर्त प्रतिरोधका घटनाहरु बढ्न थालेका छन् । तसर्थ निकासहिन दलाल संसदीय व्यवस्थाको चुनावी अभियानलाई खारेज गरी क्रान्तिकारी तवरबाट राजनैतिक निकासको खोजी गर्न, जनताको शान्तिपूर्ण रुपले विचारको अभिव्यक्त गर्न पाउने स्वतन्त्रताको सुनिश्चितता गर्न, राज्यद्वारा गिरफ्तार तथा नियन्त्रणमा राखिएका सर्वसाधारण जनता साथै राजनैतीक कार्यकर्ताहरुलाई भौतिक र शारिरीक यातना दिने कार्य बन्द गर्न तथा चुनाव खारेजी अभियानमा पक्राउ परेका नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई यथाशिघ्र रिहा गर्न हामी नेपाल सरकारलाई यही विज्ञप्ति मार्फत आह्वान गर्दछौं ।

२०७४ मंसिर १६ गते दिउँसो १ ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :