हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

म नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड । यही हो मेरो नाम । यो ठाउँलाई नक्सलबाडी भन्छन् । सबैले देख्ने गरी त्यहाँ पहेँलो साइनबोर्ड छ, ‘नक्सल बाडी’ । हामीहरू बाडी भन्छौँ । बारी होला, हुनुपर्छ । तर, यता सबै बाडी चल्छ—नक्सलबाडी, खरिबाडी । परपरसम्म फैलिएको छ जमिन । पश्चिमतिर अलिकति उता लागेपछि नेपाल आउँछ । पानीट्याङ्की उता नेपाल हो, मेची नदीले हामीलाई मिलाएको छ । यो क्षेत्र दार्जीलिङ जिल्लामा पर्छ । माथिलाई पहाड भन्छौँ, हामी तल सम्ममा बस्नेहरू । नक्सलबाडी पहाड पनि हो र तराई पनि ।

२७४ वर्ग मिलमा फैलिएको यो गाउँलाई अब चिनाइरहनु पर्दैन । नक्सलबाडी अब गाउँको मात्र नाम रहेन, यो त दर्शन भयो, विचार भयो राजनीति भयो, आन्दोलन भयो । यो त विश्वप्रख्यात भयो । त्यसै भएको छैन यो विश्वप्रख्यात । हजारौँको रगत बगेर यो परिचित भएको छ । शिरदेखि पुछारसम्म रगत बगेको छ हजुर ! कति माटोमै रगताम्मे भए । कति जेलमा, कति गायब भए । कथैकथा छन् योसित । सझिन्छु, ५० वर्षअघिका दिनहरू, त्यो घटना । सपना पो हो कि जस्तो लाग्छ । ओहो ! मान्छे कसरी उठ्दो रहेछ समुद्रको लहरझैँ ! मान्छे कसरी होमिँदो रहेछ सबै कुरा त्यागेर !

हामी आदिवासी । जङ्गल फाँड्ने, खेती योग्य जमिन बनाउने, दुख गरेर खाने । बुडढापाकाहरू भन्छन् यो सबै हाम्रा पुर्खाले गरेको भनेर, अट्टेर जङ्गल थियो रे यो । मैले थाहा पाउँदा दुईचार घर भिन्नै थिए, अरू सबै झुप्राझुप्री, अहिलेका जस्ता घर कहाँ थिए र । सबै अरूका घरमा बँधुवा मजदुर । सबै खेतीहर मजदुर । संथाल, उराव, राजवंशी, मुन्डा अधिकांश भूमिहीन किसानको बसोबास भएको ठाउँ हो यो । दुईचार जोतेदारहरू (जमिनदारहरू) को कब्जामा थियो यहाँको जमिन । भन्छन् भारतमा सबैभन्दा बढी जमिनदार बङ्गालमा छन् । वर्षभरि काम गर्दा खान पुग्दैनथ्यो । औषधी।उपचारको त कुरै थिएन । जिन्दगीभरि जोतेदारको गुलाम । बङ्गालको अनिकाल सबैभन्दा डरलाग्दो अनिकाल । अनिकाल, भोकमरी, बेरोजगारी, शोषणको अर्को नाम थियोरहो बङ्गाल । थियो होइन, अहिले पनि छ । आदिवासीहरू भारतमा सबैभन्दा बढी उपेक्षित र उत्पीडित थिए र अहिले पनि छन् । हामी त्यही इतिहास बोकेर लडिरहेका छौँ अहिले पनि ।

कम्युनिस्ट पार्टीले जनताको भलो गर्छ भन्थे । पार्टी त थियो, तर जनताको पार्टीजस्तो थिएन । नेताहरू क्रान्तिको कुरा गर्थे, तर सङ्घर्षको कुरा गर्न डराउँथे । चुनावबाटै सत्तामा पुगिन्छ, “खुनखराव वाद” भन्थे । पार्टीका नेताहरूको यस्तो कुरामा चित्त नबुझाउने थुप्रै थिए । नक्सलबाडी र वरिपरिका कामरेडहरू अब यसरी हुँदैन, अर्को बाटो समात्नुपर्छ भन्थे । सङ्घर्षका कुरा कलकत्ताका कमरेडहरूलाई मन पर्दैनथ्यो । कमरेडहरू समय आएपछि क्रान्ति आफैं हुन्छ भन्थे—उग्रवाद ठीक छैन भन्थे ।

जमिनदारको शोषणबाट वाक्क भएकाहरू उपाय खोजिरहेका थियौँ । एक दिन कामरेडहरूले हामी सबैलाई जम्मा पार्नुभयो । सबै कुरा सुनाउनुभयो, कति बुझ्यौँ, कति बुझेनौँ । चीनमा माओको नेतृत्वमा मजदुर(किसानको अगुवाइमा जनसेनाको निर्माण गरेर क्रान्ति भयो भनेर सुनाउनुभयो कमरेडहरूले । सांस्कृतिक क्रान्तिको झण्डा लिएर लाखौँ किसान उठेको कुरा सुनाउनुभयो कमरेडहरूले । निम्नमध्यम वर्गीय परिवारको छोरा हुनुहुन्थ्यो चारु बाबु । उहाँ गरिबको पक्षमा उभिनुभयो । चारु बाबु र कानु दाहरूले चीनको मात्र कुरा सुनाउनु भएन, भियतनामको कुरा सुनाउनुभयो, तेभागा आन्दोलनको कुरा सुनाउनुभयो, तेलङ्गाना किसान आन्दोलनको कथा सुनाउनुभयो र अन्त्यमा भन्नुभयो ः “अब हामीहरू पनि उठ्नुपर्छ, उत्पीडितहरू जमिनदारविरुद्ध लड्नुपर्छ, जनविरोधी सत्ताका विरुद्ध लड्नुपर्छ । जनताको आफ्नै सत्ता ल्याउन लड्नुपर्छ । अब नक्सलबाडीबाट क्रान्तिको मशाल बाल्नुपर्छ ।” हाटबजार नै हाम्रो राजनीतिक प्रचारको सभास्थल हुन्थ्यो ।

सरकारले जमिनको सीमा तोके पनि चिया बगानका नाममा जमिनको ठूलो हिस्सा जमिनदारकै हातमा थियो । गाउँगाउँमा किसान मोर्चाहरू गठन भए । चारु बाबु, कानु दा (कानु सन्याल) जङ्गल सन्थाल, केशव सरकार हाम्रा अगुवा नेता हुनुहुन्थ्यो । उहाँहरूले सबै गाउँले, त्यसमा पनि युवाहरूलाई जम्मा पार्नुभयो । गाउँगाउँमा किसान मोर्चाहरू गठन भए । बाबुलाल विश्वकर्मा हाम्रो किसान नेता हुनुहुन्थ्यो । उहाँ किसानको पुरानो नेता । पछि १९६८ मा प्रहरीसितको मुठभेडमा उहाँ सहिद हुनुभयो । सन् १९६७ मार्चको महिना, ३ तारिख जस्तो लाग्छ । किसान मोर्चाले अभियान सुरुग¥यो । जमिनदारहरूको खेतमा “झण्डा गाड्” अभियान सुरु भयो । खेतिहर मजदुर, भूमिहीन किसानले जग्गा कब्जा गरे । “भकारी फोर” अभियान सुरु भयो । जोतेदारहरूको भकारी फोरेर भूमिहीन किसानलाई अनाज बाँड्न थालियो । जग्गाको कागज जोतेदारहरूबाट कब्जा गरेर जलाइयो । १५देखि २० हजार किसान किसान सभामा सामेल भए । सबै निर्णय किसान सभाले गथ्र्यो ।

किसान सभा र र्यालीहरू हुन्थे । म त्यतिबेर केटाकेटी नै थिएँ । र पनि बडो उत्साहका साथ सहभागी हुन्थेँ यस्ता कार्यक्रमहरूमा । साँच्चै भनौँ भने गरिबीको पीडा त भोगेँ, तर राजनीति त्यही किसान सभा र र्यालीमा जाँदा सिकेँकी हुँ ।

नक्सलबाडीमा सुरु भएको किसान आन्दोलन अरू गाउँहरू खरिवाडी, फासिदेवा, झारगाउँ, प्रसाद जोते, हाम्रो जिल्लामा मात्र नभएर अन्य जिल्लामा समेत फैलियो । “भकारी फोर” अभियानले व्यापकता लिएपछि जमिनदारहरू आत्तिए, सरकार आत्तियो । किसानहरूलाई धरपकड गर्न थालेपछि मुठभेडको स्थिति आयो । खासगरेर सन् १९६७ का मार्चदेखि मेसम्मका दिनहरू तीव्र सङ्घर्षका दिनहरू थिए । हाम्रा हतियार भनेका घरेलु हतियार थिए । हामी १०० जनाभन्दा बढीलाई तीर र धनुषकाँढको तालिम दिइएको थियो । आदिवासीहरू कम बोल्छन्, तर निर्णयमा पक्का हुन्छन्, इमानदार हुन्छन् । गाउँमा नागेन राय चौधरीको चरम शोषण थियो । किसान सभाले गठन गरेको जनअदालतको निर्णयअनुसार उसमाथि जनकारबाही भयो( सफाया ।

नेपालको सिमाना जोडिएको गाउँ झारगाउँमा आन्दोलनले चरम रूप लियो । प्रहरी दमन पनि तीव्र हुनथाल्यो । किसानहरूलाई पक्रेर लगेर यातना दिन थालियो । कानु दा र बाबुलालको खोजीमा थियो पुलिस । २४ मेका दिन गाउँमा एक गाडी पुलिस आए । हामीले वरपरका गाउँका सभा सदस्यलाई पनि बोलायौँ । प्रहरीको गाडी र हाकिमलाई हामीले घेराबन्दीमा पार्यौं । उल्टै उसले ठूल्ठूला कुरा गर्न थाल्यो र जथाभावी बोल्दै महिलामाथि दुव्र्यवहार गर्न खोज्यो । गोलीले सबैलाई सिध्याइदिने धम्की दिँदै बन्दुक सोझ्यायो । गोलीको धम्कीसँगै आक्रोसित हामीले धनुषकाँढ छोड्यौँ । म मुन्डाकी छोरी । धनुषकाँढ कसरी चलाउनुपर्छ, त्यो मलाई थाहा थियो, त्यसमा पनि हाम्रो तालिम प्राप्त जत्था थियो । मैले छोडेको तीर सोझै प्रहरी इन्सपेक्टर वाङ्दीको छातीको दाहिने कोखमा लाग्यो । चारैतिरबाट तीर छुट्न थाले । वाङ्दी ढलेपछि सबै पुलिस भागे बन्दुक छाडेर । कोही घाइते भएर लडे । त्यतिबेर म बिस वर्षकी थिएँ । धनुषकाँढले लडिरहेको बेला मेरो पिठ्युँमा ६ महिनाकी सानी छोरी थिई । मेरो मात्र होइन, बच्चा हुने हामी धेरजसोले पिठ्युँमा बच्चा बोकेर लडेका थियौँ ।

यो घटनाले कलकत्तालाई पनि हल्लाइदियो । त्यसपछि सिलिगुडीबाट थप प्रहरी आए । ओहो ! बयान गरी साध्ये छैन, के के गरे भनेर । तिनले हाम्रा घरमा आगो लगाए, लत्ताकपडा, अन्नपात सबै खरानी बनाए, भेटे जति सबैलाई पक्रिएर निर्मम यातना दिए । केटाकेटी आइमाई केही भनेनन्, कुटे, दुव्र्यवहार गरे । त्यसपछि हामी पनि भएभरका गाउँलेहरू, किसानसभाका सदस्यहरू जम्मा पारेर नक्सलबाडीतर्फ लाग्यौँ । हामी धेरजसो महिला थियौँ र हातमा धनुषकाँढ बोकेका थियौँ । हामी नक्सलबाडी बजार नजिकै प्रसादजोते गाउँमा पुगेका थियौँ । एउटा प्रहरी जिप हाम्रो सामु आएर रोकियो, हामी धेरै देखेर हो अथवा केले हो, फर्किन खोज्यो । हामीले त्यसलाई घेर्यौं । हाम्रो सङ्ख्या र हातमा धनुषकाँढ देखेर उनीहरू एकदमै आत्तिएका थिए । कामरेडहरूले एकदुई जनाका बन्दुक पनि खोसे । आत्तिएर उनीहरूको अफिसर पनि गिडगिडाउन थाल्यो, हामी तपाईँहरूलाई पकड्न आएको होइनौँ भन्यो । हामी तपाईँहरूलाई केही गर्दैनौँ भन्यौँ । हामीलाई जान दिनुस् भन्यो । हामीले पनि भैगो त भन्यौँ । तर घेराबाट बाहिर गएपछि त्यो अफिसरले ठोक गोली भन्यौँ र आफूले पनि पिस्तोल निकालेर ठोक्न थाल्यो । ८ जना महिला, ! जना पुरुष र २ जना बच्चाको हत्या गरे उनीहरूले । राती किसान मोर्चाको बैठक बस्यो । किसान कमिटीका कमरेडहरूले भने—“अब सशक्त प्रतिरोधमा जानुको विकल्प छैन ।” भूमिगत भएर लड्ने अठोट भयो । साँच्चै अब लडाइँ सुरु भयो । आफ्नै पार्टीका गृहमन्त्री भएको बेला यस्तो भयो ।

काङ्ग्रेस र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को संयुक्त सरकार थियो । ज्योति बसु गृहमन्त्री थिए । त्यतिबेरसम्म आन्दोलन विस्तारै गाउँबाट सहर पसिसकेको थियो । नक्सलबाडीको किसान आन्दोलनलाई सहयोग गर्न कलकत्तामा ‘नक्सलबाडी कृषक सङ्ग्राम सहयोग समिति’ गठन गरेर कामरेडहरू सभा र जुलुस गर्नथालेका थिए—“नक्सलबाडी १ जिन्दावाद ।” स्कुलकलेजमा नाराजुलुस हुनथालेका थिए । कलकत्तामा बेचैनी सुरु भइसकेको थियो । कलकत्तामा भित्ताहरू “सत्ता बन्दुकको नालबाट जन्मन्छ”, “सत्तरीको दशकलाई मुक्तिको दशक बनाऔँ” जस्ता नाराले रङ्गिएका थिए ।

आन्दोलन बङ्गालमा मात्र नभएर बिहार, उत्तरप्रदेश, आन्ध्र सबैतिर फैलिएको थियो । बङ्गालको नक्सलबाडी, बिहारको मुसहरी, भोजपुर, उत्तरप्रदेशको लखिमपुर खिरी अनि आन्ध्रको श्रीकाकुलम अर्कै गाउँ बनेका थिए । नेपालको झापामा समेत “नक्सलबाडी जिन्दावाद !” को नारा गुन्जिन्थ्यो । चीनको रेडियोले समेत “भारतमा वसन्ते गर्जन” भनेर भनेपछि यसको तरङ्ग दिल्लीसम्म पुगेको थियो, बेचैन थियो दिल्ली । आन्दोलनका बारेमा देशविदेशका समाचार सुन्दा हामी थप उत्साहित हुन्थ्यौँ ।

११ जनाको हत्याविरुद्ध कलकत्तामा विद्यार्थी, मजदुर र बुद्धिजीवीहरू सडकमा निस्किए । जनसभा भयो । आन्दोलनलाई गति दिन कतिपय नेता भूमिगत भए । कतिपय नेताहरू पक्राउ परे । हामीले हाम्रो आधारइलाका छोडेनौँ । यसको रक्षा हाम्रो काँधमा आयो । हामी रातभरि सेन्ट्री बस्थ्यौँ पालैपालो । गाउँमा पेट्रोलिङ गथ्र्यौं । गाउँमा प्रहरी आउँदैछ भन्ने हामीलाई पहिले नै थाहा हुन्थ्यो । छापामार शैलीमा घेराउ गरेर आक्रमण गथ्र्यौं तीरले । राइफल खोस्थ्यौं । “लोग्नेमान्छे भन्दा नक्सलबाडीका महिला खतरनाक छन्” भन्थे पुलिसहरू । ओहो, कताबाट आएको हो त्यत्रो साहस ! भिड्न डर लाग्दैनथ्यो । मर्न डर लाग्दैनथ्यो । पुलिसले हामीलाई समातेर लगेपछि हाम्रो नाम सोथ्यो । मेरो नाम द्रौपदी, उसको नाम द्रौपदी, हामी सबै द्रौपदी— ओहो ! कति धेरै द्रोपदी ! हाम्रो एउटै उत्तर सुनेर हैरान हुन्थे पुलिस पनि । “द्रौपदी” व्यङ्ग्य पनि हो र विद्रोह पनि । महाश्वेता दीले द्रौपदीलाई अमर बनाउनुभयो ।

अहिले स्थिति फेरिएको छ । आन्दोलनमा लागेका कतिपयले ज्योति बसुको बाटो रोजे । उनीहरूले सङ्घर्षको बाटो त्यागे, उनीहरू अर्कै जात र वर्गका मान्छे भए । उनीहरू अब गाउँमा पनि बस्तैनन्, सहर रमाइलो लाग्छ रे उनीहरूलाई । माओको मृत्यपछि चीनका नेताहरूले सांस्कृतिक क्रान्तिको विरोध गरेझैँ नक्सलबाडी किसान विद्रोहको विरोध गर्छन् उनीहरू । म त उस्तै छु । मेरा लुगा उस्तै छन्, सुतीका लुगा, घरेलु लुगा । हेर्नुस् त यो खद्दरको लुगा नै मलाई मन पर्छ । घर यही हो छाप्रो । यसले अनुहार फेरेकै छैन । बाँसले बारेको छ—काठका सामान्य फर्निचर र प्लाटिकका कुर्सीहरू । यही हो मेरो घरको साजसज्जा । चाहेको भए हाम्रा पनि सहरमा महल ठडिन्थे । चाहेनौँ हामीले त्यो जिन्दगी । यो नक्सलबाडी हो । हामीले लडेको मोर्चा । तीरधनुष पनि भित्तामा झुन्ड्याएकी छु । चारु बाबु, कानु दा सबैको फोटो राखेकी छु । माया लाग्छ । हाम्रा किसान मोर्चाका कमरेडहरूले रगत बगाएको माटो । विश्वका क्रान्तिकारीहरूले श्रद्धाले नाम लिने गरेको माटो । मलाई त यही माटो मन पर्छ, सहर पराईपराई लाग्छ ।

साँच्चै हो, म त अझै यहीँ हातिघिसा छु । लडाइँ लडेको घर हो यो । नक्सलबाडी, पानीट्याङ्की हातिघिसा, झारगाउँ, हरिया रूखहरू र रमाइलो ठाउँ । पहाडको फेदीमा अवस्थित यी गाउँहरू सर्वस्व हुन् हाम्रा लागि । कतिपय आफूलाई अब यो गाउँसित जोड्न मन गर्दैनन्, तर मलाई त आफूलाई योसित जोड्दा गर्व हुन्छ । जीवनदेखि निराश भएरै त होला, सन् २०१० मा कानु दाले आत्महत्या गर्नुभयो । जङ्गल सन्थालको पनि मृत्यु भयो । म अहिले एक्लै छु घरमा । मेरो साथी कमरेड अनि मेरो छोराको पनि मृत्यु भयो । छोरीले सिलिगुडीमा बस्न बोलाउँछे । मन लाग्दैन त्यहाँ । यहीँ नक्सलबाडी रमाइलो लाग्छ ।

कानु दाको कुरा सोध्नुभएको ? उहाँले चारुदाको पार्टी छाडेर नयाँ पार्टी बनाउनुभयो । पछिल्ला दिनमा निकै निरास देखिनुहुन्थ्यो । सहरमा बस्नु भएन । सरकारको कुनै सुविधा लिनु भएन । यी यही हो, मेरो छाप्रोसित जोडिएको उहाँको छाप्रो । मार्च २३, २०१० का दिन सदाझैँ उहाँलाई तातो पानी दिन उहाँको छाप्रोको ढोका खोलेँ । उहाँ ओछ्यानमा हुनुहुन्थेन । कता जानुभयो ? यताउति हेरेँ, दुईतिर किला ठोकेर एउटा डोरी झुन्ड्याइएको थियो । कानु दा त्यही डोरीमा आफ्ना फाटेका लुगा र धोती झुन्ड्याउनु हुन्थ्यो । लुगा भुइँमा थिए र डोरी थिएन । उतातिर हेरेँ । दादा पङ्खाको अङ्कुसेमा झुन्डिनुभएको थियो । शरीर मात्र थियो, सास थिएन । पत्रिकामा कतिले खुसीले लेखे, कतिले पीडाले लेखे ः नक्सलवादी नेता कानु सन्यालद्वारा आत्महत्या”

ऊ त्यो भित्तामा टाँगिएको फोटो हेर्नुस्, त्यहाँ चारु बाबु, कानु दा र जङ्गल कमरेड हुनुहुन्छ । यताको फोटोमा धनुषकाँढ लिएका हामी हौँ । कस्ती थिएँ म त्यतिबेला । चारु बाबु जसरी हाम्रा पक्षमा उभिनुभयो, यसले हामीलाई शक्ति दियो । श्रद्धाले हामी उहाँलाई “चारु बाबू” भन्थ्यौँ । उहाँ माउरीको रानोझैँ हुनुहुन्थ्यो । राजनीति मात्र होइन, साहित्य र सङ्गीतप्रति पनि उहाँको असाध्यै रुचि थियो । पहिले एउटै पार्टी थियो— भारतीय कम्युनिस्ट पार्टी (सिपिआइ) । पार्टी काङ्ग्रेस सरकारको वरिपरि मात्रै घुम्न थालेपछि र क्रुस्चेवको लाइन सही हो भनेर वर्गसङ्घर्षको विरोध गर्न थालेपछि सन् १९६४ मा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) गठन भयो । त्यसले पनि चुनावी राजनीति र वर्गसमन्वयको बाटोमा बढी जोड दिन थालेपछि चारु कमरेडहरूले आन्तरिक रूपमा ‘सिलिगुडी’ समूह बनाउनुभयो । यो संशोधनवाद विरुद्ध विद्रोहका लागि तयारी थियो । उहाँले थुप्रै विचारोत्तेजक लेखहरू पनि लेख्नुभयो । त्यतिबेला उहाँ दार्जिलिङ जिल्लाको पार्टी सेक्रेटरी हुनुहुन्थ्यो । १९६५ देखि १९६६ सम्म लेखिएका यी रचनाहरू “चारु मजुमदारका आठ ऐतिहासिक दस्ताबेज’ का नामले चर्चित छन् । सन् १९६७ को नोभेम्बरमा ‘चारु बाबुको संयोजकत्वमा ‘अल इन्डिया कोअर्डिनेसन कमिटी अफ कम्युनिस्ट रिभोलुस्नरिज’ (एआइसिसिसिआर) गठन भयो र पछि राष्ट्रिय भेलाले सन् १९६९ मा ‘चारु बाबुको नेतृत्वमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी(लेनिनवादी) गठन भयो ।

चारु बाबुको घर सिलिगुडीमा भए पनि उहाँ धेरजसो नक्सलबाडीमै बस्नुहुन्थ्यो । वहाँलाई भेट्न आन्ध्र प्रदेश, तमिल नाडु अनि केरलाबाट समेत नेताहरू आउँथे । टिनको छानो भएको सानो घर थियो । चारु बाबु बढी त्यही सानो घरमा बस्नुहुन्थो । संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दा तयार पारेको “आठ दस्ताबेज” ऊ त्यही छाप्रोमा लेखिएको थियो । पछि पार्टीले अङ्ग्रेजीमा ‘लिबरेसन’ र बङ्गालीमा ‘देशव्रती’ प्रकाशन गर्नथाल्यो । बुझे पनि नबुझे पनि यी पत्रिकाहरू हामी सबैका प्यारा थिए ।

मेरो घरका मान्छे पनि मोर्चामै थिए । हामी आदिवासीहरू असाध्यै अन्धविश्वासी । आइमाईले पढ्नु हुन्न, राजनीति गर्नु हुन्न भन्थे । देउता रिसाउँछ भन्थे । समाजमा राज्यका विरुद्ध लाग्ने कुरा त परको कुरा थियो । तर मैले उहाँलाई साथ दिएँ । पार्टीको मिटिङ सिलिगुडीमा हुँदा यताबाट २० किलोमिटर पैदल हिँडेर त्यहाँ पुग्थ्यौँ हामी—फासिदेवा थानाबाट जोगिँदै । त्यतिबेला फासिदेवा थाना सबैभन्दा बदनाम र हत्यारा थानाको नामले चिनिन्थ्यो । महाश्वेता दिले ‘द्रौपदी’ मा लेखेझैं ।

चारु बाबु हुनुहुन्न । तर यहाँका किसानहरूको मुटुमा, यहाँको माटोमा उहाँ हुनुहुन्छ । यो माटोमा उहाँका पदचापहरू छन् । आदिवासी र निमुखाका लागि उहाँ बाँचिरहनुभएको छ । चारु मजुमदार, कानु सन्याल, जङ्गल सन्थाल अनि कन्हाइ चटर्जी, नारायण सन्यालहरू नै हुन् हाम्रा नेताहरू । अब चारै जना छैनन् । कन्हाइ चटर्जीको १९८२ मा मृत्यु भयो भने नक्सलबाडी आन्दोलनसित जोडिनु भएको पाको नेता नारायण सन्यालको पनि केही महिनाअघि मात्रै कलकत्तामा मृत्यु भयो । सम्पादक, कवि, कथाकार तथा क्रान्तिकारी बुद्धिजीवी सरोज दत्तले सहरको आन्दोलन समाल्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । उहाँको पनि सन् १९७१मा हत्या भयो । त्यतिबेला उहाँको जिम्मामा प्रकाशन क्षेत्र थियो । त्यतिबेर नक्सलवादीको अभियोग लगाएर मुलुकभर ४५ हजारलाई बन्दी बनाइएको थियो ।

मान्छेहरू भन्छन्, नक्सलबाडी आन्दोलन सकियो, अहँ सकिएको छैन, यो त झन् रापिलो र तापिलो भएर अघि बढिरहेको छ–एकदमै भर्भराउँदो भएर । जमिनदार र ठालुहरूको नाम र जीवन फेरिएको छ । हिजोका जमिनदारहरू सहर पसे । अब नयाँ जमिनदारहरू विकसित भएका छन् गाउँमा । हिजोका जमिनदारहरूभन्दा कम खतरनाक छैनन् अहिलेका नयाँ जमिनदारहरू—कर्पोरेट जमिनदारहरू । पुराना जमिनदारहरू जमिनका मालिक थिए, अहिलेका जमिनदारहरू महलका मालिक छन्, चिया बगानका मालिक छन्् । रियल स्टेट चलाउँछन् । आइएनजिओ चलाउँछन् । ठूलाठूला ब्याङ्कहरू चलाउँछन् । अर्का थरी मालिकहरू हँसियाहथौडा लिएर गाउँमा पस्छन् र भन्छन् सबै कुरा चुनावले पूरा गर्छ । कस्तो खतरनाक राजनीति ! कति सारो उपहास हँसियाहथौडाको !

पछाडि फर्केर हेर्दा मन कताकता हराउँछ । त्यति बेलाको लडाईँ सम्झिदा मन अर्कैअर्कै हुन्छ । तर, मलाई पीडा छैन र पश्चाताप पनि छैन । शोषणबाट मुक्त हुन उठ्नुपर्छ, लड्नुपर्छ भन्ने चेतना नक्सलबाडीले हामीलाई दियो, दुस्मन र मित्र बुझायो, आफन्त र पराई चिनायो । लड्न सिकायो, यही नै सम्पूर्ण हो । हामी निर्धानिमुखाहरू, आदिवासी अनपढहरू पनि बन्दुक चलाउन सक्छौँ भन्ने साहस हामीलाई दियो, बन्दुकको भरमा चलेको सत्ता ढाल्न बन्दुक नै समात्नुपर्छ भन्ने सबैभन्दा उच्च शिक्षा यसले हामीलाई दियो । यो चेतना, यो ऊर्जा नै हाम्रो सम्पति हो, यो कहिल्यै समाप्त नहुने सम्पति हो ।

साँच्चै हो, त्यो नाम, ऊ त्यो रेल्वे स्टेसन नजिकै पहेँलो पूष्ठभूमिमा लेखिएको नाम ‘नक्सल वाडी’, कहिल्यै पुरानो नहुने नाम हो । यसको झण्डा लिएर मान्छे युरोप, अमेरिका र अफ्रिकाका सडकमा निस्केका छन् । यसको नाममा राता अक्षरले भित्ता रङ्गिएका छन्, तुल र ब्यानरहरू टाँगिएका छन् । गर्वले फुल्छ छाती । मन अर्कै हुन्छ । कहाँ सकिएको छ र लडाइँ । नक्सलवाडी जिन्दाबाद ! भनेर उत्पीडित जनता लडिरहेका छन् । दुस्मनका किल्ला विरुद्ध धावा बोलिरहेका छन् । यसको झण्डामुनि मान्छे मृत्यु रोज्न लामबद्ध हुन्छन् । गर्वले फुल्छ छाती । हत्या गरेर कहाँ मर्दो रहेछ र विचार ! कहाँ मर्दा रहेछन् र नक्सलबाडीहरू ! मालेमा जिन्दावाद ! जनयुद्ध जिन्दावाद ! नयाँ जनवादी क्रान्ति जिन्दावाद ! यो भन्दा प्यारो गीत अरू के हुन सक्छ ? यो भन्दा प्यारा शब्दहरू अरू के हुनसक्छन् ? यो भन्दा अजम्बरी विचार अरू के हुनसक्छ ?

बाहिर भएको दमनबाट कमरेडहरूलाई कसरी जोगाउने भन्ने हाम्रो चिन्ता हुन्थ्यो । युवाहरू कि त जेलमा थिए, कि त भूमिगत । नेताहरूको रातारात सेल्टर फेर्नुपथ्र्यो । हाम्रा कमरेडहरू र युवाहरूलाई जोगाउने जिम्मेवारी हाम्रो थियो । त्यतिबेर यस क्षेत्रमा महिला र युवा मोर्चाको जिम्मा पार्टीगत रूपमा कमरेड सुनिती करमारको थियो । अहिले उहाँ पनि ७४ वर्षको पुग्नुभयो । कसरी जोगाउने भन्ने चिन्ताका साथ दिनरात नभनी, घामपानी नभनी हामी खटेका थियौँ । सम्पर्क बनाउँदै, नआत्तिन भन्दै सेल्टर सार्दै गरेर हामीले धेरै कमरेडहरूलाई बचायौँ । हामी सेल्टरमा सुरक्षा दिन्थ्यौँ । सूचना बटुल्थ्यौँ, अनेक बहना बनाएर हामीले कमरेडहरूको सेल्टरको सुरक्षा गरेका थियौँ ।

हामीलाई देखाउँदै कतिले खिसिट्युरी गर्छन् । कतिले उडाउन पनि खोज्छन् । “नक्सलबाडीको बाटोको भविष्य छैन” भन्थे, त्यतिबेला पनि । उनीहरूका लागि व्यक्तिगत सुखसुविधा र मोजमस्ती नै क्रान्ति हो, प्राप्ति हो, भविष्य हो । फोहोरमैलामा मुख जोतेर उनीहरू आफू सुन्दर हुनुको ढोँग गर्छन् । अरूलाई भोकै राखेर म एउटी अघाउनुको के अर्थ ! अरूको रगतमा मोजमस्तीमा जीवन बिताउनुको के अर्थ ! अचम्मको हुँदो रहेछ, आन्दोलन पनि । हिजो सँगै हिँडेको, लडेको मान्छेले जब वर्ग फेर्दो रहेछ, जब उसको चिन्तन फेरिँदो रहेछ, घोषित प्रतिक्रियावादीहरू भन्दा झन् खतरनाक हुँदो रहेछ । उसले पहिले हिजो सँगै हिँडेको सहयोद्धालाई सबैभन्दा बाधक देख्दो रहेछ । उसलाई सिध्याउनुमै आफ्नो भविष्य सुरक्षित देख्दो रहेछ । उसको पहिलो प्रहार उसैमाथि हुँदो रहेछ । लाल झण्डाभित्र लुकेको दुस्मन झन् खतरनाक हुन्छ भनेको यही रहेछ । त्यही भयो हाम्रो आन्दोलनमा पनि । चारु बाबुको हत्यामा क्राङ्ग्रेसीहरूको मात्र नभएर कम्युनिस्ट खोल ओढेर काङ्ग्रेससित हातेमालो गर्नेहरूको पनि हात छ । उहाँको मृत्यु तारतम्य मिलाएर गरिएको हत्या थियो । देशकाल परिस्थितिअनुसार प्रतिक्रियावादीहरू भन्दा संशोधनवादीहरू झन् खतरनाक हुँदा रहेछन् । संशोधनवाद भनेको त सारै खतरनाक सङ्क्रामक रोग पो रहेछ । सारै नराम्रो गरी गन्हाउँदो रहेछ, यो कुहिएपछि । एउटा कुहेको आलुले सिङ्गो बोराको आलु बिगार्दो रहेछ ।

चारु बाबु मुटुको बिरामी हुनुहुन्थो, औषधी खाइरहनुपर्ने । पक्राउपछि हावा नै नछिर्ने, प्रकाशै नछिर्ने कोठरीमा उहाँलाई राखियो । परिवारका मान्छेलाई पनि भेटघाट गर्न दिइएन, औषधी दिइएन, डाक्टर सुविधा पनि दिइएन । सेलमा राखेर तडपाईतडपाई मारे पाखण्डीहरूले उहाँलाई ।

चारु बाबुको हत्यापछि पार्टीमा पनि विभाजन आयो । कोही घोषित रूपमै चुनावमा लागे । कोही चुनावको क्रान्तिकारी उपयोग गर्ने भनेर लागे । कसैले भारतीय कम्युनिस्ट पार्टी (न्यु डेमोक्रेसी) खोले र कसैले भारतीय कम्युनिस्ट पार्टी (लिबरेसन) खोले । थुप्रैथुप्रैहरू नेता बन्ने होडबाजीमा लागे । कतिपयले आफू सही क्रान्तिकारी भन्दै चारु बाबुको विरोध गर्दै आफूलाई पतन गराए । कतिपयहरू अझै पनि आफूलाई मालेमाको पक्षधर भन्छन्, “दिशा सन्धान” को कुरा गर्छन्, तर नक्सलबाडी आन्दोलनले देखाएको बाटोलाई “वाम दुस्साहसवाद” भनेर विमर्शवादको गोलचक्करमा रमाइरहेका छन् ।

आफूलाई मालेमाको पक्षधर भन्ने पार्टीहरू त अहिले पनि छन् । तर तिनका गतिविधिहरू शून्यझैँ छन् । जो चुनावी राजनीतिमा लागे, ती ज्योति बसुका कार्यकर्तामा परिणत भए, अनि जो ‘क्रान्तिकारी उपयोग’ मा लागे तिनले विसर्जनको बाटो समाते । वास्तवमा आफूलाई मालेमाको पक्षधर भन्दैमा, दस्ताबेजमा मालेमा, नयाँ जनवाद र क्रान्तिका कुरा लेख्दैमा कोही पनि क्रान्तिकारी हुँदो रहेनछ । क्रान्तिप्रति विश्वास नभएर थाकेर पलायन हुने कुरा त भइगयो, सबैभन्दा खतरा त चुनाव रहेछ, अनेक नाम दिएर र बहाना गरेर जब कुनै कमरेड चुनावी राजनीतिमा प्रवेश गर्छ, जब कुनै पार्टी चुनावी मोहमा फस्छ, बुझ्नोस्, सिद्धिने मेलो त्यहीँबाट आरम्भ हुँदो रहेछ । विस्तारै विर्जनको बाटो समात्तो रहेछ उसले । अन्यत्र पनि त्यस्तै भएको थियो । हाम्रोमा पनि त्यस्तै भयो ।

आन्ध्रका कमरेडहरूले यो यथार्थलाई बुझे । बिहारका कतिपय कमरेडहरूले पनि यस यथार्थलाई बुझे । आन्ध्रका कमरेडहरूले भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार निर्माण गरेर मालेमाको बाटो, नक्सलबाडीको बाटो समाते । कमरेड कन्हाइ चटर्जीको विराशत समातेको बिहार(बङ्गालमा सक्रिय ‘दक्षिणदेश’ को नेतृत्वमा रहेको ‘माओवादी सेन्टर’ (एमसिसी) का कमरेडहरूले पनि यस यथार्थलाई बुझे । ‘पार्टी युनिटी’ का कमरेडहरूले पनि यो कुरालाई बुझे । खासगरेर भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वारले क्रान्तिको झण्डालाई दरोसित समात्यो । पहिले ‘पार्टी युनिटी’ को ‘पिपुल्स वार’ समूहसित एकता भयो । अनि पछि भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र एमसिसीबीच एकता भयो । यिनै दुई पार्टीको मेलबाट सन् २००४ मा बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चारु बाबुको विरासतलाई अघि बढाइरहेको छ । नक्सलबाडीले आरम्भ गरेको नयाँ जनवादी क्रान्तिको झण्डालाई थप रक्तिम बनाएर यसले माथिमाथि उचालिरहेको छ । दुस्मनको आधुनिक हतियार र चौतर्फी आतङ्कलाई चुनौती दिँदै सिङ्गो भारतभरि महान जनयुद्धको झण्डा यसले फहराइरहेको छ । क्रान्तिकारीहरू सबै यसैमा गोलबद्ध बनिरहेका छन् । सन् २०१५ मा कमरेड अजिथको नेतृत्वमा रहेको र ‘रिम’ को संस्थापक सदस्य पार्टी भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडी पनि यसमा आएर यसमा समावेस भएपछि यो झन् बलियो भएको छ ।

सम्झिन्छु लीला दीलाई । चारु कमरेडकी जीवनसाथी लीला सबैकी लीला दी हुनुहुन्थो । वहाँ पनि राजनीतिक परिवारसित सम्बद्ध हुनुहुन्थो । सन् १९४८ तिर “तेभागा” किसान आन्दोलनको समयमा केही महिना जेल पनि पर्नुभएको थियो । सम्पन्नताको जीवन खोज्नु र रोज्नु भएन दिदीले । उहाँका छोराछोरीहरू अहिले पनि भन्छन् ः

“जीवन साह्रै दुखपूर्ण थियो, तर माँले कहिल्यै पनि तेरा बाले गर्दा यसो भयो, उसो भयो भनेर गुनासो गर्नु भएन, पीर मान्नु भएन । बा मात्र होइन, आमा पनि महान हुनुहुन्छ । हाम्री आमा सबैकी लीला दी हुनुहुन्थो । उहाँले हामीलाई कहिल्यै दुखको आभास हुन दिनुभएन । केही पीडा र समस्या त झेल्यौँ, तर हाम्रो मनोवल उच्च छ, हामीले टाउको निहुराउनु परेन । १९६९ मा पिताजी भूमिगत हुनुभयो । प्रहरी खोजीमा थियो । चौबिसै घण्टा आमा निगरानीमा हुनुहुन्थो । आमाको पछि लाग्थे सिआइडीहरू—चारुलाई पक्कै भेटन जान्छे भनेर । प्रहरी र जासुसका आँखा छलेर आमा पिताजीलाई भेट्न जानुहुन्थ्यो । आमालाई उत्साहित पार्नुको साटो कतिपय नेता भनाउँदाहरू चारुले गलत लाइन लियो भनेर निरुत्साहित पार्थे । आमाले कहिल्यै यस्ता कुरामा चासो राख्नुभएन । यस्ता कुराले उहाँलाई अलिकति पनि विचलित पारेन । आँसु झार्नु भएन । जुलाई २७, १९७२ मा कलकत्ताको लाल बजारस्थित प्रहरी मुख्यालयमा पिताजीको मृत्यु भएको खबर सुनेर आमा पहिलो पल्ट भक्कानिनुभयो । मुटुको बिरामी, पिताजीलाई अक्सिजन नदिएर तड्पाईतडपाई मारिएको थियो । घटना सम्झिदै छोरा अभिजित भन्छन्—‘सेतो कपडाले छोपिएका पिताजीका खुट्टाका पैताला एकदमै काला भएका थिए, ती काला पैताला अझै पनि मेरो आँखामा घुमिरहेका छन् । पिताजीबाट मैले धेरै कुरा सिकेँ, मेरो बा नै मेरो नायक हो ।”

अपराधीहरू चारुको मृत शरीरदेखि पनि आतङ्कित थिए । थाहा नदिई दाह संस्कार गर्न भनियो । घर लान दिइएन । राइफलधारीको घेरामा दाहसंस्कार भयो ।
एकजना लेखकले लेखेको कुरा म तपाईँहरूलाई सुनाउँछु । ल सुन्नोस् ः
“जुलाई २८, १९७२
झमक्क साँझ परेको थियो । चारु दाको सासहीन शरीरलाई एकदमै गोप्य किसिमले सशस्त्र प्रहरीको सुरक्षासाथ कलकत्ताको एसएसकेएम अस्पतालबाट केवरतलाको मसानघाट ल्याइएको थियो । यस्तो लाग्थ्यो सहरमा कफ्र्युँ लगाइएको छ । सडक खाली गरिएको थियो । सडकको दुवैतिर लाइनबद्ध भएर हतियारसहित पुलिस तैनाथ थिए । तर, जति लुकाए पनि चारुको मृत्युको खबर लुक्न सकेन । यस्तो बेला पनि छेउकुनाबाट मान्छेहरू निस्केर नारा लगाएको सुनिन्थ्यो ः‘चारु दा जिन्दाबाद !’ ‘नक्सलबाडी जिन्दाबाद ।’

कति साहसी मान्छेहरू !
लामो पर्खाइपछि मृत शरीरलाई मसानघाटमा ल्याइएको थियो । त्यहाँ पनि चारैतिर अर्धसैनिक बल र सशस्त्र प्रहरी तैनाथ थिए । पीडाले मर्माहत भएको एउटा परिवारका चार जना सदस्य— एउटी आइमाई मान्छे, दुई जना केटी र एउटा केटा पुलिस दस्ताको छेउमा गम्भीर मुद्रामा उभिएका थिए–चुपचाप । एक जना पुलिसले त्यो केटाको हातमा अगुल्टो थमायो र चारु दाको मृत शरीरमा आगो झोस्न भन्यो ।”

यस्तो थियो चारु बाबुको इतिहासको अन्तिम अध्याए । सत्ताधारीका आँखामा वहाँ खतरनाक दुस्मन हुनुहुन्थो र उत्पीडत जनताको आँखाको नानी—प्यारो मान्छे ।
चारु बाबुको मुत्युपछि धरपकड र दमन तीव्र पारियो । आतङ्क थियो चारैतिर । जेलमा पनि दमन तीव्र थियो । विभिन्न जेलमा विद्यार्थी, युवाहरू, लेखक र पत्रकारहरू थिए । जेल पनि एउटा मोर्चा बनेको थियो । जेलमै मुठभेडको हल्ला गरिन्थ्यो र एकएकओटा निहुँ बनाएर हत्या गरिन्थ्यो ।

त्यतिबेर कमरेड माओको निम्तामा चारु बाबुसित सुनिती खोकान माओलाई भेट्न चीन जानुभएको थियो । माओले सबै कुरा सहयोग गर्छु भन्नुभएको थियो भनेर हामीले सुनेका थियौँ । चारु बाबुको हत्यापछि अरू नेताले त्यतातिरको चासो छाडे । माओको मृत्युपछि चिनियाँहरूले पनि यताको चासो राख्न छाडे ।

अब ५० वर्ष भएको छ । अहिले नक्सलबाडीस्थित सहिदहरू र माक्र्स , लेनिन, स्टालिन, माओ अनि चारुको स्तम्भ रङ्गाउने काम थालिएको छ । कतिपयले यसैका नाममा कमाउ धन्दा पनि गर्नेगरेका छन् । चारुले लिएको मूल्यमान्यता र क्रान्तिको बाटो त्यागेर पनि क्रान्तिको स्वाङ गर्नेहरू जब नक्सलबाडी र चारुको बखान गर्छन्, व्यङ्ग्यले हाँस्न मन लाग्छ । माओ र चारुको नाम लिने र क्रान्तिको कुरा गर्नेहरू धेरै भए पनि माओ र चारुले देखाएको बाटोमा निरन्तर अघि बढिरहेको पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) मात्रै छ । नयाँ जनवादी क्रान्तिको कुरा गर्नेहरू पनि धेरै छन्, तर, नयाँ जनवादको क्रान्तिकारी बाटोप्रति प्रतिबद्ध पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) मात्रै छ । सशस्त्र सङ्घर्षको कुरा गर्नेहरू पनि छन् । तर मालेमामा आधारित दीर्घकालीन जनयुद्धको वैज्ञानिक बाटो रोज्ने पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) मात्र छ । आदिवासी, दलितहरू र अन्य उत्पीडित समुदायको मुक्तिका लागि बलिदानको बाटो रोज्ने पार्टी माओवादी पार्टी मात्रै छ ।

त्यसैले म विश्वस्त छु नक्सलबाडीको मशाल निभ्ने छैन । यो त रक्तवीज हो, मर्ने छैन, यो क्रान्तिकारी विचार हो, निर्धानिमुखाको मुक्तिको बाटो, यो कहिल्यै पुरानो हुने छैन । संसारमा निर्धानिमुखा छउन्जेल, वर्गशोषण रहुन्जेल नक्सलबाडी मर्ने छैन । चारु बाबुले भन्नुभएको थियो ः “नक्सलबाडी झन् फैलने छ, अब हज्जारौँ नक्सलबाडीहरू जन्मने छन्, नक्सलबाडी मरेको छैन र कहिल्यै मर्ने पनि छैन ।”

थुप्रै द्रौपदीहरू अहिले पनि नाङ्गिन बाध्य छन्, मर्न बाध्य छन् । यी हेर्नोस् यो छत्तिसगढको भर्खरैको समाचार, अनि यो फोटो ः
“आदिवासी महिलालाई नक्सलीको आरोप लगाएर थानामा ल्याएर कयौँ दिनसम्म बलात्कार गरेर अन्तिममा मुठभेड भनेर हत्या गरी लास जङ्गलमा फ्यालियो, आदिवासी गाउँलेले थाना घेराउ गरे ।”

हरेक दिन यस्ता समाचारले भरिएका हुन्छन् समाचारपत्रहरू । अनि कसरी मर्छ नक्सलबाडी ! अनि कसरी चुपचाप बस्छन् दोप्ती र द्रौपदीहरू ? हिजो हामीले धनुषकाँढ बोक्यौँ, अहिले उनीहरू एके(४७ बोकेर दुस्मनविरुद्ध भिडछन् । कहाँ मरेका छन् र सपनाहरू !

चारु बाबुले भन्नुभएको थियो ः “जो आफू पनि सपना देख्दैन र अरूलाई सपना देख्न सक्ने बनाउँदैन, ऊ क्रान्तिकारी हुन सक्तैन ।”
म नक्सलबाडीकी आमा, म दोप्ती, म महेश्वेता दिकी द्रौपदी, विश्वस्त छु । मरेका छैनन् हाम्रा सपनाहरू र कहिल्यै मर्ने छैनन् निर्धानिमुखाका सपनाहरू । सपना देखाउनेहरू पनि मरेका छैनन् । ती आन्ध्रमा लडिरहेका छन् । उडिसामा लडिरहेका छन् । छत्तिसगढ, झारखण्ड बिहार बङ्गाल, मणिपुरमा लडिरहेका छन् । ती पेरू, टर्की र फिलिपिन्समा लडिरहेका छन्, नेपालमा लडिरहेका छन् । जहाँजहाँ अन्याय, अत्याचार र उत्पीडन छ, त्यहाँत्यहाँ लडिरहेका छन् । त्यसैले त भन्छु ः
“तुम्हारबाडी, अमारबाडी नक्सलबाडी ! एकइ रास्ता ।।। एकइ रास्ता नक्सलबाडेर एकइ रास्ता ।”
स्रोत : जनमेल डटकम

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!