थबाङमा न्यून मतदान

काठमाडौं : यता शून्य मतदान गर्ने रेकर्ड कायम गरी सवैको चासोको केन्द्र भनेको रोल्पाको थबाङमा न्यून मतदान भएको छ । थबाङमा निकै बाक्लो सङ्ख्यामा परिचालन गरिएको प्रहरी र सेनाको टोलीले घरघरमा पसेर वृद्धवृद्धा, महिला र अशक्तहरूलाई ल्याएर मतदान गर्न लगाएको थियो । दिउँसो १ बजेसम्म पनि मतदान स्थलमा कोही पनि नपुगेपछि प्रहरीले घरघरबाट मतदाता ल्याउन सुरु गरेको थियो । निर्वाचनमा सुरक्षा चुनौती रहेको भनिएको रोल्पामा माओवादी नेता वर्षमान पुन लगातार ३ पटक चुनाव खारेजीवालाको आक्रमणमा परेपछि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षा स्रोतका अनुसार रोल्पामा सेनाका पृतनापति र प्रहरीका एआईजी नै फिल्डमा रहेका थिए । सामान्यतः जिल्लामा प्रहरीको इन्स्पेक्टर अथवा डीएसपीले आवश्यकताअनुसार सुरक्षा नेतृत्व समाल्ने गरेका हुन्छन् । तर रोल्पामा सेना र प्रहरीका उच्च अधिकारीहरूलाई फिल्डमा खटाउनुलाई नेकपाबाट हुनसक्ने सम्भावित आक्रमणको त्रास भएको बुझिएको छ । यस्तै प्रहरीको विशेष स्रोतका अनुसार रोल्पा विशेषगरी थबाङलाई लक्षित गरी छोटो हतियारसहितका ६५ जना कमान्डो र अनुसन्धानको टोली परिचालन गरिएको थियो ।

निर्वाचन टोलीलाई जनताले लखेटे

उता रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएको छ । काँडा र बाँफीकोटमा रहेका दुई मतदान केन्द्रका मतपेटिकामा आगो लागेपछि पुनः मतदान गर्नुपर्ने भएको हो । मतपेटिकामा आगो कसले लगाएको भन्ने थाहा भएको छैन तर नेकपा समर्थकहरू यसमा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै रुकुमकै चौहरजहारीमा मतपेटिका बोकेको निर्वाचन टोली नेकपाका कार्यकर्ताको लखेटाइबाट तितरबितर हुनपुगेको छ । हिमाली जिल्ला मुगुमा निर्वाचनका लागि गएको सुरक्षाकर्मीसहितको टोलीलाई पनि स्थानीयले लखेटेका छन् । स्रोत : रातो खबर साप्ताहिक
मंसिर १३

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :