चुनावको दिन कहाँ के के भयो ?

व्यापक हवाईगस्ती, दोहोरो गोली हानाहान
 कर्मचारीले हाले फर्जी मत
अम्बिका चन्द / काठमाडौं : जनयुद्धकालीन आधारइलाका कालीकोटले नेकपाको चुनाव खारेजी अभियानमा प्रतिरोधको अर्को नमुना पेस गरेको छ । आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने समयमा कालीकोट दिनभर तनावग्रस्त बन्यो । जनयुद्धको झल्को दिने गरी दिनभरिजसो ३ वटा हेलिकोप्टरले जङ्गल क्षेत्रमा अन्धाधुन्द गोली प्रहार गरिरहे । संसदीय व्यवस्थाप्रति वितृष्णा जगाएका कालीकोट मालकोटका बासिन्दा मतदान गर्न नगएपछि मतदान केन्द्र सुनसान भयो । शून्य मतदान हुने अवस्था देखेपछि प्रहरी घरघरमा पसेर स्थानीय बासिन्दालाई जबरजस्ती मतदान स्थलसम्म ल्याउन खोज्दा त्यहाँ दोहोरो झडप भयो । प्रहरीले गाउँमा गस्ती गर्दा पनि मतदाता मतदान स्थलसम्म नपुगेपछि सेना, प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरूले नै मतदान गरेर मतपेटिका सदरमुकामतर्फ लगेको बताईएको छ ।

प्रत्यक्षदर्शी स्थानीय बासिन्दाका अनुसार सल्लारूखमा दिउँसै गोली हानाहानसमेत भयो । प्रहरीले गाउँमा गस्ती सुरु गरेपछि भागेका स्थानीयले जङ्गलतिरबाटै प्रहरीमाथि आक्रमण गरे । लगत्तै आकाशबाट हेटिकोप्टरले जङ्गल क्षेत्रमा गोलाबारी गरेको थियो । कालीकोटमा निर्वाचनको अघिल्ली दिनदेखि नै तनाव उत्पन्न भएको थियो ।

निर्वाचन सामग्री नष्ट, प्रहरीसहित चार घाइते

शनिबार राती मुम्रामा निर्वाचन सुरक्षाका लागि गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त हुँदा २ प्रहरीसहित ४ जना गम्भीर घाइते भएका थिए । प्रहरी नायव निरीक्षक गिरिराज भण्डारी, प्रहरी जवान रामबहादुर चौधरी र अन्य दुई स्थानीय घाइते भएका हुन् । बेलुका ९ बजेबाट ११ बजेसम्म दोहोरो भिडन्त भएको थियो । त्यसपछि स्थानीयले मुम्राको क्युरी मतदान केन्द्र कब्जामा लिई निर्वाचन सामग्री नष्ट गरिदिएका थिए । स्थानीय युवाहरूले निर्वाचनका लागि गएका प्रतिनिधिहरूबाट सम्पूर्ण सामग्री खोसेर नष्ट गरिदिएपछि त्यहाँ प्रहरीले ३ जना युवालाई पक्राउ गरेको थियो । तर गाउँका सबै महिलाहरू एकजुट भएर ती युवालाई प्रहरीको हातबाट खोसेर फिर्ता ल्याएका थिए । निर्वाचनमा अत्यधिक सुरक्षा खतरा भन्दै सेना र प्रहरीको गस्ती र हवाईगस्ती गर्दै फेरि निर्वाचन सामग्री त्यहाँ पु¥याईएको भए पनि मतदान हुन सकेन ।

त्यस्तै मेहलडीमा पुगेका निर्वाचन टोलीका प्रतिनिधि र प्रहरी फिर्ता हुन नसकेपछि त्यहाँ पनि हेलिकोप्टरको प्रयोग गर्नुपरेको थियो । यस्तै रुप्सा, कुमालगाउँ, कोडबाडा, रकुलगायत मतदानकेन्द्रहरूमा प्रहरीले घरघरबाट स्थानीयहरूलाई ल्याएर मतदान गर्न लगाए पनि निकै न्यून मत खसेको छ । कुल मतदाता सङ्ख्याको दस प्रतिशत मात्र मत खसेको बताइएको छ । निर्वाचनको दिन कालीकोटमा दिनभरि नै सेनाले हवाईगस्ती गर्नुपरेको थियो भने नेकपा समर्थित स्थानीय बासिन्दाले दुई दर्जनभन्दा बढी स्थानमा बम विस्फोट गराएका थिए । स्थानीय निर्वाचनको बेला पनि कालीकोटमा भएको दोहोरो झडपमा १ जनाको ज्यान गएको थियो भने एक दर्जनजति घाइते भएका थिए । स्थानीयले प्रहरीबाट कब्जा गरेका हतियार नेकपाको पहलमा फेरि प्रहरीलाई नै फिर्ता गरिएको थियो । स्रोत : रातो खबर साप्ताहिक
मंसिर १४

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :