किन भयो जनार्दनमाथि चप्पल प्रहार ? – अम्बिका चन्द

सामाजिक संजाल फेसबुकमा बिहिवार र शुक्रबार माओवादी केन्द्रका नेता एवं देउवा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि रुकुममा एक छात्राले सार्वजनिक सभामा चप्पल हानेको घटना चर्चाको विषय बन्यो । कतिपयले आ–आफ्नो फेसबुक वालमा ‘सलाम निर्मला बहिनी’ भनेर लेखे भने कसैले ‘बहादुर क्रान्तिकारी योद्धाको’ उपमा दिए । कसैले भने ‘बर्ग बदलेका नेताप्रति सहिदपरिवारको तर्फबाट ब्यक्त आक्रोस’ जस्ता थरीथरीका प्रतिक्रिया ब्यक्त गरे । 

पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शर्मालाई बिहीबार बाँफीकोटको नेटामा चुनावी सभा भैररहेको बेला मञ्चमै पुगेर निर्मला खड्काले चप्पल प्रहार गरेकी हुन् । स्यार्पु बहुमुखी क्याम्पस, बाँफिकोटमा कक्षा १२ मा अध्यनरत निर्मला जनयुद्धमा बलिदान गर्ने सहिदकी बहिनी हुन् । उनको परिवारबाट ७ जनाले जनयुद्धमा बलिदान गरेका छन् । उनका परिवारमा उनकी आमाबाहेक सबै सदस्यहरु अहिले पनि नेकपाका पुर्णकालिन कार्यकर्ता छन् । उनका बुबा चन्द्रबहादुर नेकपा रुकुमका सचिवालय सदस्यसमेत हुन् ।

शक्ति र पैसाको बलमा पटक–पटक सत्तामा पुगेका र अरबौ सम्पत्ति जम्मा गरेको आलोचना खेपिरहेका शर्मा माओवादी केन्द्रका नेता मात्र नभई गृहमन्त्री, शान्तिमन्त्री र उर्जा मन्त्रीसमेत भइसकेका छन् । उनले सत्तामा पुगेपछि सहिद परिवार, बेपत्ता परिवार, कार्यकर्ता र जनताका लागि केही नगरेको बरु आफन्तजनहरुलाई पोस्ने काम गरेको भन्ने गुनासाहरु आइरहेको बेला एउटी १६ वर्षीया छात्राले उनलाई चप्पल प्रहार गर्न पुगेकी छिन् । यो घटना जनार्दन मात्र नभई संसदीय ब्यवस्थालाई फेर्न भन्दै सिहंदरबार छिरेका र उतै संसदीय भासमा भासिएको माओवादी केन्द्रप्रतिकै प्रहार हो ।

मंगलबार बिहान निर्मलाको एनसेल नम्बरमा फोन सम्पर्क गरेर प्रभाकरमाथि चप्पल प्रहार गरेको हो कि होइन भनेर बुझ्न खोज्दा निर्मलाले निसंकोच भनिन् – हो, मैले जर्नादनलाई चप्पल प्रहार गरेकी हुँ । जग्गाको विषयमा मेरो बुवालाई सोधे हुन्छ । हामीले जग्गा विक्रिवितरण गर्न पाएका छैनौं । हाम्रा सहिद दाजुहरुको राहत रकम पनि परिवारले नपाएको अवस्था छ । शान्तिमन्त्री हुँदा जनार्दनले नै राहत रकम रोकिदिएका हुन् भन्ने छ । अस्ती मात्र विद्यालय पढ्न गएको मेरो सानो १४ वर्षको कक्षा ९ मा पढने भाइ पूर्णलाई विप्लव निकट विद्यार्थी संगठनमा बस्यो भनेर जनार्दनले पक्राउ गर्न लगाएर ३९ दिन हिसासतमा राखियो । मलाई यस्तै कुराले आक्रोस पैदा भयो र उनलाई सार्वजनिक स्थानमा चप्पल हाने ।’ नेकपा निकट अखिल (क्रान्तिकारी) को जिल्ला संगठनमा रहेर काम गर्ने निर्मलाले कुराकानीको क्रममा यसो पनि भनिन्– ‘देशलाई आमूल परिवर्तन गर्ने जुन सपनासहित सहिदहरुले रगत बगाएका थिए, त्यसको आज अपमान भएको छ । मेरो परिवारबाट मात्र ७ जनाको शहादत भएको छ । यस्तै देशैभरि छन् । भाषणमा मात्र राम्रा कुरा गर्ने नेताहरुको कारण आज देशको अवस्था यस्तो छ र हामीले यो नियती भोगिरहेका छौं ।”

पश्चिम रुकुममा पर्ने बाँफिकोटमा एमाले–माओवादी गठबन्धनको चुनावी सभामा शर्माले भाषण गरिरहँदा उनीमाथि सहिदपरिवारबाट ब्यक्त आक्रोसपछि सभा नै बिथोलिएको थियो । निर्मला भन्छिन्– ‘म कार्यक्रम कस्तो रहेछ भनेर हेर्न गएकी थिएँ, जनार्दन बोल्दै थिए । अनि नजिकै गएर केही समय सुनेँ । उनले भाषणमा बोलेका कुरा र व्यवहारिक क्रियाकलापबीच फरक थिए । मनमा एकखालको आक्रोस पैदा भयो र लगाइरहेको चप्पल निकालेर मञ्चमा हिर्काएँ । मैले नजिकैबाट प्रहार गरेको कारण उनको ज्याकेटमा धुलोको छाप बस्यो । अनि हल्लाखल्ला मच्चियो । अनि मलाई तत्काल प्रहरीले नियन्त्रणमा लिए । पछि के भयो थाहा भएन ।’

नयाँ क्रान्तिकारी शक्तिको रुपमा स्थापित हुँदै गएको नेकपा धेरै मानिसहरुको आशाको केन्द्र बनेको छ । सर्वसाधारण मानिसमा देशमा केही गरे विप्लवले गर्छ नत्र अरु कसैले पनि केही गर्दैनन् भन्ने गरेको पाइन्छ । नेपाली क्रान्तिको नयाँ प्रारुप तयार गरेर क्रान्तिकारी आन्दोलनलाई नयाँ दिशा प्रदान गर्नेे अठोट गरेका युवा नेता विप्लवप्रति यी किशोरीको पनि आशा रहेछ । उनले भनिन– ‘हाम्रो देशमा भएको विकृति, विसंगति, भद्रगोलको अन्त्य गरेर नयाँ कम्युनिस्ट समाज बनाउने काम नेकपाले गर्दछ भन्ने आशा लागेको कारण म नेकपाप्रति विश्वास र समर्थन गर्दछु । मलाई मनपर्ने नेता पनि विप्लव नै हुन् । मैले उहाँलाई राम्रोसँग चिनेको छु ।’

निर्मललाले शर्मामाथि चप्पल प्रहार गरेको घटनापछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लियो र घटना गोप्य राख्यो । नेकपा रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढा भन्छन– ‘अहिलेसम्म हाम्रो जिल्लामा १९ जनालाई पक्राउ गरिएको छ । धेरै जनालाई राजनैतिक पूर्वाग्रहको आधारमा पक्राउ गरिएको छ । घरमा काम गरिरहेका, बिरामी परेर आराम गरिरहेकालाई समेत प्रहरीले छोडेको छैन । निर्मला बहिनीलाई मात्र भोलिपल्ट नै छोडेको छ । चप्पल काण्डको हल्ला बाहिर आउन नदिन उनलाई छोडिएको हो ।’ यदि उनलाई पक्राउ गरेर लामो समयसम्म प्रहरी नियन्त्रणमा राखेपछि चप्पल काण्डले झन् चर्चा पाउने र नेता मन्त्री जस्तो व्यक्तिको बेइज्जत हुने भएकोले सल्लाह गरेर तल्काल निर्मलालाई रिहाई गरिएको माओवादी केन्द्रकै स्थानीय कार्यकर्ताले नै बताउने गरेका छन् ।

स्मरणीय छ रुकुममा २०४६/४७ सालतिर तत्कालिन पञ्चेबाट रातारात कांग्रेस बनेका गोपालजीजंग शाहलाई स्थानीयहरुले जुत्ताको माला लगाएको र कालोमोसो दलेको घटनापछि जनस्तरबाट नेतामाथि कारवाही भएको यो पहिलो घटना हो । यो घटना शक्ति र सत्तामा रहेका भनिएका नेताहरुप्रति जनस्तरमा आक्रोस यस्तो छ भन्ने उदाहरण पनि हो । बेलाबेलामा यस्तो घटनाहरुले चर्चा पनि पाउने गरेका छन् । केही समय पहिले माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डलाई काठमाडौंमै एक युवाले थप्पड हानेको घटना पनि चर्चाको विषय बनेको थियो । थप्पड हान्ने युवालाई तत्काल पक्राउ गरिएको थियो । केही समय अगाडि पूराना कम्युनिस्ट नेताले चितवनको सभामा माके नेता अमिक शेरचनमाथि पनि त्यस्तै आक्रोश पोखेका थिए ।

यस्तै भूतपूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई एकजना इराकी पत्रकारले जुत्ताले हिर्काएको समाचार संसारभर फैलिएको थियो । ति इराकी पत्रकारले संचारमाध्यममा भनेका थिए– मैले बुशको अनुहार हेरें र इराकलगायत देशहरुमा अमेरिकाले गरेको अत्याचार सम्झिएँ । मेरो मनमा एउटा आक्रोस जन्मियो र जुत्ता प्रहार गरेँ ।’ उनले अमेरिका र त्यहाँका राष्ट्रपतिप्रति इराकलगायत देशका जनताको आक्रोस कस्तो छ भनेर सन्देश दिन पनि जुत्ता प्रहार गरेका थिए । त्यस्तै मिल्लोजुल्दो घटना रुकुमको बाँफिकोटमा भएको छ । ब्यक्तिको ब्यक्तित्वमाथि अपमान हुने भयले घटनालाई गोप्य राख्ने कोशिस गरिएको छ । तर समाजवाद र साम्यवादको सुन्दर सपना देखाएर संसदवादमा पतन भएको माओवादी केन्द्र र त्यसका नेताहरुप्रति सहिदपरिवारहरुको तर्फबाट भएको यो आक्रोसपूर्ण प्रतिनिधि घटना हो भन्दा अन्यथा नहोला । रातो खबर साप्ताहिकबाट
२०७४ मंसिर १२ गते अपरान्ह ५ :५१ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :