निर्वाचन खारेजी र जनप्रतिरोध निर्वाचन खारेजी र जनप्रतिरोध : चिरन पुन

आज नेपालको परिवेशमा देउवा सरकारले अवलम्बन गरेको नीति हिटलरी नीतिसँग मिल्दोजुल्दो छ भन्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई मात्र हैन, समर्थक जनता र समर्थकको घरमा पालेको कुकुरलाई पनि नछोड्नू भन्ने आदेश यो सरकारले गरेको छ । देशभरबाट निर्दोष, घरमा बसेका समर्थकलाई रातिराति घर घेरा हालेर सङ्कटकालमा जस्तो गरी गिरफ्तार गरेको छ । झूट्टा मुद्दा लगाउने, विभिन्न शारीरिक तथा मानसिक यातना दिएको छ । शान्तिपूर्ण कार्यक्रममा रोक लगाएको छ । वालपेन्टिङ गर्न आफ्नो विचारको प्रचारप्रसार गर्नसमेत बन्देज लगाएको छ ।

दलाल संसद्वादी सत्ताले तोकेको प्रतिनिधिसभा र प्रदेशसभाको कथित निर्वाचन नजिकिँदै गर्दा जनतामा नयाँ तरङ्ग पैदा भएको छ । एकातिर नेका, एमाले र मधेशवादी गठबन्धनको नेतृत्वमा दलाल संसद्वादी कथित चुनावलाई टुप्पी देखिको बल लगाएर नौटङ्की गर्न कस्सिएका छन् भने अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको वैज्ञानिक र वैचारिक आधारमा जनताले यसका विरुद्ध प्रतिरोध, असहमति र खारेज गर्दै वैज्ञानिक सत्ताको बीजरोपण गरेका छन् । भ्रष्ट उम्मेदवार लक्षित दिनहुँ बम विस्फोट भैरहेको छ । उम्मेदवारहरूलाई जनताले गाउँ छिर्न नदिन ढुङ्गामूढा गरेका छन् । सहिद परिवारले उम्मेदवारलाई चप्पलले हानेका छन् । विभिन्न ढङ्गले यो कथित निर्वाचनलाई जनताले अस्वीकार र असहमति प्रकट गरेका छन् । यो सन्दर्भमा आज देखिएको राजनीतिक, वैचारिक, आर्थिक अन्तरविरोधलाई हेर्न, बुझ्न र जान्न आवश्यक हुन्छ । 

आजको विश्वपरिवेश 
अहिले विश्वमा बहुध्रुवीय अन्तरर्विरोध छ । साम्राज्यवादी शक्तिहरूको अन्तरर्विरोध एकातिर छ भने अर्कोतिर साम्राज्यवादी र वैज्ञानिक समाजवादी दर्शन, विचार, राजनीतिका बीच पनि चर्को अन्तरविरोध सतहमा आएको छ । विश्वस्तरमा देखापरेका अन्तरविरोधले तेस्रो विश्वयुद्धको परिवेशलाई निम्ता दिएको आकलन विश्लेषकहरूको छ । हामीलाई थाहा छ, प्रथम विश्वयुद्ध साम्राज्यवादी स्वार्थको टकरावको परिणाम थियो जसले धेरैभन्दा धेरै उपनिवेश कब्जा गर्न चाहन्थे । दोस्रो विश्वयुद्ध विश्व कब्जा गर्ने फासिवादी अहङ्कारका कारण भयो जो प्रवृत्ति र विचार दोस्रो विश्वयुद्धको अन्त्यसम्म आइपुग्दा चकनाचुर मात्र भएन, निर्लज्ज प्रकारले पराजित पनि भयो । 

अहिले विश्वमा देखापरेका अन्तरविरोधहरूलाई यसरी उल्लेख गर्न सकिने अवस्था रहेको छ ः एक, विभिन्न साम्राज्यवादी शक्तिकेन्द्रहरूबीच देखापरेको अन्तरविरोध । दुई, शक्तिराष्ट्र र मुस्लिम देशहरूबीच देखापरेको अन्तरविरोध । तीन, उत्तरसाम्राज्यवाद र वैज्ञानिक समाजवादी देशहरूका बीच देखापरेको अन्तरविरोध । चार, दलाल प्रवृत्ति र उत्पीडित जनताबीच देखापरेको अन्तरविरोध । पाँच, उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रवीच देखापरेका अन्तरविरोधहरू ज्वलन्त छन् । यी अन्तरविरोधका कारणले गर्दा तेस्रो विश्वयुद्ध नजिकिएको आकलन विश्वराजनीतिमा चर्चा भैरहेको छ । यसले निश्चय नै नेपालको आर्थिक र राजनीतिक परिवेशलाई पनि जबर्जस्त जोड्नेछ वा तान्नेछ भन्न सजिलै सकिन्छ । अमेरिका र जनगणतन्त्र कोरिया (उत्तरकोरिया) बीच चलेको द्वन्द्व, कोरियन क्षेत्रमा भएको अन्तरविरोध, मध्यपूर्वमा देखिएको अन्तरविरोध, साम्राज्यवाद र मुस्लिम राष्ट्रबीचमा चलेका द्वन्द्वको कारक तत्व उल्लिखित विषयहरूमा नै केन्द्रीकृत बन्न पुगेको छ । 

नेपालमा देखिएका अन्तरविरोध र कथित निर्वाचन

विश्व राजनीतिको अन्तरविरोधले नेपालको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अन्तरविरोधको परिवेशलाई पनि सतहमा उतारिदिएको छ । आजको सन्दर्भमा भन्दा नेपालको अन्तरविरोध र सङ्घर्षले पनि नयाँ चरणमा आफ्नो स्थान ओगट्न पुगेको छ ः पहिलो, दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको अन्तरविरोध । दोस्रो, दलाल सत्ता र देशभक्त शक्तिबीचको अन्तरर्विरोध । तेस्रो, संसद्वादी—संसद्वादी दलबीचको अन्तरविरोध । चौथो, दलाल सत्ता र आमउत्पीडित वर्ग, राष्ट्र, क्षेत्र, लैङ्गिक समुदायबीचको अन्तरविरोध । 

आज हाम्रो देशमा देखिएका अन्तरविरोध यसैको जगमा केन्द्रित छ । यो कुरा कथित निर्वाचनका विषयमा पनि लागू हुन्छ ।

पहिलो , आज नेपालमा एकातिर दलाल सत्ता छ भने अर्कोतिर क्रान्तिकारी शक्तिहरू छन् । दलाल सत्ता आफ्नो सत्तालाई झन् बलियो बनाउन चाहन्छ । त्यसको प्रयोग कथित संसदीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमार्फत गर्न चाहन्छ । ऊ आफ्नो सत्ताको सुदृढीकरण र विस्तार कथित चुनावमार्फत झनै स्थापित गर्न चाहन्छ । उनीहरू राज्यको करोडौँ ढुकुटी खर्चेर भए पनि आफूले चुनाव जित्न मरिहत्ते गरिरहेका छन् भने अर्कोतिर क्रान्तिकारी शक्ति पनि उत्ति नै क्रियाशील छन् । त्यसको नेतृत्व राजनीतिक हिसाबले नेपाल कम्युनिस्ट पार्टीले कथित चुनाव खारेजको नीतिमार्फत गरेको छ । आमक्रान्तिकारी र उत्पीडित जनताले नेपाल कम्युनिस्ट पार्टीको त्यो नीतिलाई समर्थन गरेर स्वतस्फूर्त प्रतिरोेध र खारेजमा लागेका छन् । जनताले दलाल सत्ताको कथित चुनावको नौटङ्कीलाई अस्वीकार मात्र गरेका छैनन्, बरु बम विस्फोटसम्म उत्रिएर प्रतिकार गरेका छन् । दलाल सत्ताका मतियार संसद्वादी दलका नेतालाई गाउँमा पस्न नदिन ढुङ्गामूढा गरेका छन् । बाटो अवरोध गरेका छन् । सहिद परिवारले नेतालाई चप्पलले हानेका छन् । गुन्डाहरू, ठेकेदारहरू र व्यापारीहरूको चङ्गुलमा पुगेको नेपाली राजनीतिको खुलेरै असहमति र विरोध जनस्तरबाटै भएका छन् ।
 दोस्रो, एकातिर दलाल सत्ताले कथित चुनावमार्फत आफूले छानेका विश्वासपात्रहरूलाई चुल्ठे, मुन्द्रे, पैसा, सत्ताका दुरुपयोग गरेर वा जुनसुकै हतकन्डा प्रयोग गरेर जिताउने र आफ्नो स्वार्थ पूरा गर्ने नीतिमा केन्द्रित छन् । अहिले जेसुकै गठवन्दनमा भए पनि तिनै राष्ट्रघाती, नदीनाला बेचुवा, भ्रष्टाचारी, रातो पार्सपोर्ट दुरुपयोगकर्ताहरू, पजेरोकाण्डमा फसेकाहरू, पुरुष भएर सुत्केरीको भत्ता खानेहरू नै लाचार अनुहार लिएर कथित चुनावको नाममा जनतामा फर्कने कोसिस गरेका छन् यो कुरा देशभक्त, राष्ट्रवादी र जनताको हित चाहने मानिसहरूलाई कत्ति पनि मन परेको छैन त्यसैले उनीहरू पनि यो कथित चुनावको विरुद्धमा जतिसक्दो कथित चुनाव खारेज अभियानमा लामबद्ध हुन पुगेका छन् र कथित चुनावको प्रतिकारमा लामबद्ध भएका छन् । विभिन्न पार्टीभित्र रहेका, कर्मचारीभित्र रहेका, सुरक्षा निकायभित्र रहेका, न्यायालयभित्र रहेका राष्ट्रभक्त र देशभक्तहरूको मिलन भएको छ कथित चुनाव खारेज अभियान । अवश्य यसले कथित निर्वाचनको राजनीतिक महत्वलाई चकनाचुर पार्दै धुलोमा मिलाइदिनेछ । राष्ट्रभक्त र देशभक्तहरूको एकतालाई बल पु¥याउनेछ । 

तेस्रो, संसद्वादी–संसद्वादीबीचमा पनि चर्को अन्तरविरोध कायमै छ । तर त्यो उनीहरूको अन्तरविरोध भनेको आफ्नो सुविधा, अवसर र कुर्सीस्वार्थमा मात्र केन्द्रित छ । उनीहरू सबै “एउटै ड्याङका मूलाहरू” जस्तै हुन् किनकि उनीहरू साम्राज्यवादलाई कसले बढी रिझाउने, कसले बढी राष्ट्रघात÷ जनघात गर्ने, कसले बढी सुख÷सुविधा लिने, कसरी धेरै भ्रष्टाचार गर्नेजस्ता कुरामा मात्र केन्द्रित छन् । त्यसैले उनीहरू एकल पार्टीबाट चुनावमा जाँदा आफू पराजित हुने र आफ्नो कुर्सीस्वार्थ गुम्ने डरले एकाएक गठबन्धनमा गएको कुरा दिनको घामझैँ जनताले छर्लङ्गै देखेका छन् । मानौँ यसलाई प्राकृतिक नै गठबन्धन मानिएला तर यसबाट फल प्राप्त हुनेछैन, यसले बब्चा दिनेछैन वा यसले जनतालाई परिणाम दिनेछैन । किनकि यिनीहरू साम्राज्यवादका पाल्तु ब्वाइलर कुखुराहरू हुन् । उनीहरूबीचको अन्तरविरोध केवल सत्ता, कुर्सी र स्वार्थमा मात्र केन्द्रित छ भन्ने कुरा हजारौँ प्रमाणसहित ठोकेरै भन्न सकिन्छ । 

चौथो, एकातिर दलाल सत्ता छ भने अर्कोतिर उत्पीडित वर्ग, क्षेत्र, लिङ्गका आम जनसमुदायहरू छन् । नेपाली काङ्ग्रेसको गठबन्धनमा रहेका दलहरू, एमालेको नेतृत्वमा रहेको गठबन्धन र मधेसवादी दलहरूको गठबन्धनले यिनै दूषित साम्राज्यवादको दलाली र गुलामीको काम गरेका छन् । साम्राज्यवादको मतियार र एजेन्ट बनेर कथित चुनावमार्फत आफ्नो मालिकलाई झनै बढी खुसी बनाउन चाहन्छन् र त्यसका साथै आफूले पनि सुविधा लिन चाहन्छन् भने अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक, वैचारिक र सङ्गठनात्मक नेतृत्वमा देशभरका उत्पीडित वर्ग, क्षेत्र र लिङ्गका समुदायहरू गोलबन्द हुँदै यो कथित चुनाव खारेज अभियानमा लामबद्ध भएका छन् । यो अन्तरविरोधको असर पनि अहिले कथित निर्वाचन खारेजको अभियानमा केन्द्रीकृत बनेर देखिएको छ । 

पाँचौँ, अहिले नेपालमा दुईवटा सरकार, सेना, न्यायालय क्रियाशील छ । पहिलो जनताको सरकार (जनसत्ता) नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड सन्तोष बुढा “विषम” को नेतृत्वमा र दोस्रो राष्ट्रघाती, जनघाती र जनविरोधी साम्राज्यवादको मतियार दलाल सत्ताको ऐजेन्ट देउवाको नेतृत्वमा छ । दुईवटा सेना छन् र न्यायालय पनि दुईवटा छन् । दर्शन, विचार, राजनीति पनि दुईवटा छन् । त्यसैले एकातिर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमार्फत अघि बढ्ने वैज्ञानिक र सही क्रान्तिकारी विचार, राजनीति छ भने अर्कोतिर साम्राज्यवादको मतियार र दलाल संसदीय सत्ता, विचार र राजनीति छ । यो दुई विपरीत अन्तरविरोधका बीच जनता कथित निर्वाचन खारेज गर्दै वैज्ञानिक समाजवादतर्फको बाटो पहिल्याउने अठोटका साथ कथित निर्वाचनका विरुद्ध लामवद्ध छन । यसको प्रत्यक्ष असर आज कथित निर्वाचनविरोधी गतिविधिमा विभिन्न ढङ्गले केन्द्रीकृत हुन पुगेको छ । 

कथित निर्वाचन र देउवा सरकारको दमन 

“तीव्र गति र क्रूरतामा सारा शक्ति लुकेको हुन्छ ः हिटलर ।” यो कुरा दोस्रो विश्वयुद्धका बेला विश्व तानाशाहका बादशाह हिटलरले भनेका थिए । तर यही कुराले हिटलर आफ्नो सत्ताबाट त च्यूत हुन पुगे, यसले उनको आत्महत्यालाई समेत रोक्न सकेन । आज नेपालको परिवेशमा देउवा सरकारले अवलम्बन गरेको नीति हिटलरी नीतिसँग मिल्दोजुल्दो छ भन्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई मात्र हैन, समर्थक जनता र समर्थकको घरमा पालेको कुकुरलाई पनि नछोड्नू भन्ने आदेश यो सरकारले गरेको छ । देशभरबाट निर्दोष, घरमा बसेका समर्थकलाई रातिराति घर घेरा हालेर सङ्कटकालमा जस्तो गरी गिरफ्तार गरेको छ । झूट्टा मुद्दा लगाउने, विभिन्न शारीरिक तथा मानसिक यातना दिएको छ । शान्तिपूर्ण कार्यक्रममा रोक लगाएको छ । वालपेन्टिङ गर्न आफ्नो विचारको प्रचारप्रसार गर्नसमेत बन्देज लगाएको छ । सङ्कटकालमा जस्तो गरी सेनाको घेराबन्दीमा कथित चुनावको नाटक मञ्चन गरिँदैछ । 

यो परिवेशले के बताउँछ भने सरकार युद्ध चाहन्छ, अझ हतियारको युद्ध । यो सरकार तानाशाही दमन चाहन्छ, त्यो पनि हिटलरी शैलीमा । यो सरकारले फासिवाद चाहन्छ, त्यो पनि तत्कालीन इटालियन मुसोलिनोको तरिकाले । यो परिस्थिति नरोकिएमा अब जनताले विचार गर्नु पर्नेछ । कथित निर्वाचनका सन्दर्भमा जनताका तर्फबाट भएगरिएका प्रतिकारलाई देखेर विभिन्न दलाल सत्ताका मतियार पात्र र प्रवृत्तिहरू जुकाजस्तै गरी फेरि जाग्न थालेका छन् । टेलिभिजनहरूमा कथित विज्ञका नाममा उफ्रिन र कुतर्क दिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीलाई दमन गरेर तह लगाउनुपर्छ भनेर बुरुकबुरुक उफ्रिन र भौँतारिन थालेका छन् । उनीहरूका लागि यति मात्र भन्न सकिनेछ, तिम्रा जेल, नेल, दमन, बन्दुक, कानुन र चुरिफुरीले क्रान्तिकारीहरूलाई डगमगाउन सक्नेछैन । इतिहाँस पढेका छौ भने, बुझे हुन्छ, सन्दर्भ हेरेका छौ भने मनन गरे हुन्छ जारको दमन, हिटलरको तानाशाही, मुसोलिनीको फासिवाद र नेपालका राणा, पञ्चहरू टिक्न सकेनन् । अब तिम्रो लूटको स्वर्गको आयु धेरै समय रहनेछैन । जनताले बुभिसकेका छन् फेरि एकीकृत जनक्रान्तिमा लामबद्ध हुने दिन नजिक आएको छ । फेरी शिरमा कफन बाधेर उठ्ने दिन नजिक आएको छ । फेरि दुस्मनलाई धावा बोल्ने दिन नजिक आएको छ । त्यसैले नेपाल कम्युनिस्ट पार्र्टीले घोषणा गरेको कथित निर्वाचन खारेजको नीति र निर्वाचनविरुद्ध जनताको प्रतिकार सही र वस्तुस्थितिको आनिवार्य आवश्यकता बनेको छ ।

२०७४ म्ंसिर ११ गते ८ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :