मतदान केन्द्रमै बम विष्फोट

ताप्लेजुङ : ताप्लेजुङस्थित मतदान स्थलमा बम विष्फोट भएको छ । जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै शनिबार बम बिष्फोट भएको हो । विष्फोट भएको ठाउँमा १ मिटर गहिरो खाल्डो परेको छ ।

आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि बाँस गाड्ने क्रममा जमिनमुनि गाडिराखेको बम विस्फोट भएको मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताए ।

ठूलो आवाजसहित बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । तर, नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीले जानकारी दिए ।

विद्यालयको भवन अघि खेलमैदानमा म्यादि प्रहरी, कर्मचारीसहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा जमिनमुनि गाडेको बम विस्फोट भएको प्रहरीले बताएको छ । काम गरिरहेको समयमा बम पड्किएपछि काम छाडेर कर्मचारी कार्यस्थलबाट बाहिर निस्किएका छन् ।

बम विस्फोटका कारण कर्मचारीमा मानसिक रुपमा काम गर्न तयार नभएको र केही कर्मचारीको श्रवण शक्तिमा समस्या भएका कारण सुरक्षा निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले काम गर्ने वातावरण तयार नभएसम्म काममा फर्कने अवस्था नरहेको मतदान अधिकृत कुबेर नेपालीले बताए ।

अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

२०७४ मंसिर ९ गते अपरान्ह ७ः१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :