चन्दा आतङ्कले व्यवसायी पलायन

काठमाडौं : स्थानीय तहको चार चरणको चुनावमा ठूलो रकम उम्मेदवार र उनीहरू सम्बद्ध दलहरूलाई चन्दा दिएका व्यवसायीहरू तुरुन्तै प्रदेश र प्रतिनिधी सभाको चुनावका लागि दिनहुँ दर्जनौं दल र उम्मेदवार चन्दा माग्न आउन थालेपछि चुनावसम्मका लागि देशबाटै पलायन भएका छन् । केही दलाल सञ्चार माध्यमले नेकपाले चन्दा मागेर व्यापारी, उद्यमीलाई दुःख दिएको पित–पत्रकारिता गरिरहेको बेला वास्तविक तथ्य बाहिर आएको हो । विरगञ्जका सबैजसो प्रतिष्ठित व्यवसायीहरू शुक्रबारदेखि जकार्ता भ्रमणमा छन् । त्यसैगरी अर्को आर्थिक नगरी विराटनगरका व्यवसायीले पनि चुनावसम्मका लागि देश छोड्ने भएका छन् ।

उनीहरूको ठूलो समूह भारतका विभिन्न धार्मिक स्थलको भ्रमणमा निस्किएको छ । देशभित्र रहेका व्यवसायी पनि व्यवसाय र फोन बन्द गरेर स्वघोषित नजरबन्दको अवस्थामा छन् । ‘दर्जनौं दलका सयौं उम्मेदवार चन्दा माग्न आउँछन्, एउटालाई दिएर पनि हुँदैन । को–को सँग झगडा गर्नु ! बरु चुनावसम्मलाई देशमै नबसे भैहाल्यो नि ! हामी त्यस्तो स्थितिमा पुगेका छौं’ विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका विरगञ्जका एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा रातो खबरसँग भने ।

निर्वाचन आयोगले एकजना उम्मेदवारले २५ लाखसम्म खर्च गर्न सक्ने सीमा तोकेको भएपनि करोडौं खर्च गरेका छन् । आयोगले ३ अर्बसम्म खर्च हुनसक्ने अनुमान गरेको छ । त्यसको स्रोत पारदर्शी छैन । चुनावमा भैरहेको बेलगाम खर्चले देश टाट पल्टन सक्ने विज्ञहरूको धारणा छ । उता नेताहरूले चुनावी खर्चका लागि शेयर बिक्री बढाएका कारण शेयर बजार अकल्पनीय रूपमा खस्केको छ । नेपालमा लाभको पदमा रहेका नेता र कर्मचारीको हातमा सबैभन्दा धेरै शेयर छ ।

२०७४ मंसिर ७ गते ९ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :