देशले एकपटक अप्रिय निर्णय लिनुपर्छ : केशरबहादुर बिष्ट, पूर्वमन्त्री तथा वरिष्ठ उपाध्यक्ष, राप्रपा (प्रजातान्त्रिक)

वि.सं. २००७ मा झरुवारासी २, ललितपुरमा जन्मिएका केशरबहादुर बिष्टको पारिवारिक पृष्ठभूमि बौद्धिक र गोर्खा फौजमा संलग्न छ । बिष्टका जेठा हजुरबा ब्रिटेनका तर्फबाट दोस्रो विश्वयुद्धमा जापानका विरुद्ध लड्दा बर्माको मोर्चामा मारिएका थिए । हजुरबुवा चाँही घाइते भएर फर्के । बिष्टका पिता डोरबहादुर बिष्ट एकजना स्थापित मानवशास्त्री हुन् । पञ्चायतीकाल र बहुदलीय व्यवस्थमा पटकपटक मन्त्री भएका स्पष्ट वक्ता बिष्टसँग उनकै निवास बागडोलमा भीम चापागाईं र झनक श्रेष्ठको सहयोगमा अनिल शर्माद्वारा गरिएको वार्तालापको मूल अंश यहाँ प्रस्तुत गरिएको छ– रातो खबर)

»»  बबबिष्टजी, यहाँ राजनीतिमा कसरी आउनुभयो, केही बताइदिनुहुन्छ कि ?

विद्यार्थीकालमा एक्ले राजनीति गर्थें । महेन्द्ररत्न क्याम्पसको स्ववियु सचिव पनि भएँ । पाटन संयुक्त क्याम्पसमा चाहिँ हारियो । स्वतन्त्र उम्मेदवारी दिन्थेँ । तर नेविसङ्घले सहयोग गथ्र्यो । मार्शलजुुलुम शाक्य, देवेन्द्र नेपाली र अर्जुननरसिंह के.सी. मेरा सहकर्मी थिए । तर ने.वि.सङ्घ वा काङ्ग्रेस कहिल्यै भइनँ । आफूलाई प्रजातान्त्रिक गन्थेँ । मैले आफूलाई कस्तो डेमोक्रेटिक ठानेको थिएँ, भगवान् जानोस् । वामपन्थी भन्नेहरू पनि अनेक समूहमा थिए । बेलाबेलामा प्रहरीले कुट्थ्यो, लग्थ्यो, त्यो क्रम चलिरहन्थ्यो । त्यसले पढाइमा कमजोर बनायो । स्नातक उत्तीर्ण भएपछि पढाइमा केन्द्रित भएँ । त्यसपछि पढाइ राम्रो भयो । राजनीतिशास्त्रका पाँच विषयमध्ये चारवटामा सर्वोत्कृष्ट स्थान ९न्यमि ःभमब०ि पाएँ । कपिल श्रेष्ठ, विजय सिलवाल, रवीनसिंह, ध्रुव के.सी. सँगै पढेका दौँतरी हुन् । राजकुमार धीरेन्द्र पनि औधी मिल्ने साथी थिए । धीरेन्द्रलाई सबैले ‘कान्छा सरकार’ भन्थे । धीरेन्द्रको साथी भएको हुनाले मलाई राजावादी भन्न थालेछन् ।

»»  एउटा बौद्धिक परिवारमा हुर्किनुभयो । यहाँका पिता एकजना स्थापित मानवशास्त्री पनि हुनुहुन्थ्यो । त्यस नाताले यहाँले नेपाललाई कसरी बुझ्नुभएको छ ?

२०२४ सालमा विश्व स्काउटको ज्याम्बरी भेलामा गोलाप्रथामा परेर मलाई अमेरिका जाने अवसर मिल्यो । त्यसबेला १४ वर्षको थिएँ । गाउँको केटो, कुन धारा खोले तातो पानी आउँछ ? कुन धारा खोले चिसो आउँछ ? केही थाहा थिएन । बुबा प्राध्यापक हुनुहुन्थ्यो, तालिम दिनुभयो । यात्रामा कति गल्ती भयो होला । बच्चा भनेर केही भएनछ । हङकङको होटेलमा तातो–चिसो पानी मिलाउन नजान्दा ढाड पूरै तातोपानीले जल्यो । हामी गाउँका काजी परिवार थियौँ । घरको पर कुनामा चर्पी, आँगनमा धारो हुन्थ्यो । हाम्रा गाउँलेका त चर्पी पनि हुन्नथे । ‘एयरपोर्ट, डिपाचर, ल्यान्डिङ’ बुझ्नै गाह्रो । बुबाले थोरै सिकाउनुभएको थियो । मुस्लिम देशमा ‘बास्सा, बजिर’ बुझ्नुपर्ने आजको जमाना थिएन । म उच्च मध्यमवर्गीय परिवारमा हुर्केको कर्णेलको नाति, खानलाउन पुग्ने परिवारको थिएँ । जसोतसो अमेरिका पुगेँ । बुबाका साथी, विद्यार्थी संसारभरि हुँदा रहेछन् । हाम्रै घरमा बसेर अनुसन्धान गरेका एकजना न्युयोर्कका विद्वान्, बुबाका साथीले ‘तिमी पनि छोरासरह हौ, यतै राम्रो कलेजमा पढ’ भनेर भर्ना गरिदिए । ती विद्वान्को छोरा ४ वर्ष हाम्रै घरमा बसेर पढेका हुनाले मलाई म त छोरै पाएजस्तो भएछ । म निर्णय आफैँ गर्नसक्ने उमेरको थिइनँ । स्काउटको कार्यक्रम सकेर देश फर्किनुपर्ने मान्छे उतै भर्ना भएँ । त्यो कुरा थाहा पाएपछि सरकारलाई उजुरी गरेर अमेरिकी दूतावासमा पत्राचार गरेर मलाई फिर्ता ल्याए । कलेज भर्ना भएको विद्यार्थी केही नभनी फिर्ता ल्याएपछि असाध्यै रिसाएँ । एकदुई वर्ष बोलचाल पनि भएन । म पढेर बसेको थिएँ, बदमासी गरेको थिइनँ ।

बुबाले ‘तँ हजारपटक विदेश जान सक्छस् तर यत्ति सानोमा विदेश बसिस् भने देश बिर्सन्छस् । मेरो सन्तानले देश बिर्सन पाउँदैन । त्यस्तो मेरो सन्तान हुन सक्दैन’ भन्नुभयो । बुबाको त्यो सोचाइ कति महत्वपूर्ण रहेछ म आज बुझ्दैछु । मेरो दाजुले पेरिसको चर्चित विश्वविद्यालयमा विद्यावारिधि गर्न छात्रवृत्ति पाउनुभयो । बुबाले विवाह गरेर उतै बस्ला भनेर विवाह नगरी जानै दिनुभएन । दाजु हिक्मत बिष्ट विवाह गरेर दुई वर्षपछि मात्र जानुभयो । मुलुक बिर्सने ज्ञान किन चाहियो ? संसारभरिको ज्ञान देश बिर्सन होइन, बनाउन लिनुपर्छ भन्ने सोचाइ बुबाको रहेछ । काजी खलक भए पनि मेरो बुबा नपुगेको, नहिँडेको ठाउँ छैन । मेरी बहिनी पनि बुबासँग थुप्रै ठाउँमा पैदल हिँडेकी छे । त्यसको प्रभाव आज उसमा परेको छ । डोरबहादुर बिष्टले छोरीलाई ढाडमा भारी बोकाएर महिनौँ हिँडाउँथ्यो भन्ने कुरा आज कसैले पत्याउला ? बुबाको तालिमले गर्दा होला राजा वीरेन्द्रले ‘स्वयम्सेवक’ कार्यक्रम ल्याउँदा म तुरुन्तै एमएको पढाइ थाती राखेर ‘भोलेन्टियर’ भएर गएको थिएँ । राजनीति, सेना, प्रहरी, कर्मचारी बन्ने मान्छेले त्योभन्दा अगाडि देश बुझ्नु पर्दैन ? मलाई बुबाले त्यो सिकाउनुभयो । भन्न मिल्छ कि मिल्दैन, राजा वीरेन्द्रलाई पनि बुबाले पढाउनुभएको कारण त्यसको प्रभाव थियो । राजकुमार हुँदा परिचय लुकाएर वीरेन्द्र धेरै हिँड्नु, घुम्नुभएको थियो । थानकोट कटेको छैन, देश हाँक्ने गुड्डी हाँकेर हुन्छ ! कागज मिलाउने, कानुन छल्ने, मोजमस्ती गर्न विदेश घुम्ने भएपछि देश बन्छ ? विदेश भ्रमण गर्नेमध्ये ५ प्रतिशतले पनि राम्रो काम गरेका छैनन् । शिक्षा पनि व्यावहारिक छैन । कर्णालीको विद्यार्थीलाई रानीपोखरीका विषयमा निबन्ध लेख्न लगाएर हुन्छ ? अथवा झापाको राजवंशी विद्यार्थीलाई नेवारी भोजका विषयमा लेख्न लगाएर हुन्छ । देश नबुझेको, जनता नचिनेको मान्छेले नीति निर्माण गर्ने भएपछि देश बन्दैन । हिजो सामाजिक सञ्जालमा देख्नुभयो नि ! अनौपचारिक पोसाकमा सडकमा उभिएर मन्त्रीले प्रहरीको सलामी थाप्छ । दौरासुरुवाल नै हुनुपर्छ भन्ने मेरो भनाइ होइन । भित्री वस्त्र लगाएर, चर्पीमा उभिएर सलामी थाप्ने हो ? अनुशासन छैन, लोकलाज छैन । अनि यिनीहरूले नागरिकलाई के सिकाउँछन् ?

म शिक्षामन्त्री हुँदा परीक्षामा चोर्ने र नक्कली प्रमाणपत्र लिएका शिक्षकलाई कडाइ गरेँ । दुई हजार एक सय नेपाली र चार सय भारतीय शिक्षक कारबाहीमा परे । विदेशी नागरिकले शिक्षक सङ्गठनमा चुनाव लड्न नपाउने नीतिगत निर्णय गरेँ । भारतीय नेताहरू रिसाए । तर पि.भी. नरसिंह रावसहितका भारतीय नेताहरू राम्ररी कुरा गरेपछि सहमत भए । यहाँ त गोरो देख्यो कि नतमस्तक हुन्छन् । भारतको भनेपछि चाकडी मात्र हुन्छ । आफ्नो कुरा राख्ने क्षमता र इमान दुवै भएन । राजा, मन्त्री, राष्ट्रपति बिरामी हुँदा वीर अस्पताल गए पो त्यो राम्रो होला । ठूलाजति यताको स्तरोन्नति होइन, विदेश धाउने भएपछि कसरी हुन्छ ? बूढानीलकण्ठ विद्यालय राजपरिवारका सदस्यहरूलाई तालिम दिन खोलेको हो, विदेश पठाउन नसकेर होइन । तपाईंको शिर ठाडो, नैतिक बल छ भने मात्र विदेशीसँग बराबरी हैसियतमा बोल्न सक्नुहुन्छ । पालेको, खुवाएको, उपचार र छात्रवृत्ति मागेको मान्छेले बराबरीमा कुरा गर्न सक्दैन ।

»»  देशको समसामयिक राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ?

देशको स्वाभिमान हराएको छ । नेताहरूको इमान हराएको छ । देश चलाउनेहरू स्वार्थलिप्त छन् । कहीँबाट आश्रित, पालित–पोषित र निर्देशित मान्छेहरूको हालीमुहाली छ । यस्ता मान्छेहरूको हातमा देशको बागडोर भएपछि देशको परिस्थिति कस्तो हुन्छ भन्ने प्रस्ट नै छ ।

देशले एकपटक अप्रिय निर्णय लिनुपर्छ । तर निजी स्वार्थका कारण मान्छेहरू बोल्दैनन् । स्वार्थले कसरी गाँजेको छ भने मेरो जीवनमा त मैले समाधान देखेको छैन । तपाईंको पुस्ताले गर्ला त ? भन्न सक्दिनँ । त्यो अप्रिय निर्णय केके होला ? विकल्प धेरै छन् । आर्थिक, सामाजिक, सैनिक, व्यवस्थापकीय हिसाबले आश्रित छौँ । म चुनावमा गएको छु तर मलाई थाहा छ यसले केही हुनेवाला छैन ।
… …
देश कङ्गाल पारेर विप्रेषणको पैसाले तलब र सुविधा खाएर देश चलेको छ । तलब खान युवाहरूलाई ५० डिग्री सेल्सियसभन्दा माथिको गर्मीमा धकेलिएको छ । त्यसैले सबैलाई नसके पनि धेरैजसो जनतालाई समेट्न सक्ने संस्था र व्यक्तिको आवश्यकता छ ।

»» देश र जनता बुझेको, जनताबाट आएको मान्छेले देश हाँक्ने प्रणालीको स्थापना कसरी हुन्छ त ?

त्यसको सजिलो समाधान छैन । तीतो र कठोर उपचारले मात्रै सम्भव छ । त्यसका लागि देशले एकपटक अप्रिय निर्णय लिनुपर्छ । तर निजी स्वार्थका कारण मान्छेहरू बोल्दैनन् । स्वार्थले कसरी गाँजेको छ भने मेरो जीवनमा त मैले समाधान देखेको छैन । तपाईंको पुस्ताले गर्ला त ? भन्न सक्दिनँ । त्यो अप्रिय निर्णय केके होला ? विकल्प धेरै छन् । आर्थिक, सामाजिक, सैनिक, व्यवस्थापकीय हिसाबले आश्रित छौँ । म चुनावमा गएको छु तर मलाई थाहा छ यसले केही हुनेवाला छैन । तर पनि चुनावको पछाडि हिँडेको छु । मैले अरूलाई सराप्नुको अर्थ के हुन्छ ? संविधान बनाउनेलाई नै संविधानप्रति विश्वास र आस्था छैन । काङ्ग्रेसले संशोधन गर्ने भन्छ, माओवादी राष्ट्रपतीय प्रणाली भन्छ, एमाले गठबन्धन समाजवाद भन्न थालेको छ । संविधान बनाउनेले नै त्यो संविधान लागू नगर्दै अर्कैथोक गर्दै–भन्दै हिँडेको छ । उनीहरूबाट असल कुरा के आशा गर्नु ? त्यसैले लाचार भएर चुनावकै पछाडि लाग्याछु । म एउटा उल्का गर्ने व्यक्ति वा संस्थाको अपेक्षामा छु जसले समस्या समाधान गरोस् तर त्यो उल्का गर्ने वा त्यसमा हात हाल्ने व्यक्ति र संस्था टिक्ला कि नटिक्ला भन्ने प्रश्न पनि छ । किनकि अनुभव, भोगाइ, सकारात्मक छैन । उदाहरण जति पनि छन्– पुष्मकमल दाहालभन्दा बिग्रने ठाउँ कहीँ छैन । एमाले, काङ्ग्रेस के भनेर आए, के गर्दैछन् ? त्यो आशा कोसँग गर्ने ? नेपाली सेनाबाट त्यो आशा गर्न सकिन्न । प्रहरी, अदालत, निर्वाचन आयोग, सकारी कर्मचारी, शिक्षक, प्राध्यापक, डाक्टर पार्टीका जनवर्गीय सङ्गठन भएका छन् । देश कङ्गाल पारेर विप्रेषणको पैसाले तलब र सुविधा खाएर देश चलेको छ । तलब खान युवाहरूलाई ५० डिग्री सेल्सियसभन्दा माथिको गर्मीमा धकेलिएको छ । त्यसैले सबैलाई नसके पनि धेरैजसो जनतालाई समेट्न सक्ने संस्था र व्यक्तिको आवश्यकता छ । तर त्यो चित्र अझसम्म देख्न सकिएको छैन ।

»»  सङ्घीयताका विषयमा यहाँको धारणा ?

अमेरिकाको सङ्घीयता बेलायतसँग लड्ने क्रममा आयो । अस्ट्रेलिया एउटा महादेश नै हो जहाँ केन्द्रीकृत शासन उसबेला सम्भव नै थिएन । बाबुरामले स्विट्जरल्यान्डको सङ्घीयताको अनुभव नेपालमा लागू गर्ने कुरा गरेपछि मैले उनलाई सार्वजनिक रूपले चिठी लेख्दै “डाक्टरसाप, स्विट्जरल्यान्ड पढ्नुभएको छ ?” भनेको थिएँ । त्यहाँ फ्रेन्च, जर्मन र इटालियनभाषी छन् । एउटा भाषा बोल्ने ठाउँमा अर्को भाषी नै भेटिन्न । नेपालमा २० प्रतिशतभन्दा बढी भाषित जातीय भूभाग छैन । सिन्धुपाल्चोकमा तामाङ भाषाको विद्यालय मैले खोलेको हो । मातृभाषामा विद्यालय खोल्न र मदरसा खोल्न मैले प्रारम्भ गरेँ । अरूले त गफ मात्रै गरिराख्या छन् । प्रज्ञाप्रतिष्ठानले नेपालका सबै भाषाको अध्ययन, लेखन, संरक्षण ग¥यो । राजालाई गाली गर्ने आफूले त्यत्ति पनि नगर्ने भएको छ । सङ्घीयता नेपाली जनताको आवश्यकता होइन । नबुझेका, इमान नभएकाले देश बनाउँदैन । भन्छन् नि ‘बोकाले दाइँ हुन्न ।’

»» प्रसङ्ग बदलौँ, तपाईंले कमल थापालाई राजतन्त्र र हिन्दु राष्ट्रको नक्कली कुरा मात्र गरेको आरोप लगाएर अलग पार्टी बनाउनुभयो । त्यति पनि कुरा नगर्ने झन् परको राप्रपा (प्रजातान्त्रिक) मा विलय हुनुभयो । यो अन्तरविरोधी भएन र ?

राप्रपा (प्रजातान्त्रिक) ले ‘परम्परागत शक्तिको जगेर्ना र संवद्र्धन’ गर्ने भन्ने स्पष्ट गरेको छ । राप्रपा (नेपाल) को बाहिर चर्का कुरा, भित्र त्यत्ति पनि छैन । मैले बुझाउन नसकेको होला । राजा शब्द नराखीकन राजावादी काम हामीले गरेका छौँ । उनीहरूले स्वाङ मात्र पारेका छन् । अघिल्लो दिनसम्म संविधान च्यातेर फाल्छौँ भन्ने, अर्को दिन कमल थापाले विश्वको उत्कृष्ट संविधान भनेपछि हामी छाँगाबाट खसेझैँ भएका थियौँ । संविधान बनाउनेले त विश्वको उत्कृष्ट संविधान भनेको छैन । सर्वस्व हारेको शक्तिले सर्वोत्कृष्ट भन्नेसम्मको नौटङ्की भएको कारण हामी अलग भयौँ । हाम्रो बोल्ने र गर्ने एउटै छ । राप्रपा (नेपाल) मा राजा र धर्म बाहिर हल्ला गर्ने विषय मात्रै छ । हेर्नुस् न पार्टीको प्रमुख नेता एउटा गठबन्धनमा छ, दोस्रो स्तरको नेता अर्को गठबन्धनमा छ । त्यो पार्टी काग हो कि बकुल्ला ? के हो, के हो थाहा छैन । १८ जना मन्त्रीहरू बिनाविभागीय भएर सरकारी सुविधा खाएर बसेका छन् । यो आचारसंहिता उल्लङ्घन होइन ? नैतिक प्रश्न होइन ? मैले त्यसो गरेको छैन । नीति र व्यवहारमा अन्तरविरोध छैन ।

»» नेपालको जनयुद्धमा राजा र माओवादी अथवा शाहीसेना र जनसेना लडे । गृहयुद्धमा रमिते बनेको, निर्णायक भूमिका नभएको बिचौलिया शक्ति सत्तारूढ भएको छ । त्यसलाई कसरी हेर्नुभएको छ ?

१२ बुँदेमा राजा हटाउने भनेकै छैन । निरङ्कुश राजतन्त्र त कसैले पनि चाहेको छैन । धर्म, सङ्घीयता जनयुद्धमा खासै उठेको थिएन । राती १२ बजे एकाएक धेरै कुरा आए । राजा न कानुनले फाल्यो, न विद्रोहले फाल्यो । मैले पहिले नै प्रतीकात्मक रूपमा भनेको छु । हाम्रो देश आश्रित र नियन्त्रित छ । नेताहरू पालित र पोषित छन् । हरेक ठाउँमा बिचौलयाको राज छ । शासन व्यवस्थामा पनि त्यही भएको छ । अर्को उज्यालो पक्ष पनि छ । देश बचाउन, बनाउन रगत बगाउने पुर्खा पनि छन् जसको कारण देश रहेको छ । हामी हाम्रो पुर्खाले रगत बगाएर बनाएको देश जथाभाबी, गर्न दिन्नौँ । यो देश त्यही विचारले गर्दा अडेको छ ।

»» नेपालमा क्रिस्चियन धर्म फैलिएको प्रति यहाँको धारणा ?

क्रिस्चियन धर्म धर्मका लागि नभएर अरू नै उद्देश्यले आएको हो । नेपालमा धार्मिक समस्या नै छैन । भारतमा जस्तो साम्प्रदायिक समस्या पनि थिएन । राजदरबारको पूजाकोठाबाट दक्षिणतिर हेर्नासाथ मस्जिद देखिन्छ । यस्तो देशमा धर्मनिरपेक्षता किन ? चीनमा वार्षिक ५ करोडजति मान्छे क्रिस्चियन भएका छन् । त्यो देश कति दिन सुरक्षित रहला ? लेखेर राख्नुहोस् दस–बीस वर्षमा चीन बौद्ध धार्मिक देश बन्छ । नेपालमा धर्मको कुरा धर्मका लागि नभएर पश्चिमाहरूको राजनीति हो । हेलिकोप्टरमा चढेर चुनाव प्रचार गर्ने पैसा कहाँबाट आउँछ ? त्यसको स्रोत के हो ? समस्या यसैमा छ । गोरु जोतेर, मकै बेचेर अउँछ ? यो मेरो होइन, निर्वाचन आयोगको कुरा हो कि पुष्पकमल दाहालपछि परिवार दल धेरै खर्च गर्नेमा परेका छन् । महेन्द्रको पालामा सबैभन्दा लामो समय परराष्ट्र मन्त्री भएका रणधिर सुब्बा क्रिस्चियन थिए । लैनसिंह बाङ्देल क्रिस्चियन नै थिए । हिन्दु राष्ट्रमा कसैको मानमर्दन थिएन । मुसलमानलाई हज गराउन राज्यले लगानी गर्छ । यस्तो सहिष्णु समाज अन्यत्र छैन । नेपाली सेनामा हतियार बनाउने, मर्मत गर्ने काममा अझै पनि मुस्लिमको वर्चस्व छ । यो पृथ्वीनारायण शाहको पालादेखिको परम्परा हो । मेरा बाजेले बन्दुक पड्काए, बनाइदिने त मुस्लिम हो ।

»» पूर्वराजा ज्ञानेन्द्रले मैले जिम्मेवारी लिने बेला भयो भनेका छन्, यसको अर्थ के हुनसक्छ ?

राजतन्त्र फर्किन सक्छ भन्ने लागेर अथवा फर्काइदेऊ भनेको, अपपल गरेको होला । अहिले जे भइरहेको छ त्यो भनेको राजतन्त्र बोलाएकै त हो । बोलाइरहेकै छन् । आउने देखेरै भनेका होलान् । जनता झन्झन् छट्पटीमा छन् । वस्तुगत आधार बन्दै गएको छ ।

»» क्रान्ति र कानुनी दुवै प्रक्रिया नभएर हुलहालमा राजतन्त्र हट्यो भन्न खोज्नुभएको हो ?

अन्तरिम संविधानमा राष्ट्रलाई दूरगामी प्रभाव पर्ने कुरा जनमतसङ्ग्रहबाट फैसला गर्ने प्रावधान थियो तर जनतालाई नसोधी राजतन्त्र फालियो । हिजो माओवादीको जनमत कति थियो ? आज कति छ ? भोलि जनमत के होला के भन्न सकिन्छ र ? जनयुद्धले पराजित गरेको भए अर्कै कुरा हुन्थ्यो । विद्रोहले त कतिपय ठाउँमा राजाको टाउकै काटेको छ । तर हाम्रो देशमा छलछामले रातारात जनता सुतेको बेला कताबाट कसरी भयो ? यो सहज र सामान्य छैन । राजा वीरेन्द्रले जनमतसङ्ग्रह गरेकै थिए । आज जनमतदेखि डराउनु पर्दैन । जनमतले जे भन्छ मान्न सकिन्छ । धर्म र राजतन्त्रका विषयमा अन्तिम टुङ्गो जनमत सङ्ग्रहबाट हुनुपर्छ ।

२०७४ मंसिर ७ गते ७ : १५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :