
पूर्व प्रम कीर्तिनिधी विष्टको २०७४ कात्तिक २५ गते आफ्नै निवास ज्ञानेश्वरमा ९० वर्ष ११ महिनाको उमेरमा निधन हुनगयो । अर्बुद्ध रोगबाट पीडित विष्टको बिहान १०ः३० तिर निधन भएको थियो । मैले उनको अन्त्येष्टि राजकीय सम्मानसाथ होला भन्ने सोचेको थिएँ । सार्वजनिक सूचनाको भरमा मनज्ञानले आर्यघाट पुग्दा अन्तिम संस्कार चलिरहेको थियो । जहाँ प्रहरीको बाक्लो उपस्थिति थियो । तर ती प्रहरी अधिकृतको लागि आएका रहेछन् ।
साथी विष्णुहरी नेपालले मलाई विष्टका छोरा डा. विनोद विष्टसँग चिनजान गराए । हामीले आपसमा चिनजान, समवेदना, आभार आदि औपचारिकता पूरा ग¥यौं । लामो कुरा गर्ने समय त्यो थिएन । पञ्च र राजावादी भएपनि एकजना देशभक्त, इमान्दार र नैतिकवान नेताका रूपमा श्रद्धाञ्जली दिएर फर्किएँ । दिवंगत कीर्तिनिधी विष्टको राजनीतिक शुरुवात डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेसबाट भएको हो । जसको महासचिवसम्म भएका थिए । उनी मातृका प्रसाद कोइराला, श्री भद्र शर्मासहितको नेपाल जनता परिषदको पनि नेतृत्वमा रहे । तर २०४६ सालपछि पूर्व पञ्चहरूको कुनै पनि पार्टीमा विष्ट संलग्न भएनन् ।
२०१७ सालमा पञ्चायतमा प्रवेश गर्नु अघि विष्ट नेपाली राष्ट्रिय कांग्रेसमा नै थिए । पञ्चायतीकालमा ३ पटक प्रम बने । पटक–पटक मन्त्री परिषद उपाध्यक्ष, उप–प्रम बने । । २०६१ सालको ज्ञानेन्द्र शाहको मन्त्री परिषदमा तुलसी गिरीपछि दोश्रो मर्यादाक्रममा रहनेगरी क्रियाशील नभएपनि विष्टलाई मन्त्री परिषदको उपाध्यक्ष बनाइयो । सायद ज्ञानेन्द्रले राष्ट्रवादी छविका विष्टबाट सहानुभूति लिन चाहन्थे । २०२६ सालमा उत्तर–पूर्व ओलाङचुङ्गोलादेखि पश्चिम–उत्तर टिङ्करसम्म तैनाथ भारतीय सैनिक जाँच चौकी हटाउने महत्वपूर्ण कामको नेतृत्व विष्टले गरेका थिए । त्यो काम ऐतिहासिक महत्वको काम थियो । पहिलो कार्यकालमा भएको त्यो कामले विष्ट चर्चाको शिखरमा पुगेका थिए । उनी प्रखर वक्ता र देशभक्त थिए ।
केही वर्षअघि रमेश शर्मा र म विष्टसँग अन्तर्वार्ता लिन उनको निवास पुगेका थियौं । उनको जोस र इमानले हरेक इमान्दार मान्छेलाई प्रभावित गथ्र्यो । उनी साधारण र सरल दिनचर्या बिताउँथे । आजका मन्त्री, नेता, कर्मचारीको उठबस र कीर्तिनिधी विष्टको जीवन आधारभूत रूपमै भिन्न थियो । उनी बिहान नक्साल, गौशाला, सानोगौचरण टहल्न निस्कँदा युवाहरूलाई भेट्न मुस्किल पथ्र्यो । केही समययता टहल्न नसक्ने भएका थिए । उनले २०४६ सालपछि सरकारी सुविधा लिएनन् ।
सरकारी ओहोदामा रहेको समयमा ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ नेपालको हित विरोधी असमान रहेकाले खारेज गर्नुपर्छ भन्ने विष्ट पहिलो र एक्ला नेता थिए । उनी नैतिकवान थोरै नेतामा गनिन्थे । २०३० सालमा सिंहदरवारमा आगलागी भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिए । भनिन्छ राजा वीरेन्द्रले राजीनामा फिर्ता लिन भन्दा पनि उनी आफ्नो अडानमा कायम रहे । २०४२ सालमा रामराजा प्रसाद सिंहले सिंहदरवारभित्र बम आक्रमण गराएपछि पनि विष्टले राजीनामा दिएका तर राजा वीरेन्द्रले रोकेको चर्चा थियो । आज लोकतन्त्रको गीत गाउँदै जनता ठग्ने, देश बेच्ने काम भइरहेको छ । पञ्च र राजावादी भनेर नाक खुम्च्याउने संसदवादी नेताहरूमा विष्टको जति नैतिक बल र देशभक्ति हुन्थ्यो भने नेपालको यत्रो वर्वादी हुने थिएन ।
हामी देशभक्त व्यक्तित्वको सम्मान गर्न चाहन्छौं । विदेशीले आफ्नो स्वार्थअनुसार लेखेको र छट्टु संसदीय नेताहरूले गीत गाएको इतिहासको प्ुनरलेखन गर्नुपर्ने भएको छ । पार्टीको निर्णयअन्ुसार पार्टी प्रतिनिधिको हैसियतमा म श्रद्धाञ्जली दिन आर्यघाट पुगेको थिएँ । मलाई लाग्छ विष्टप्रतिको सम्मान देशभक्त धाराको सम्मान हो । जर्मनीको हिटलरले रुसमाथि आक्रमण गर्दा स्टालिनले जारका प्रतिनिधिहरूसँग संयक्त मोर्चाको आव्हान गर्नुभएको थियो । देशलाई बर्बाद गर्ने दलालका विरुद्ध विचार, राजनीति र जनतन्त्रको प्रश्नमा फरक सोच भएपनि देशको माया गर्ने शक्तिहरू सहकार्य गर्नुपर्ने राष्ट्रिय आवश्यकता हो । देशभक्त नेता विष्टप्रति हार्दिक श्रद्धाञ्जली !
२०७४ मंसिर ६ गते साँझ ६ : ५० मा प्रकाशित