आधारभूत पत्रकारिता तालिम : एक झलक

(२०७४ कात्तिक ११, १२ र १३ गते रातोखबर प्रकाशन गृहद्वारा काठमाडौँ, बागबजारस्थित होटल हार्दिकको सभाकक्षमा तीनदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो । सो तालिमका प्रशिक्षकहरूले प्रशिक्षणका क्रममा व्यक्त विचारको झलक प्रस्तुत गरिएको छ)

 

कलाकार र पत्रकार अपहेलित छन् 

– उजिर मगर, वरिष्ठ संवाददाता 

नेपालको राजनीति अथवा परिवर्तन रातो भएन ! रातो किन भएन त ? त्यसको कारण खाज्न, रातो बनाउन तपाईंहरू लाग्नुभएको छ । त्यो कुरा जनताले बुझेका छैनन् । बुझाउन सक्नुभएको छैन । मोदीले एकपटक हैदरावादका दलितहरूलाई ‘तिमीहरूलाई समाजवादमा पुर्‍याउँछु’ भनेछन् । त्यो सुन्नासाथ दलितहरू जर्‍याकजुरुक उठेर ‘हैन हामी हैदरावादमै बस्न चाहन्छौँ’ भनेछन् । हाम्रो सामाजिक चेतनाको स्तर पनि त्यस्तै छ । तपाईंहरूले थबाङ महाधिवेशनबाट ‘माओवादी’ शब्द नामबाट हटाउनुभयो । आज २० वर्ष पुगेको नयाँ पुस्ताको जीवन पूरै ‘माओवादी’ भनेरै बितेको थियो । तपाईंहरू बोल्दा–बोल्दै त्यही शब्द दोहोर्‍याउनुहुन्छ । कात्तिक ८ गतेको सभामा नेताहरू नै झुक्किएर ‘माओवादी’ भन्न पुगे । तपाईंहरूले ‘माओवाद’ छोड्नुभएको पनि छैन । जनताले तपाईंहरूलाई ‘माओवादी’ कै रूपमा चिन्छन् । त्यसो भए माओवादी शब्द छोड्नु र नेकपा मात्रै पार्टी नाम राख्नुका कारण के हो ? खै जनतालाई बुझाउन सकेको ? जनता र विचारलाई जोड्नेगरी लेख्नुपर्‍यो । 

हरेक परिवर्तनमा पत्रकार र कलाकार बलिदान भएका छन् । लडेका छन् । नेतालाई भाषण गर्न मान्छे जम्मा गरिदिने, उनीहरूका विचार जनतासम्म पुर्‍याउने कलाकार र पत्रकार हुन्छन् तर सेवा–सुविधा, पदमा अरूहरू नै पुग्छन् । पत्रकार सधैं अपहेलित छ । सायद यो आजको विषय नहोला, अलग प्रसङ्ग होला । हामीले तथ्यहरूसहित लेख्नुपर्छ । तथ्य खोज्न मिहिनेत गर्नुपर्छ । झटारो हानेर, गाली गरेर पत्रकारिता हुँदैन । एउटा प्रसङ्ग राखौँ । जर्मन भाषामा ‘दास क्यापिटल’ को अंग्रेजी भाषामा ‘द क्यापिटल’ हुन्छ । अनुवाद गर्नेले ‘द क्यापिटल’ नभनेर ‘दास क्यापिटल’ गरिदियो । हामी त्यही पढेर हुर्कियौँ । हाम्रो ज्ञानको स्तर यस्तो छ । हामीले समाचार, लेख वा सम्पादन गर्दा शब्दको अर्थ राम्ररी गर्नुपर्छ । ‘दास क्यापिटल’ पाराले हुँदैन । अल्छी गर्ने, नपढ्ने मान्छे पत्रकार बन्दै–नबन्दा राम्रो हुन्छ । 

समाचार तथ्यहरूको अभिलेख हो । त्यसैले समाचारलाई इतिहास लेखनको प्रस्थानविन्दु भनिन्छ । समाचार गाउँमा हुन्छ । तराईमा हुन्छ । हिमालमा हुन्छ । गरिबको झुपडीमा हुन्छ । राजधानीमा मात्र समाचार हुँदैन । हिजो राजनीति गाउँमा हुँदा समाचारको केन्द्र पनि गाउँमा हुन्थ्यो । अहिले त्यो सहर पसेको छ । तपाईंहरू अघि बढ्नुभयो भने पत्रकारहरू गाउँ जानेछन् । नेपालको पत्रकारिता पनि अहिले राजधानी केन्द्रित भएको छ । 

 

नयाँ सञ्चारको प्रभाव तीब्र गतिको रेलझैं बढ्दैछ

– विनोद भट्टराई, सफ्टवेयर इन्जिनियर

 सन् १९९३ अक्टोबरमा अमेरिकाका दुईजना युवाहरूले अनलाइन विद्युतीय पत्रिका सुरु गरेका थिए । नेपालमा त्यसको १४ वर्षपछि सन् २०१२ बाट अनलाइन पत्रिका सुरु भएको हो । मर्कण्टाइल कम्पनीको सेवाबाट ‘काठमाडौँ पोस्ट’ ले काम सुरु गरेको थियो । २०७४ भाद्र १४ गतेको प्रेस काउन्सिलको प्रतिवेदनअनुसार नेपालमा ८३४ वटा अनलाइन पत्रिका छन् । अनलाइन टेलिभिजन, मोबाइल संस्करण आदि चलिरहेका छन् । अनलाइन पत्रिकाले अन्य सञ्चारका साधनलाई चुनौती दिइरहेको छ ।

मैले १५० वटा अनलाइनलाई डोमेन सेवा दिइरहेको छु । अनलाइन सुरु गर्दा सेवाप्रदायक कम्पनीसँग पार्श्र्वशुल्क (Hidden Fee) को विषयमा राम्ररी छलफल गर्नुपर्छ । चलाएपछि कतिजनाले हेरे, सुने ? कहाँबाट हेरे ? सुपरीवेक्षण गर्ने र आफूलाई समृद्ध गर्ने गर्नुपर्छ । सुझाव र आलोचना लिनुपर्छ । कुन प्रकारका पाठक, दर्शक, श्रोता छन् ? त्यसको आधारमा नीति निर्माण गर्नुपर्छ । हरेक देशअनुसार गुगलले वर्गीकरण गर्छ । 

 

समाचारको स्रोतसम्म कसरी पुग्ने ?

– प्रभात चलाउने, अध्यक्ष, क्रान्तिकारी पत्रकार संगठन, नेपाल 

पहिले कण्डिकाको सुरु वाक्यदेखि नै मुख्य विषय आउनेगरी समाचार बनाउनुपर्छ । त्यसअगाडि संवाददाता, स्थान, मिति छुट्टाउनुहुँदैन । अघिल्लो वाक्यसँग जोड्दै फूलको मालाझैं शीर्षकले मागेको कथा थप्दै जानुपर्छ । मिश्र वाक्यहरू कम सम्प्रेषणीय हुने भएको कारण छोटा वाक्यहरू बनाउनुपर्छ । प्राथमिकताको छनोट पत्रकारको लागि सबैभन्दा चुनौतीको विषय हो । तलको प्रस्तुतिले शीर्षक र अघिल्लो प्रस्तुतिलाई विस्तार गर्दै, थप प्रष्ट पार्दै, पुष्टि गर्दै जाने हुनुपर्छ । कार्यक्रममा पार्टी नेता वा मुख्य अतिथिको कुरा प्राथमिकताको विषय त हो तर प्रमुख अतिथिको सबै विषय समाचारमा अट्दैन । त्यहाँ पत्रकारले प्राथमिकता छनोट गर्नुपर्छ । त्यहीँनेर पत्रकारको विचार र क्षमताको मापन हुन्छ । वक्ताले विषय दोहोर्‍याएका छन् भने हटाउनुपर्छ । 

हामी ‘मिसन पत्रकारिता’ गरिरहेका छौँ । पार्टी विचार, राजनीति र समाचार हाम्रो क्षेत्र (बिट) हुन सक्छ । पार्टी समाचार लेख्नेले पार्टीको विज्ञप्ति, दस्तावेज, अपिल संकलन गरेर राख्नुपर्छ । आफ्नो ‘बिट’ अनुसारका सामाग्री भएन भने समाचार बनाउन सकिँदैन । आर्थिक क्षेत्रमा लेखा परीक्षकसँग धेरै सूचना हुन्छ । प्रत्यक्ष पकड भएन भने अप्रत्यक्ष स्रोतबाट सूचना लिन सक्दा समाचार दमदार हुन्छ । समाचारमा वैचारिक कोण फरक–फरक हुन्छ । हामीले हाम्रो विचार समाचारमा प्रस्तुत गर्न सक्छौँ । आएका समाचारमा जोड–कोण थपेर, तानेर, काटेर नयाँ रूपमा प्रस्तुत गर्न पनि सकिन्छ । परिकल्पना गरेर, कथामा कला भरेर समाचार बन्दैन । प्राप्त सूचनालाई तथ्यहरूसहित सार्वजनिक गर्न सके समाचार बन्न सक्छ ।

 

पत्रकारितामा भाषिक ज्ञान अनिवार्य छ

– खेम थपलिया, महासचिव, अनेजसा महासंघ 

तपाईंहरूले १० गते अन्तरक्रियामा वक्ताहरूलाई अतिथि भनेको सुनियो । अतिथि भनेको के हो ? वर्षाैंअघि अतिथिगृह, धर्मशाला, होटेल, यातायात, सञ्चारको सुविधा थिएन । यात्रुहरू साँझ परेपछि कसैको घरमा शरण लिन जानुपथ्र्यो । ती पाहुना तिथि–मिति नमिलाई पुग्थे । त्यस्ता पाहुनालाई संस्कृत साहित्यमा ‘अतिथि’ भनियो । निमन्त्रणा पत्र दिएर, चिठ्ठी काटेर, सबै सूचना र लक्ष्यसहित कार्यक्रममा बोलाउन ‘अतिथि’ (तिथि र मितिको पाहुना) भन्न मिल्छ कि मिल्दैन ? पत्रकारिता साहित्यको बेग्लै हाँगा हो । तसर्थ, पत्रकारले शब्द चयन गर्दा विचार पुर्‍याउनुपर्छ । भनिन्छ, हरेक शब्द एक हजार रूपैयाँको मुद्रा हो । आवश्यक पर्दा प्रयोग गर्नैपर्छ तर आवश्यक नपर्दा प्रयोग गर्नै हुँदैन । शब्द गोजीबाट झिक्दा विचार गरीगरी झिक्नुपर्छ । 

रातो खबर प्रकाशन गृहले आफ्नै बान्कीको अक्षर (फन्ट) बनाउन आवश्यक छ । यसले मौलिकता आउँछ । बक्स, फन्ट आदिमा एकरूपता र मौलिकता आवश्यक छ । पत्रकारितामा कार्टुनचित्रको महत्व निकै बढेको छ । समाचार बनाउँदा स्रोेत उल्लेख गर्नुपर्छ । अरूको स्रोत, अर्काको लेख, चित्र, तस्बिर प्रयोग गर्दा स्रोत उल्लेख गर्नुपर्छ । अनुमति लिएर प्रयोग गर्नु अझ राम्रो हुन्छ । प्रतिलिपि अधिकार ऐनअनुसार स्रोत नखुलाइएको सामग्री प्रयोग गर्नु गैरकानुनी मानिन्छ । यो नैतिक प्रश्न पनि हो । 

 

समाचारको भित्री कुरा खोज पत्रकारिताको विषय हो

– शिव गाउँले, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ 

समाचारका घटनाको भित्री कुरा नै खोजी पत्रकारिताको विषय हो । माक्र्सवादमा वस्तुको सारतत्व भनेझैं समाचारको गुदी कुरा पत्ता लगाउनु खोजी (INVESTIGATIVE) पत्रकारिता हो । कुनै बेला हिमालको सम्पादन गर्थें । अहिले खोज पत्रकारिता गर्छु । यस्ता ५ सयजति तालिम दिइसकेको हुनाले म तपाईंहरूका मनोविज्ञान बुझ्छु । मैले सुरुमै परिचय र प्रश्न सोध्नुको कारण तपाईंहरूलाई बुझ्नको लागि हो । 

सूचना र सञ्चारमा के भिन्नता छ ? ‘आज बिहान कृष्ण ज्यापु लड्यो ।’ यो समाचार बन्दैन । ‘प्रम देउवा लडे ।’ यो समाचार बन्छ । एउटै विषय एउटा समाचार बन्ने अर्को नबन्ने किन हुन्छ ? प्राप्त भएका सबै जानकारी, तथ्य, रहस्य सूचना हुन सक्छ तर सबै सूचना समाचार हुँदैनन् । खासखास सूचना मात्रै समाचार बन्छ । आम सरोकारको सूचना समाचार हो । हाम्रो टाउकोमाथि सूचनाका तरङ्गहरू बगिरहेका हुन्छन् । ती सूचना तरङ्ग हाम्रो टाउकाले टिप्न सक्नुपर्छ । मस्तिष्करूपी एण्टेना सक्रिय रहिरहनुपर्छ । 

सत्ता र शक्तिमा रहेका सूचनालाई समाचार बनाउने कि निम्छराको विषयलाई बनाउने अर्को विषय हो । सूचना राम्रो दिन सके सञ्चार माध्यम स्थापित हुने हो । अमेरिकाका पत्रकारहरूले अमेरिकी सञ्चारको श्रेष्ठता सावित गर्न ‘अमेरिकी सञ्चार माध्यममा तथ्यहरूको प्रस्तुतिमा एकरूपता, विचारमा विविधता रहेको’ दावी गरेका थिए । नोमचम्स्कीले उनीहरूलाई ‘इराक–अमेरिका युद्धमा कतिजना अमेरिकी सेना मारिए ?’ प्र्र्रश्न गरे । अमेरिकी सञ्चारले सरकारी तथ्याङ्क सुनाउने गरेका थिए । त्यो प्रश्नले अमेरिकी सञ्चारकर्मीको  मुख बन्द भयो । त्यसैले सत्ता र शक्तिको नियन्त्रण बाहिरको सूचनाको संसारमा प्रवेश गर्न सक्नुपर्छ । पत्रकार चिया पसलको गफाडी जस्तो हुनुहुँदैन । मनमा प्रश्न उठ्नासाथ लेख्नुपर्छ, बोल्नुपर्छ, अनुसन्धान गर्नुपर्छ । ‘भ्रष्टाचार भयो, कसैले भन्यो भने, ‘सबै चोर त हुन्, यो देशमा यस्तै त हो’ भनेर सार्वजनिक स्थलमा सरापेर चुपचाप बस्ने, पत्रकार हुँदैन । त्यस्तासँग संगत पनि गर्नुहुँदैन । पत्रकारले त भ्रष्टाचार भयो, अनियमितता भयो, अन्याय भयो भन्ने लागेपछि लेख्नुपर्छ । मनलाई सपनाको चिहानघारी नबनाउनुहोस् । 

झापामा गोली चल्यो, मान्छे मर्‍यो किन ? कसरी ? आरोप–प्रत्यारोप छ । त्यो घटनाको भित्री कुरा के हो ? मेरो अनुसन्धानअनुसार अहिले प्रहरी चौकी बाहिरबाट हेर्दा पहिलेकै अवस्थामा छन् तर ६० प्रतिशत जनशक्ति चुनावमा पठाइएको छ । त्यसकारण चौकीका प्रहरीमा ‘हामी कमजोर छौँ’ भन्ने थाहा छ । त्यसकारण उनीहरू त्रसित छन् । अरू समयमा भए लाठी, अश्रुग्याँस हान्थे होला । त्रसित प्रहरीले आत्तिएर जुलुस चौकीतिर आएको देख्नासाथ गोली चलायो । यो विषयमा मलाई पूरै विश्वास भएकोले तपाईंहरूलाई सुनाएँ । मैले प्रहरीको उच्चतहसम्म बुझ्दा भित्री कुरा त्यो पाएँ । अनुसन्धान पूरा भएपछि सार्वजनिक गरौँला । नेताहरू गणतन्त्र भन्छन्, लोकतन्त्र भन्छन् तर सामन्ती व्यवहार गर्छन् । कार्यकर्ता बोल्न सक्दैनन् किन ? कार्यकर्ता बोल्न नसक्नुको कारण के होला ? भित्री कुरा हुन सक्छ, उसलाई टिकट पाइन्न कि भन्ने त्रास छ । समाचार बनाउँदा धेरैको चासो र प्रभावित पार्ने खालको समाचार खोज्नुपर्छ । 

पत्रकार तीन कुरामा सचेत हुनुपर्छ— आशंका, विरोधाभास र किन ? कुनै घटना वा सूचना आएपछि भए होला, गरे होला भनेर आम जनताको जस्तै टिप्पणी गरेर बस्नुहुँदैन । जाँचबुझ गरेर हेर्नुपर्छ । मनले दिने स्वभाविक उत्तरमा सन्तुष्ट हुनुहुँदैन । सूचनामा अन्तरविरोधी पक्षहरू खोज्नुपर्छ । भित्री वा गुदीसम्म पस्ने ढोका अन्तरविरोधी पक्ष हो । सेनाका अधिकृतको सम्पूर्ण परिचय सेनाको अनलाइनमा राखिएको छ । त्यो हेर्दा राजेन्द्र क्षेत्रीको जन्म मिति रहेनछ । हामीले किन ? भनेर खोज्दै जाँदा झूठो विवरण पेश गरेर जागिर खाएका रहेछन् । छुटे होला, भैगो केही भए होला भनेर बसेको भए हामी पत्रकर हुँदैनथ्यौँ । जनता सूसुचित हुने थिएन । पत्रकार सधैँ फरक गोरेटोमा हिँड्न सक्नुपर्छ । पत्रकारले बाटो बदल्नुपर्छ । त्यस्ता अल्छीसँग संगत नगर्नुस् । नारायणमान बिजुक्छेले वामगठबन्धन भारतले बनाएको भनेका थिए । अहिले रोहित पनि त्यही गठबन्धनमा गएको अथवा जाने समाचार आएको छ । यो विरोधाभास किन ? अब तपाईं ‘होला, यस्तै त हुन्’ भनेर बस्नुहुन्न । यो विरोधाभासको कारण खोज्नुपर्छ । त्यसपछि सूचनालाई किन ? भनेर हेर्नुपर्छ । आज बेलायतले बैंकमार्फत निवृत्तिभरण गर्छ तर भारतले नगदमै किन दिनुपर्‍यो ? निवृत्त र बहालवाला गरी १ लाख ५० हजारजतिलाई पेन्सन बाँड्न २५ स्थानमा शिविर र हजारौँ भारतीय सेना नेपालमा किन चाहियो ? बैङ्कमार्फत किन नदिएको ? यो प्रश्नको गुदी कुरा के हुन सक्छ भने २०२६ सालमा फर्केको भारतीय सेना पेन्सन क्याम्पको आवरणमा आइरहेको छ । पेन्सन वितरणभन्दा अरू नै धन्दा, निगरानी गरिरहेको छ ।

 

सञ्चार माध्यम साइबर सेना हो

–  सुदर्शन, नेता, नेपाल कम्युनिस्ट पार्टी 

पत्रकार एडगर स्नोले स्टालिनको जीवनी लेखनका लागि सामग्री संकलन गर्दा गुप्तचरको आरोपसम्म लाग्यो । उनी अडिग भएर आफ्नो धन्दा जारी राखे । अन्तिममा स्टालिनको जीवनी एड्गरको जत्तिकै अरू कसैको भएन । त्यसैले पत्रकार भनेको  साइबर सेना हो । एड्गरको लेखनले स्टालिन विरोधी वैचारिक सेनालाई चोटिलो प्रहार गरेको थियो । 

आज दलालको हातमा सत्ता छ । उद्योग वाणिज्य संघमा नेपाली विस्थापित भएका छन् र पशुपति मुरारका जस्ता दलालले कब्जा गरेका छन् । दलालले जनपक्षीय सञ्चारलाई सुकाउने र दलाल सञ्चारलाई उठाउने गर्छ । हरिऔनमा नेकपाले कारवाही गरेको थियो । तेश्रो चरणको स्थानीय चुनावको सो घटनाको समाचार ई–रातो खबर र रातो खबर साप्ताहिकबाहेक अरूले दिएनन् । हाम्रै निकटका सञ्चार पनि फरक देखिएर सरकारी सुविधा आउँला कि भनेर सोचेझैं देखिन्छ । 

 

चाकरी र मर्यादाको सिमाना कहाँ हो ?

– तीर्थ कोइराला, वरिष्ठ पत्रकार 

दल र संस्थाले दिने कुरा प्रचार हो भने उनीहरूले लुकाउने कुरा सूचना हो । प्रचार समाचार होइन । लुकेको, लुकाउन खोजेको कुरा समाचार बन्न सक्छ । नेताहरू उज्यालो भएदेखि रातीसम्म बोलेको बेल्यै, दिने मात्र गर्छन् । लिने, सुन्ने, पढ्ने कुरा छैन । त्यसो भएपछि नयाँ कुरा, गम्भीर विषय कसरी आउँछ ? पत्रकार त्यस्तो भएर काम चल्दैन, पढ्नुपर्छ, खोज्नुपर्छ । हाम्रो सामाजिक पक्ष र परिवर्तनलाई  अन्तरविरोधी बनाउनुहुँदैन । 

हलिया मुक्ति भएको समयमा म एउटा कार्यक्रममा पुगेको थिएँ । सबैले कार्यक्रमको बखान गरे । मैले सोधें– हलिया मुक्त भएपछि हलियाले के गर्छ ? मालिकले हली नपाएपछि के गर्छ ? खेतबारीमा खेती के हुन्छ ? हलियालाई आवश्यक जमिन, रोजगार, उद्योग, व्यापारको व्यवस्था छैन । अब ऊ नेपालगञ्ज, धनगढी वा भारततिर भारी बोक्न, रिक्सा चलाउन जान्छ । मालिकले जग्गा बेच्छ र सहरमा घडेरी किन्छ । जग्गा विचौलिया चक्लाबन्दी गर्छ । त्यसरी देश झन् बर्बादीतिर जान्छ । उत्पादनका साधन र सम्बन्धमा परिवर्तन नगरी परिवर्तन जनताको पक्षमा, मुलुकको पक्षमा हुँदैन । विदेशी दलालहरूले नेपाललाई झन् बर्बाद पारेर हैकम बढाउन यस्ता कार्यक्रम बनाएका त होइनन् ? पत्रकारले त्यो पक्ष पनि देख्नुपर्छ र लेख्नुपर्छ । 

नेपालमा दलित गैरसरकारी संस्थाले ल्याएको शब्द हो । अछुत भन्नुपर्छ । दलहरूले समावेशी भनेर ‘कुर्सी नछोड्ने, झन् कुर्सी थप्ने’ गरेका छन् । कर्मचारी र नेता पाल्न नसक्ने अवस्थामा देश पुगेको छ । राजनीतिक निर्णयमा सह–उत्पादन भएझैं समाचारको पनि सह–उत्पादन हुन्छ । त्यसलाई हेरिरहनुपर्दछ । जसरी शिक्षा लिनु र ज्ञान प्राप्त गर्नु एउटै होइन, त्यसरी नै सूचना नै समाचार होइन । 

कमल थापालाई जता पनि पस्ने मुसो भन्थे । अहिले प्रचण्ड भन् ठूलो मुसो भएका छन् । ‘प्रचण्डसँग वार्ता हुँदैन, एमाले पागल भएको छ र वार्ता गर्ने ?’ भन्थे के.पी. वली ! अहिले १५ वर्षसँगै जाने सरकार चलाउने भन्न थालेका छन् । कुलमानसिंहको हाईहाई छ । अलिकति भारतले विद्युत दिएर, अलिकति व्यवस्थापन राम्रो गरेर विद्युत आपूर्ति नियमित भएको हो । भारतले किन दियो त ? नेपालमा नेताहरूले पजेरो चढेको भनेर ठूलो विरोध भयो । त्यसपछि बोलेरो, स्कर्पियो, सुजुकी आए । जापानी वाहनको बजार कब्जा गर्न भारतीय व्यापारीले सञ्चार र ठूलो स्वर भएका बुद्धिजीवीलाई लगानी गरेको रहस्य खुल्यो । पजेरोको विरोध गरेर जापानको सट्टा भारतको बजारलाई ढोका खोलियो । त्यसरी लोकप्रिय र सदाचार नारा बोकेर पनि जनघात र राष्ट्रघात हुने गर्छ । पत्रकारले समयमै गुदी कुरा जनतालाई दिन सक्नुपर्छ । 

बेसार अमेरिकाले देखेकै छैन । यो दक्षिण एसियाको मसला हो । अमेरिकाले प्रतिलिपि अधिकार लिन खोज्दैछ । चीन र भारतको कारण रोकिएको छ । साम्राज्यवाद मोटर, माला, मसला, बीउ, विषादी बोकेर आउँछ । स्थानीय साधन–श्रोत चोर्दै, लुट्दै, थोपर्दै आउँछ । आज परम्परादेखिको कुनै अन्न फल्दैन । यसमा साम्राज्यवादको खेल छ । त्यो मोर्चामा देशभक्तहरू लड्नुपर्छ । लडाइँको निशाना नै गलत भएको छ । 

पत्रकारितामा भाषिक ज्ञान चाहिन्छ । केही आयो, किन आयो ? त्यसको प्रभाव के हुन्छ ? सोध्नुपर्छ । प्रश्न नगर्ने पत्रकार हुँदैन । पत्रकारले प्रश्नको जवाफ पनि दिन सक्नुपर्छ । बेलायतमा सात पुस्ता बिताएपछि रैथाने (आदिवासी) मानिँदो रहेछ । नेपालमा दशौँ पुस्ता बस्दा पनि खसहरू रैथाने नहुने, ५ वर्षअघि नेपाल पसेको विहारी रैथाने ठान्नेहरू पनि छन् । 

श्रमजीवी पत्रकारको न्यूनतम ज्याला तोकिएको छ तर कतै लागू भएको छैन । औकात नै नभएकोले कसरी दिने ? पारदर्शी सहमति र सहमतिअनुसारको कार्यान्वयन समाधान हुन सक्छ । नेपालको नम्बर एक अखबार कान्तिपुर भनिन्छ तर सबैभन्दा धेरै कर गोरखापत्रले तिर्छ । यो विषयले थुप्रै प्रश्न र आशंका जन्माएको छ । २०३३ सालमा डिपी अधिकारी पञ्चायतमा पसेपछि मुस्ताङमा हावाबाट चल्ने बिजुली भित्र्याएका थिए । आज ४ दशकपछि त्यही काम नयाँ आविष्कारझैं गरिएको छ । पत्रकारले त्यो देख्न सक्नुपर्छ । ९० दिनको एक महिना हुन्छ, दिल्लीले भन्यो भने कस्तो सत्य भन्दै उफ्रिने पत्रकार पनि छन् ।

पवन चाम्लिङले ‘झण्डा मात्र राखेर देश रहन्न । हामीले झण्डा र देश फालेर मुख्यमन्त्री भयौँ । धोती लगाएर मात्र भारत आउँदैन । हाम्रो भाषा र संस्कृतिको केन्द्र पनि नेपाल हो ।’ भनेका छन् । विश्वास र आस्थाका अगाडि तर्कले काम गर्दैन । हामीले प्रश्न गरिरहनुपर्छ । चाकरी र मर्यादाको सिमाना कहाँ हो ? नेताहरूलाई मर्यादा गर्नुपर्छ, चाकरी होइन । विषय र वस्तुलाई पत्रकारको चस्माले हेर्नुपर्छ । 

२०७४ कात्तिक २६ गते विहान ९ः५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :