कूमार्गमा सुमार्गी

काठमाडौं : हेटौँडा स्थायी निवासी अजयराज सुमार्गी एकदशक अघिसम्म मकवानपुर र आसपासमा जग्गा दलाली गर्थे । विस्तारै उनले कर्रा, राप्ती र मनहरीको बगरलाई नियन्त्रण गरेर क्रसर उद्योग चलाउन थाले । रूपचन्द्र बिष्टको निकट भन्दै उनले २०६३ पछि प्रचण्ड निकट हुन ठूलो प्रयत्न गरे । २०६५ सालसम्म पुग्दा सुमार्गीको पहुँच प्रचण्डसम्म बलियो बनिसकेको थियो । एउटा प्रसङ्ग उल्लेख गरौँ, २०६५ को एउटा माओवादी केन्द्रीय समितिको बैठक चलिरहेको थियो । सुमार्गीले रामनारायण बिडारीलाई दामन जान अनुरोध गरे । बिडारीले पार्टी केन्द्रीय समितिको बैठक भएकोले असमर्थता जनाए र सुमार्गीले बिडारीलाई ‘तिम्रो बैठक हुँदैन’ भनिदिए र सुमार्गीले ढुक्कसँग त्यसो भनेकाले बिडारीले हितमान शाक्य, सोनाम साथी, अमिक शेरचन धेरैसँग जिज्ञासा राखे । बैठक स्थगित हुने खबर कसैलाई थिएन तर अन्तिम अवस्थामा प्रचण्डले बैठक स्थगित गरेको खबर सबैका मोबाइलमा पेरिश डाँडाले प्रवाह ग¥यो । प्रचण्डको व्यापारिक साझेदार, विचौलिया भूमिका र रकम थन्क्याउने थलो सुमार्गी बनेको चर्चा हुन थाल्यो । प्रचण्ड र उपेन्द्र महतोको विचौलिया पनि सुमार्गी नै रहेको चर्चा छ ।

सुमार्गी गुण्डागर्दी र दादागिरी गरेर उठेका व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् । त्यसो त क्रसर उद्योग र जग्गा दलाली तथा ठेक्कापट्टा व्यवसाय गुण्डागर्दीमै टिक्ने गरेको व्यवसाय हो । २०६५ सालमा केदारभक्त श्रेष्ठ (काठमाडौँ, रविभवन) र तनहुँका किसन श्रेष्ठबाट दक्षिण कोरियाका व्यापारीहरूले १७ करोडमा रसुवा जिल्लाको सदरमुकाम धुञ्चेस्थित ‘हिमालयन स्प्रिङ मिनरल वाटर’ नामक अत्याधुनिक बन्द अवस्थामा रहेको कारखाना किने । सो कारखाना किन्न सुमार्गी पनि लालयित थिए । झमेला बढ्दै गएपछि सुमार्गीले गुण्डा लगाएर कोरियाली मालिकलाई सांघातिक हमला गरे । सरकारले त्यसपछि प्रहरी हवल्दारसहित ३ जना प्रहरी सुरक्षार्थ खटायो तर प्रचण्डको साथ पाएका सुमार्गीको दबाब बढ्दै गएपछि सुमार्गीले ५ करोड शेयर हालेर २२ करोडको सो कारखानाको ५० प्रतिशत हिस्सा लिन सफल भए । यस्ता अनेक दृश्य–अदृश्य भर्‍याङ् चढेर सुमार्गी एक दशकभित्रै रैथानी व्यापारी र उद्योगपतिभन्दा अग्ला धनाढ्य भएका छन् । सुमार्गीका एकजना कर्मचारी भन्छन्, ‘त्रिपुरेश्वरदेखि मुक्ति टावरसम्म ४२ रोपनी जग्गा कसरी एक दशकमै खरिद गरे ?’

अब भने सुमार्गी अरब अरब रूपैयाँ बराबरको अवैध रकम ओसारपसार गर्ने भएका छन् । वैध प्रक्रिया नै नपुर्‍याई राजनीतिक शक्ति केन्द्रको आडमा १ अर्ब २० करोड रूपैयाँ ऋण स्वीकृत गरिदिन अनुरोध नपाल राष्ट्र बैङ्कलाई गरेको ४ वर्ष भइसकेको छ । ऋण दिने र ऋण लिने दुबै कम्पनीको विगत राम्रो नरहेको नेपाल राष्ट्र बैङ्कको ठहर छ । त्यो प्रकरणको लहरो तान्दै जाँदा सुमार्गीका थुप्रै शंकास्पद गतिविधिहरू पत्ता लागेको, स्थानीय बैङ्कहरूसँग साँठगाँठ गरेर अवैध र शंकास्पद रकम ओसारपसार गरेको रहस्य खुलेको हो । सो रकमको वैधानिकता पुष्टि गर्न सुमार्गी असक्षम भइरहेको बेला चुनावको समय पारेर सो अवैध रकमलाई वैधता दिलाउन सुमार्गीको दौडधूप चलेको स्रोतको दावी छ । नेपाल राष्ट्र बैङ्कले कानुनी प्रक्रिया पूरा नगरी ल्याएको कथित ऋण रकम स्विकृति प्रदान गर्छ कि गर्दैन ? प्रष्ट छैन तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीको २० अर्ब रूपैयाँ बराबरको सम्पत्तिको छानबिन सुरु गरेको छ । सो रकमबारे अन्तिम निर्णय सरकारले गर्नुपर्ने निर्णय गरेर सुमार्गीको अवैध धन्दामा राष्ट्र बैङ्कको समेत संलग्नता रहेको आशंका गरिएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनै लाग्दा सो रकम फुकुवा गर्ने प्रयास गरेका थिए तर अर्थसचिव शान्तराज सुवेदीको असहयोगका कारण प्रक्रिया अघि बढ्न सकेन । प्रचण्डसँगै सुमार्गीको पक्षमा लबिङ्ग गर्ने एमालेभित्रका भारतपरस्त भनिने नेता विष्णु पौडल पनि छन् । नेपाल राष्ट्र बैङ्कका कर्मचारीहरू भने नेताहरूले दबाब दिए पनि स्वीकार्न नसकिने अडानमा छन् । सुमार्गी भने राजनीतिक निर्णयको पर्खाइमा छन् । प्रचण्डदेखि ओलीका निकट मन्त्रीहरूसमेत सुमार्गीको पक्षमा भित्रभित्रै दबाब बढाइरेका छन्, किन ? कतै सुमार्गीको पछाडि अवैध धन्दामा ती नेताहरू नै संलग्न त छैनन् ?

२०७४ कात्तिक २३ गते ११ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :