मित्र हौ कस्ता तिमी !

चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !
पीडालाई मित्रको ठाने आफ्नै चोट शरीरको
मुक्त गर्न दासताबाट क्रूर ती फिरङ्गीको
जुटेथे काँधमा काँध मिलाई लालाबाला मेरै कोखको ।

अर्को छिमेकीले तिमीमाथि गर्दा प्रहार बुटको
मेरा सन्तानले पनि दिएथे आहुति जीवनको ।
सानालाई दास ठान्छौ, बन्छौ दास ठूला दलालको
फकाई–फकाई लुटी खाने बानी तिम्रो छ अचम्मको ।
चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !

फिरङ्गीका साथ लागी त्यो गैह्रीखेतै लुट्यौ
फूल रोप्ने बहानामा फूलबारी नै कब्जा ग¥यौ
कुलो खनिदिने बहानामा जलसम्पदा पनि लुट्यौ ।
महेशपुर, सुस्ता, ठोरी सबै आफ्नो ठान्यौ
लिम्पियाधुरा र कालापानीमा आफ्नै किलो गाड्यौ
अर्काे छिमेकी उचालेर लिपुलेक पनि माड्न थाल्यौ ।
चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !

मेरा यी हातगोडामा बिसैला नङ्ग्रा कति गाड्यौ
सुम्सुम्याएजस्तो गर्दै पिठ्युँमा छुरा पनि रोप्यौ
सोझोपनको फाइदा लिई पटक पटक मुटुमा सियो पनि रोप्यौ
अझै मेरा कुसन्तानलाई भड्काउँछौ बेलाबेलामा
कोही कपूत फसेका छन् तिम्रो धूत्र्याइँ र मीठो षड्यन्त्रमा
पारेका छौ डलर, भारु र कुर्सीको लालचमा ।

तर पनि
चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !
ठूलो भूमि, धेरै सन्तान दम्भ छ ठूलै शरीरको
आफूलाई बाघ ठानी गर्छाै हुइयाँ स्यालको
चिनिसकेँ तिम्रो हुइयाँ र ब्वाँसाको जस्तो चाल त्यो
छिःछिः गर्छन् छिमेकीले तिम्रो अहम् र दम्भको
नगरे हुन्छ चियो चर्चो तिमीले छिमेकीको
बेस हुन्छ टाल्दा भित्ता आफ्नै घर, गोठ र कटेराको ।

यतिचाहिँ बुझिराख
फरक हुन्छ साँच्चिकै मोटाउनु र सुन्निनुमा
हात्ती देख्दा ठूलै हुन्छ, शरीर पनि अजङ्गको
कमिलैले ढालिदिन्छ प्वालमा पसेपछि सुँडको ।

२०७४ कात्तिक १८ गते दिउसो ३: २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :