नेतृत्व केन्द्रीकरणको चिनियाँ अभ्यास : अनिल शर्मा, नेता नेकपा

अघिल्लो हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशन बेइजिङस्थित जनबृहद् सभा भवनमा सम्पन्न भएको छ । ८ करोड ९० लाखभन्दा बढी पार्टी सदस्य रहेको चिकपाको अधिवेशनका लागि २ हजार २ सय ८७ जना प्रतिनिधि छानिएका थिए । सि चिन फिङले ३ घन्टा लगातार उभिएर प्रस्तुत गरिएको प्रतिवेदन र प्रस्तोता चर्चामा रहे । अमेरिकाको घट्दो आर्थिक, राजनीतिक, कुटनीतिक प्रतिष्ठाबीच चीनको बढ्दो प्रतिष्ठा र क्षमताका कारण चिकपाको १९औं अधिवेशनलाई चासोका साथ हेरिएको थियो । फौजी क्षेत्रबाहेक सबै क्षेत्रमा अमेरिकाले उछिनेको ठानिन्छ । चीनले अब फौजीश्रेष्ठता कायम गर्न चाहको छनक दिएको छ । चिकपाको यो महाधिवेशनलाई चासोका साथ हेर्नुका खास कारणहरू छन् –

१) आर्थिक पक्ष : शीतयुद्धको समाप्तिपछि एक मात्र आर्थिक शक्ति रहेको संयुक्त राज्य अमेरिकालाई उछिनेर चीन पहिलो आर्थिक विश्व शक्ति बनेको छ । उसले विश्वभरि पुँजीको निर्यात गरेको छ । विश्व बैंकको समानान्तर बैंक स्थापना गरेको छ । केही वर्षभित्रै विश्वबैंक संसारको नम्बर एक बन्ने संकेत देखिएको छ, जसमा चीनको सबैभन्दा धेरै लगानी छ । जसको मुख्यालय चीनको आर्थिक नगरी संघाईमा रहेको छ । चीनको आर्थिक नीति र स्थितिले सम्पूर्ण विश्व प्रभावित हुने अवस्था छ । विश्व शक्ति अमेरिकाको आर्थिक क्षमता कमजोर बन्दै गएको अवस्थामा चीनको वार्षिक आर्थिक वृद्धिदर ७.२ रहेको छ । त्यसैले चीनले कस्तो आर्थिक नीति लिन्छ भनेर चासोका साथ हेरिएको छ ।

२) गरिबी निवारण : उत्तर र पश्चिम चीन अझै पनि गरिबी र पछौटे अवस्थामा रहेको छ । प्रतिव्यक्ति आम्दानी युरोपको तुलनामा धेरै पछाडि छ । त्यसैले चीनले विश्वशक्ति बनिसक्दा पनि आफूलाई विकासोन्मुख देश भन्ने गर्दछ । भ्रष्टाचार र गरिबी निवारण चीनको मुख्य चुनौती रहेको सरकारी स्वीकारोक्ति छ । उत्तर र पश्चिम चीनलाई देशको मूल प्रवाहमा जोड्न विकासका पूर्वाधारमा सरकारले तीव्रताका साथ काम गरिरहेको देखिन्छ । गरिबी निवारणलाई समान विकास र द्वन्द्व समाधानको एक मात्र उपायका रूपमा चीन सरकारले हेरेको छ । देशको गरिबी निवारण नगरी विश्व शक्ति बन्न सम्भव छैन ।

३) पर्यावरण संरक्षण : चीनले विश्वव्यापी चासो रहेको कार्बन उत्सर्जनमा कटौती गर्ने, पर्यावरण–मैत्री विकास गर्ने र सोसम्बन्धी पेरिस सम्झौता लागू गर्ने बताएको छ । आर्थिक संकटका कारण अमेरिका पेरिस सम्झौताबाट बाहिरिएको कैयौं स्वास्थ्य तथा वातवरणीय कार्यक्रममा लगानी कटौती गरेर विश्वप्रतिको दायित्वबाट पन्छिएको समयमा राष्ट्रपति सि जिन पिङले आफू चालक सिटमा बस्न तयार भएको जनाउ विश्वलाई दिएका छन् ।

४) एक पाटो, एक बाटो परियोजना : सि चिन फिङ कार्यकालको पहिलो आकर्षण नै एक पाटो एक बाटो (वान बेल्ट, वान रोड) परियोजना हो । यसले विश्व अर्थतन्त्र र राजनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ । सो चिनियाँ परियोजना भारत–पाकिस्तान विवादित भू–भाग हुँदै जाने भएको कारण चीन–भारत सम्बन्धमा तनाव थपिएको छ । प्राचीन रेशममार्गलाई सि चिन फिङले ब्युँताउने घोषणा गरेपछि विश्व राजनीति तरङ्गित भएको छ । पश्चिमाहरूले यो परियोजनालाई ‘चिनियाँ विस्तारवाद’ भनेका छन् । चीनले भने सबैले जित्ने नीति (विन विन फरेन पोलिसी) भनेको छ । प्राचीन कालमा तिब्बती चिया र रेशम भारतीय व्यापारीहरू रेशम धागो र कपडाको विचौलिया काम गर्थे । यसै वर्ष जेठ अन्तिममा एक पाटो, एक बाटोसम्बन्धी पहिलो शिखर सम्मेलन बेइजिङमा सम्पन्न भएको छ । यो परियोजनाले पनि विश्वको ध्यान तानेको छ ।

५) पार्टी अनुशासन : पार्टीमा विकृति र विसंगति बढ्न थालेपछि पार्टी अनुशासनमा कडाइ सुरु गरिएको छ । केन्द्रीय समितिमा ‘केन्द्रीय अनुशासन र निगरानी समिति’ छ । गत वर्ष मात्र केन्द्रीय समिति केन्द्रीय नेता र त्यसका अङ्गहरूले पाँचतारे होटल प्रयोग नगर्ने निर्णय गरेको थियो । मितव्ययिताको यो नीति तलसम्म र विभिन्न पक्षमा लागू गरिएको छ । सोभियत संघको आन्तरिक विघटनलाई चिनियाँ नेताहरूले नजिकबाट हेरिरहेको देखिन्छ । पार्टी जीवनले चिनियाँ व्यवस्थाकै दिशा निर्धारण गर्दछ । त्यस्तो अवस्थामा पार्टीको अनुशासनलाई कडा निगरानी, कारबाही, नियन्त्रण र निर्देशनको नीति लिएको छ । झण्डै ९ करोड पार्टी सदस्य भएको चिकपा विश्वकै सबैभन्दा ठूलो दल हो ।

६) विदेश नीति : सी चिन फिङको उदयसँग चीनले नरम विदेश नीति त्याग्दै आक्रामक विदेश नीति अवलम्वन गरेको सर्वत्र अनुमान गरिएको थियो । विश्व मञ्चहरूमा अमेरिका रक्षात्मक र चीन आक्रामक बन्दै गएको छ । ब्रिक्स, आसियान त्यसको उदाहरण हो । युरोप र अमेरिका नआउँदै दक्षिण एसियामा प्रभाव विस्तार गर्ने चिनियाँ विदेश नीति छ । पाकिस्तान, श्रीलंकामा चीनले बलियो पकड बनाइसकेको छ । पर्यावरणसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हटेर चिन्ता र अनास्था बढिरहेको बेला चीनले आफू चालक सिटमा बसेको जनाउ दिएको छ । दक्षिण चीन सागरमा उसले कृतिम टापु बनाएर सैन्य शिविर राखिसकेको छ । उसले सोसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको फैसला अस्वीकार गरेको छ । भारतको आपत्तिका बीच विवादित पाकिस्तान नियन्त्रित भूभाग हुँदै रेशममार्ग विस्तार गर्दैछ । उसले पछिल्लो पटक अफ्रिकाको जबुटीमा सैन्य शिविर स्थापना गरेको छ । चीनले आफ्नो पुँजीसँगै सेना लग्ने संकेतको रूपमा त्यसलाई हेरिंदैछ । चीनले अमेरिकाको विरोध हुँदाहुँदै कोरिया, अफगानिस्तान, सिरिया, दक्षिण सुडान, इरानलगायतसँग आणविक ऊर्जा कार्यक्रममा संलग्न भएको छ । त्यसकारण पनि महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

चिनियाँ दाबी
सि चिन फिङद्वारा ३ घन्टा लगाएर वाचित र पारित राजनीतिक प्रतिवेदनअनुसार सन् २०२० सम्म सम्पन्न चीनको आधार निर्माण गर्ने दाबी गरिएको छ । अमेरिका र पश्चिमी देशहरूले रक्षा बजेट कटौती गर्न अनुरोध गरे पनि चीनले त्यो दबाबलाई अस्वीकार गर्दै रक्षा बजेट बढाउने घोषणा गरेको छ । सन् २०३५ सम्म सभ्य, सम्पन्न, मेलमिलापपूर्ण र समाजवादी चीन बनाउने दाबी गरेको छ । त्यसका लागि सन् २०३० सम्म पछौटे उत्पादन सम्बन्धलाई बदलेर उत्तर पश्चिम चीनलाई समेत यान्त्रिकीकरण गर्ने घोषणा गरिएको छ । सन् २०५० सम्ममा चिनियाँ सेनालाई विश्वकै उत्कृष्ट सेना बनाउने दाबी गरिएको छ । आर्थिक श्रेष्ठता कायम राख्दै सैन्य क्षेत्रमा पनि सन् २०५० सम्म अमेरिकामाथि हाबी हुने चिनियाँ रणनीति भने बुझ्न गाह्रो छैन । अहिले विश्वको कूल गार्हस्थ्य उत्पादनमा चीनको ३० प्रतिशत योगदान छ । १५औं शताब्दी अगाडि चीन विश्व मञ्चमा त्यही स्थितिमा थियो । औपनिवेशिक कालमा पछाडि प¥यो ।

चीनमा अहिले भ्रष्टाचार विरोधी कारबाही अभियानकै रूपमा चलाइएको छ । त्यसलाई अर्को सांस्कृतिक क्रान्ति पनि भन्ने गरिएको छ । सीले आफ्नो सो अभियानको बचाउ गर्दै भ्रष्टाचार विरोधी अभियानले चीन बलियो बनेको दाबी गरेका छन् । भ्रष्टाचार विरोधी अभियानले राष्ट्रपति सीलाई पक्कै पनि शक्तिशाली र जनताका बीचमा लोकप्रिय बनाएको छ । चीनको विदेशी मुद्रा सञ्चिति विश्वकै सबैभन्दा बढी छ र विश्वमा सबैभन्दा धेरै पर्यटक चिनियाँ छन् । त्यसले सीको दाबीलाई पुष्टि गर्छ ।

शालीन र विवादरहित सी जिनपिङ ५ वर्षमा ५६ देशको भ्रमण गर्ने घुमक्कड चिनियाँ राष्ट्रप्रमुख हुन् । उनको आक्रामक विदेश नीति त्यसले पुष्टि गर्छ । सी जिन पिङको कार्यकालसम्म पुग्दा औपनिवेशिक युगमा प्रवेश गर्नुपूर्व अर्थात् १५औं शताब्दिकै स्तरमा चीन शक्तिशाली बनेको छ । राजनीतिक विश्लेषकहरूले आजको चिनियाँ नेतृत्वले माओ त्से तुङलाई भावनात्मक र देङलाई वैचारिक नेता मानेको ठानेका छन् । देङ विचारलाई सीले अझ फराकिलो र आक्रामक बनाएका छन् । चीनको आर्थिक श्रेष्ठता राजनीतिक हस्तक्षेपतिर बढ्दै छ । नेपालमा चिनियाँ प्रभाव बढेको अनुमान छ । अहिले चीनले साइबर स्पेसमा ठूलो लगानी गरिरहेको छ ।

चिकपाको विधानमै ‘सि विचार’ राखेर नेतृत्व केन्द्रीकरण गर्दै २०४ पूर्ण र १७२ वैकल्पिकसहित ३७६ जनाको केन्द्रीय समिति चयन गर्दै गत बुधबार सिपिसिको १९औं अधिवेशन सम्पन्न भएको छ, जसमा २५ जना पिबिएम र ७ सदस्यीय स्थायी समिति छ । उत्तराधिकार तोक्ने अनुमान गलत सावित भएपछि तेस्रो कार्यकाल पनि सी जिनफिङ नै आउने हुन् कि भन्ने अड्कल काट्न थालिएको छ ।

नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद आवश्यक भएको दाबी गरिएको पारित राजनीतिक प्रतिवेदनमा ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँहरूले नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त भएको उल्लेख छ । सीलाई माओ त्से तुङपछि देङभन्दा पनि शक्तिशाली राष्ट्रपतिका रूपमा हेरिएको छ । देङ मरणोपरान्त ‘देङ विचार’ द्वारा संशोधित थिए । सी दोस्रो कार्यकालमै ‘सी विचार’ पार्टी विधानमा राख्न सफल भएका छन् । माओ कार्यकाल, देङ कार्यकाल र हाल सी कार्यकाललाई चिनियाँ क्रान्तिपछिको तेस्रो चरण भनिएको छ । चिनियाँ सरकारी सञ्चारले सि जिन पिङलाई २१औं शताब्दीका माओ भनेर सम्बोधन गरेका छन् । भावनात्मक रूपमा सी देङभन्दा पनि माओतिर जोडिन खोजेको आभास हुन्छ । देङले अवलम्बन गरेको वैचारिक, राजनीतक धारणामै उभिएर सीले भौतिक, कुटनीतिक, परराष्ट्र र नैतिक प्रश्नमा आक्रामक कार्यशैली अपनाएका छन् । माओप्रतिको लगाव रातो झण्डा झुक्न नदिने सेनालाई बलियो पार्नेजस्ता सीका घोषणाहरू अर्थपूर्ण छैनन् भन्ने होइन ।

मन्तव्यको क्रममा सीले सिजियान र हङकङका पृथकतावादी हर्कतप्रति कडा विरोध जनाए । सीले ‘एकदेश, दुई व्यवस्था’ नीति बदल्ने संकेत गरेका छन् । यो नीतिले चीन र पश्चिमी देशबीचको सम्बन्धमा अझै चिसोपना आउन सक्छ । चीनको प्रतिष्पर्धी अमेरिकामा जग्गा दलाल र फन्टुस ट्रम्प सत्तारुढ भएको, आर्थिक संकट बढ्दै गएको, विश्व छबी बिग्रेको समयमा चीनले भने नेतृत्व केन्द्रीकरण गरेको छ । भ्रष्टाचार विरोधी अभियान र माओ त्से तुङप्रतिको सम्मानभावले सी अझै लोकप्रिय हुनेछन् । तर, सन् २०५० सम्मको लक्ष्य निर्धारित गर्नु र उत्तराधिकार नतोक्नुका कारण नोकरशाही केन्द्रीयताको खतरा सामुन्नेमा छ । माक्र्सवादका तीन संगठक अंगमा खासै योगदान नगरेका सी विचारले वैचारिक क्षेत्रमा बहसको उठान हुनेछ ।

२०७४ कात्तिक १७ गते विहान ९ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :