राज्यआतंक बन्द गर

सम्पादकीय : रातोखबर साप्ताहिक, पूर्णाङ्क ११५

सरकारले फेरि राज्यआतंक सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस निकालेको आरोप लगाउँदै सरकारले व्यापक धरपकड, गिरफ्तारी, हिरासत प्रयोग गरेर आफ्नो अलोकतान्त्रिक अनुहार प्रस्ट देखाएको छ । यो सरकारले भन्ने गरेको लोकतन्त्रमा मानिसलाई बोल्न, लेख्न, राजनीतिक गतिविधि गर्न, सभासम्मेलन गर्न, राज्यका नकारात्मक क्रियाकलापको विरोध गर्न र आन्दोलन गर्न छूट छ तर यतिबेला देउवा–माके–थापा गठबन्धन सरकारले यो सरकारका कामकारबाही मन नपरेर असहमति राख्ने, विरोध गर्ने र आन्दोलन गर्ने विरोधी शक्तिमाथि दमन, धरपकड, गिरफ्तारी, हिरासत, जेलनेल र यातना दिन बन्द गरेको छैन । अझ बढाउँदै लगेको छ । सरकारका यी क्रियाकलापले सरकार विपक्षी, विरोधी र विद्रोहीहरूप्रति असहिष्णु मात्र होइन, विभेदकारी र क्रूर बन्दै आएको बुझ्न कुनै कठिनाइ छैन ।

नेपालमा मात्र होइन, संसारका जुनसुकै मुलुकमा पनि जनतालाई आफूलाई सही लागेको विचार अभिव्यक्त गर्न र आफूलाई मन नपरेको राज्यसत्ताले गरेका क्रियाकलापको विरोध गर्न छूट छ । यद्यपि कतिपय मुलुकमा त्यो नाम मात्रको छ । महान् उक्ति नै छ, माक्र्सवादमा हजारौँ सत्य र तथ्यहरू छन् । यसको एउटै सत्य भनेको विद्रोह गर्नु जनताको अधिकार हो । बुर्जुवा शक्तिको आडभरोसा र अमेरिकी उत्तरसाम्राज्यवादको पिट्ठु बनेको संयुक्त राष्ट्रयसङ्घले समेत शब्दमा मात्र भए पनि विद्रोह गर्ने जनताको अधिकार सुनिश्चित गरिदिएको छ । तर त्यही संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालका शासक भने विद्रोह गर्न पाउने जनताको अधिकार कुण्ठित मात्र होइन, बन्द नै गराउन चाहन्छन् । यो सरकारको घोर निन्दनीय कदम हो । सरकारले तत्काल यो कदम तत्काल बन्द गर्नुपर्छ । अन्यथा ऊ जनविद्रोहको दावानलमा सकिनेमा दुईमत छैन किनकि जनतामाथि दमन गरेरै सत्तामा हालीमुहाली जमाइरहेका शासकहरूको अस्तित्व जनविद्रोह र क्रान्तिहरूले समाप्त पारिदिएका हजारौँ सत्य र तथ्य हामीसँग छन् । रुसमा महान् लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्ति होस् वा चीनमा महान् माओको नेतृत्वमा भएको जनवादी क्रान्तिले पनि यसलाई प्रमाणित गर्छ ।

संसद्वादी सरकारले आगामी महिना प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको चुनाव मिति तय गरेको छ । सबैलाई थाहा भएको कुरा के हो भने यो संसदीय व्यवस्था संसारकै असफल व्यवस्थाहरूको जननी व्यवस्था हो । जसले जे गर्न पनि पाउने र अझ ठूलो माछाले सानो माछा खान पाउने यो व्यवस्थाको सत्तामा दलाल संसद्वादी दलहरू छन् । एकातिर संसदीय व्यवस्था हुनेले खाने र नहुनेले टुलुटुलु हेरेर बस्ने सिद्धान्तमा आधारित कथित लोकतान्त्रिक व्यवस्था हो । अझ नेपालको संसद्वादी व्यवस्थामा इतिहासमा मात्र नभएर वर्तमानमै पनि अत्यन्त बदनाम पात्रहरूको वर्चस्व रहँदै आएको छ । कमल थापा सत्ता र शक्तिको दुरूपयोग, दमन र हत्याका लागि पञ्चायतकादेखि नै बदनाम पात्र हुन् । सत्ताबाहिर रहनु भनेको उनका लागि पानीबिनाको माछो हुनु हो । शेरबहादुर देउवा नेपालको राजनीतिक इतिहासमा अर्का अत्यन्त बदनाम पात्र हुन् । सत्ता र शक्तिका लागि पार्टी र व्यवस्था नै ज्ञानेन्द्र शाहको पाउमा बुझाउनेदेखि सुत्केरी भत्ता, पजेरोकाण्ड र सांसद र मन्त्रीहरूलाई बिरामीको बहानामा एकैपटक विदेश पठाउनेसम्मका हर्कतका कारण उनी विगतमा अत्यन्त बदनाम थिए । अहिले नेपालकै इतिहासमा सबैभन्दा जम्बो ६४ सदस्यीय मन्त्रिपरिषद् बनाएर उनी फेरि कलङ्कित बनेका छन् । माके नामको राजनीतिक दल नेपालको इतिहासमा अर्को कुख्यात एमाले बनेर देखापरेको छ । सत्ता र शक्तिका लागि जोकसैसँग पनि मिलिदिने र सबै आदर्श र निष्ठाहरूलाई सत्ता र पदको दलालीमा समाप्त पारिदिने यो दल ‘झर्ला र खाउँला’ को शैलीमा बिनाविभागीय मन्त्रीहरूको जम्बो टोली लिएर देउवाको वरिपरि छनकमनक गरिरहेको छ । कथित वामपन्थी गठबन्धन बनाएर नेपालमा क्रान्तिकारी आन्दोलनको घाँटी रेट्ने योजना र षड्यन्त्रमा रहेको यो दल कुनै पनि बेला हिजो देउवाले जनयुद्धकालमा क्रान्तिकारी शक्तिमाथि लगाएको आतंककारीको आरोप लगाउन र दमन गर्न दाउ हेरेर बसेको छ । सबैतिर सडिसकेका तत्वहरूलाई भेला पारेर कहीँ नभएको हाँडीगाउँको जात्रा देखाइरहेको यो समूह चरम अवसरवादी झुन्डहरूको सडेगलेको चाङ बनेको छ । एमाले त एमाले भइहाल्यो । सत्ताबाहिर हुँदा क्रान्तिकारी र राष्ट्रवादी जामा लगाउने तर सत्तामा पुग्नासाथ बेच्नका लागि महाकाली नदीहरू खोजी गर्दै हिँड्ने यो समूह सत्तामा पुग्ने र देश डुबाउने खतरनाक योजनामा ताक हेरेर बसेको छ । कथित वाम गठबन्धनको बल्छी थापेर बसेको यो समूह गुटैगुटको मालाजस्तो छ । सारमा यतिबेला कथित प्रदेश र प्रतिनिधिसभाको चुनावको नौटंकी र त्यसमा उभिएका बुख्याँचाहरूका हर्कतहरूले देश विकास होइन, विनास र अर्को विद्रोहको सँघारमा छ भन्ने देखिन्छ । हुनत प्रतिक्रियावादीहरू आफू नसकिऊन्जेल गल्तीहरू दोहो¥याइरहन्छन् भन्ने उक्ति नै छ । भीरबाट लड्न लागेको पशुलाई कठै ! भन्दा बढी अरू के नै भन्न सकिएला र !

२०७४ कात्तिक १७ गते विहान ८ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :