मेरो अनुभूतिमा संचार तालिम

– रमाकान्त बास्तोला

नेपालमा पत्रकारिता फस्टाउँदै गएको छ । पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चार क्षेत्रलाई धेरै माथि पु¥याए । इतिहासदेखि वर्तमानसम्म पत्रकारिता क्षेत्रलाई नियाल्ने हो भने सञ्चारमाथि अङ्कुश, पत्रकारमाथि आक्रमण र हत्यासम्मका घटना भइरहेको देख्न र सुन्न सकिन्छ ।

पछिल्लो समय नेपालमा पत्रकारिताको स्थिति नियाल्दा समाचार सम्प्रेषण, राजनीतिक घटनाक्रमको व्याख्याविश्लेषण मात्र प्रमुख रहेको पाइन्छ यसले समाजमा धेरै निराशा उत्पन्न गरेको छ । यस्तो किसिमका पत्रकारिताले मात्र स्थान पाउने हुँदा पत्रकारिताका मूल्यमान्यताहरू दबिँदै गइरहेका छन् । स्वतन्त्र पत्रकारिताको अभाव खड्किँदै गएको छ ।

पत्रकारिता क्षेत्रमा आफ्ना अनुभूतिहरू केलाउँदै जाने हो भने पनि आफैँप्रति असन्तुष्ट हुनुपर्ने धेरै विषय छन् । यस क्रममा रातो खबर प्रकाशनगृहले सञ्चालन गरेको तीनदिने आधारभूत तालिममा समावेश हुँदा र वरिष्ठ पत्रकारहरूद्वारा प्रशिक्षण लिँदा नजिकबाट अनुभूति लिन सकियो ।

तीसजना प्रशिक्षार्थीसहित रातो खबर प्रकाशनगृहले सञ्चालन गरेको तीनदिने आधारभूत सञ्चार तालिमको पहिलो दिन युवा पत्रकार उजिर मगरले पत्रकारिता सम्बन्धमा राख्नुभएका कुराहरू निकै फाइदाजनक थिए जसले सिकारु पत्रकारहरूलाई आफ्नो पत्रकारिता पेसामा धेरै ऊर्जा मिलेको अनुभव मैले गरेँ । यस्तै अनलाइन पत्रकारिता चलाउने पत्रकारहरूलाई सामान्य प्राविधिक पक्ष थाहा नहँुदा भोग्नुपर्ने समस्या धेरै हुन्छ । यसलाई बुझाउने काम पत्रकार विनोद भट्टराईले गर्नुभयो । ती कुराले मलाई आफ्नै विगत सम्झायो । अनलाइनसम्बन्धी ज्ञान नहुँदा भोग्नुपरेको समस्याले अनलाइन मिडिया नै चलाउन सकिएको थिइनँ ।

पत्रकारितामा सञ्चार क्षमताको भूमिका उत्तिकै रहेको हुनुपर्दछ भने हरेक कुराहरूबारे साधारण जानकारी हुनु आवश्यक हुन्छ । यस्तै समाचारका अङ्ग, स्रोत, वाक्य संरचना, शुद्धीकरण, अवलोकन आदि पक्षको पनि ख्याल गर्नुपर्ने हुन्छ । पत्रकार प्रभात चलाउनेको प्रशिक्षणले तालिममा धेरै टेवा पुगेको थियो ।

नेपालमा खोजी पत्रकारिता गर्नेहरू विरलै पाइन्छन् । केही खोजी पत्रकारिता गर्नेहरू भए पनि त्यसमा पूर्णता नभएको धेरै पाइएको छ । खोजी पत्रकारिता बारेमा उल्लेखनीय तरिकाद्वारा सहज ढङ्गले प्रशिक्षण दिनुभएका करिब २५ वर्षदेखि पत्रकारिता पेसामा आबद्ध हुनुभएका शिव गाउँलेले नयाँ पत्रकारहरूलाई खोजी पत्रकारिताका बारेमा प्रस्ट पार्नुभयो जुन उदाहरणीय थियो ।

पत्रकारितामा कला र सौन्दर्यको भूमिकाका आकलन गर्न सकिएन भने पत्रकारिता नै अपूरो र निरर्थक बन्ने विषयमा खेम थपलियाले विस्तृत कुराहरू राख्नुभएको थियो । यसले कलाबिनाको पत्रकारिता असम्भव रहेको अनुभव दिलायो । पत्रकारिताको काम जनहितमा सूचना प्रवाह गर्नु हो । उहाँले पत्रकारितामा भाषागत, व्याकरणगत शुद्धताको अपेक्षा गरिने र यसका आवश्यक तत्वहरू सरल वाक्य गठन, जनशैली, बोधगम्यता ज्ञान हुनुपर्ने पनि उहाँले बताउनुभयो । यसले पत्रकारितामा देखिएका सामान्य वा जटिल समस्याहरूलाई न्यूनीकरण गर्न टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

यस्तै आधारभूत तालिमको अन्तिम दिन पत्रकारिता र भाषाविज्ञ अशोक सुवेदीले दिनुभएको भाषा प्रयोगसम्बन्धी तालिम झनै महत्वपूर्ण रह्यो । पत्रकारितामा भाषा मिलेन भने दाइँ हाल्दा गोरु नमिलेजस्तै हुन्छ भनेझैँ उहाँले भाषा प्रयोग र शुद्धतासम्बन्धी कुराहरू प्रस्तुत गर्नुभयो । पत्रकारिता क्षेत्रमा भाषा मुख्य हुन्छ । यसमा शैली र कलाको पनि उत्तिकै महत्वपूर्ण स्थान समावेश हुन्छ । आगन्तुक भाषा र शब्दको प्रयोग उचित नहुँदा पत्रकारिता पेसा खस्किँदै गएको पाइन्छ जसमा व्याकरणसम्बन्धी जानकारी पनि पत्रकारहरूले उत्तिकै राख्नुपर्ने हुन्छ । यसै विषयको तालिममा सुवेदीले प्रशिक्षार्थीहरूलाई भाषा प्रयोगसम्बन्धी कुराहरू सरल तरिकाले सिकाउनुभयो । यसले हामीजस्ता सिकारु पत्रकारहरूलाई निकै ठूलो योगदान पु¥याएको अनुभूति भयो ।

साहित्यिक पत्रकारिता पछिल्लो समयमा खस्कँदै गइरहेको छ । नेपालमा पत्रकारिताको सुरुआत साहित्यिक पत्रकारितादेखि नै भएको मानिन्छ । यस्तै साहित्यिक पत्रकारिता गर्नेहरू पछि पर्दै गइरहेका छन् । यही विषयअन्तर्गत साहित्यिक पत्रकार मोहन दुवालका भनाइहरूले तालिममा ठूलो योगदान पु¥याएको छ ।

सामान्य अर्थमा पनि पत्रकारिताको मर्म र यस सम्बन्धमा बुझेर मात्र पत्रकारिता पेसा अपनाउनु पर्दछ भन्ने तीनदिने आधारभूत तालिमका क्रममा पनि यस्ता धेरै विषय बुझ्ने मौका पाइयो । नेपालमा जनपक्षीय समाचारहरू कमै मात्रामा आउने गरेका छन् । बिनाअध्यन र बिनाजानकारी घटनालाई केलाएर कोठामा बसी समाचार कपी पेस्ट गर्नेको त अत्यधिक वृद्धि भएको पाइन्छ । त्यसैले प्रशिक्षक तीर्थ कोइरालाले सटिक विश्लेषण गर्दै पत्रकारिता साहुतन्त्र भएको र पत्रकारहरू बुद्धिजीवी नभई श्रमजीवी मात्र भएको उल्लेख गर्नुभएको थियो ।

यसरी रातो खबर प्रकाशनगृहले सञ्चालन गरेको तीनदिने आधारभूत सञ्चार तालिमले प्रशिक्षणमा सहभागी पत्रकारहरूलाई समाजमा सत्यतथ्यका साथै जनपक्षीय र असल पत्रकारिताको धर्म निर्वाह गर्न मद्दत पु¥याएको अनुभूति मैले गरेको छु । समाजमा विद्यमान विकृति विसङ्गतिलाई चिर्नुका साथै पत्रकारितालाई एक सम्मानित पेसा बनाउन यो तालिमले अग्रणी भूमिका निर्वाह गरेको छ । यसले अधिकार, विकास र परिवर्तनमा टेवा पु¥याउन सक्ने वातावरण दिएको छ । पत्रकारहरूलाई बेलाबेलामा यस्तो तालिमको व्यवस्था हुनु निकै राम्रो पाटो हो । उचित व्यवस्थापनसहित वरिष्ठ प्रशिक्षक तथा अग्रज पत्रकारहरूबाट हामीलाई प्रशिक्षित हुन आधारभूत तालिमको व्यवस्था मिलाउनुभएकोमा रातो खबर प्रकाशनगृहलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

२०७४ कात्तिक १५ गते अपरान्ह २ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :