चुनाव खारेजी तीव्र बन्दै

काठमाडौं : नेकपाले चुनाव खारेजी अभियानलाई तीव्र पारेको छ । त्यसक्रममा देशका विभिन्न स्थानमा सभा, कोणसभा, राँके जुलुसलगायत संघर्षका कर्यक्रमहरू गरेको खबर प्राप्त भएका छन् । कात्तिक ११ गते चितवनका पर्शा, टाँडी, नारायणगढ र पोखरामा राँके जुलुस सम्पन्न भएको खबर प्राप्त भएको छ । त्यसैगरी, भोजपुरका ४ स्थानमा राँके जुलुस भएको र जिल्लास्तरीय नेताहरूले सम्बोधन गरेको जानकारी नेकपा, भोजपुर सेक्रेटरी मादेन किराँतीले दिएका छन् । त्यसैगरी मकवानपुरका विभिन्न स्थानमा राँके जुलुस भएको खबरहरू प्राप्त भएका छन् । त्यसैगरी कात्तिक १३ गते देशका विभिन्न स्थानमा जनसभाहरू भएका छन् ।

चुनाव खारेजी अभियानसँगै सरकारले चुनावको शान्तिपूर्ण विरोधको हक खोस्दै पक्राउ गर्न थालेको छ । केही दिनअघि दाङ्गबाट ३ जना नेकपाका कार्यकर्ता पक्राउ गरेको प्रहरीले ११ गते काठमाडौं, रत्नपार्कबाट जनगणतान्त्रिक सम्पर्क मञ्चका कार्यालय सचिव पूर्ण श्रेष्ठलाई पक्राउ गरेको छ । भित्तलेखन गर्दै गर्दा जनगणतान्त्रिक सम्पर्क मञ्चका बर्दिया जिल्ला अध्यक्ष टीका चौधरी र एकजना श्रमजीवी कलाकार मिलनसमेत पक्राउ परेका छन् । त्यसैगरी विरगञ्जका विभिन्न स्थानमा सोमबार चुनाव खारेजीको आह्वान गर्दै कोणसभाहरू भएका छन् ।

असोज २८ गते पोखरामा सम्पन्न नेकपाको केन्द्रीय समितिको बैठकले ‘संसदीय चुनाव खारेज गरौं, क्रान्तिकारी ध्रुवीकरण तीब्र बनाऔं’ मुख्य नारा तय गरेको थियो । त्यसैगरी असोज २७ र २८ गते मिथिला, कात्तिक ११ र १२ गते लिम्बुवान, कात्तिक १४ र १५ गते तमुवान जनसत्ताको ब्युरोस्तरीय भेला र प्रशिक्षण सम्पन्न गरेको छ । नेकपा नेतत्वको जनसत्ताले कात्तिक १७ र १८ गते मगराँत, कात्तिक २० र २१ गते कर्णाली, कात्तिक २३ र २४ गते थारुवान र कात्तिक २६ र २७ गते सेती–महाकाली ब्युरोका जनसत्ताको भेला र प्रशिक्षण हुनेछ । 

ती प्रशिक्षण र भेलाको नेतृत्व नेकपाका राजनीतिक कार्य सम्पादन समिति (पिवि) सदस्य पदम राई र उमा भुजेलले गरिरहनुभएको छ । जनसत्ताप्रति व्यापक जनाकर्षण भएको नेता राईले बताएका छन् । नेकपाको पोखरा बैठकले कात्तिक र मंसिर दुई महिने चुनाव खारेजी अभियान सञ्चालन गर्ने योजनासँगै संसदीय सत्ताको सुदृढीकरणका विरुद्ध समानान्तर जनसत्ता निर्माण र सुदृढीकरण प्रक्रियालाई तीब्र पारेको छ । अर्कोतिर वैचारिक–राजनीतिक अभियान पनि तीब्र पारेको छ । जसअनुसार देशैभरि पार्टी स्कुलिङ्ग विभागले प्रशिक्षण कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ । गण्डकस्तरीय ५ दिने स्कुलिङ्ग मंगलबार सम्पन्न भएको छ । संसदीय दलहरूले राज्य र केन्द्रीय निर्वाचनको तयारी तीब्र पारिरहेको बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाबाट देश र जनताको शान्ति, समृद्धि र प्रतिष्ठाको संरक्षण नहुने भन्दै चुनाव खारेजी अभियान तीब्र पार्न थालेको छ ।

२०७४ कात्तिक १५ गते १० : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :