राष्ट्रियता सर्वाधिक खतरामा : बास्तोला

अम्बिका चन्द / काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अहिले नेपालको राष्ट्रियता सर्वाधिक खतरामा रहेको बताएका छन् । रातो खबर प्रकाशन गृहले शुक्रबार काठमाडौंमा गरेको विचारगोष्ठीमा बास्तोलाले यस्तो बताएका हुन् । “राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि देशभक्त जनता र सञ्चारमाध्यम एक भएर लाग्नुपर्छ” उनले भने “हैनभने अब हामीले नेपाली भएर गर्व गर्ने दिन समाप्त हुने खतरा छ ।” राष्ट्रियताको संरक्षणमा संचार माध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै नेता बास्तोलाले जनजीविकाका प्रश्नलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस विषयक गोष्ठीमा रातो खबर प्रकाशन गृहका निर्देशक अनिल शर्माले प्रस्तुत गरेको अवधारणापत्रमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राष्ट्रियता रक्षाका लागि सञ्चार माध्यम निरन्तर क्रियाशील हुनुपर्ने बताए । उनले नेपालको राष्ट्रियता रक्षा गर्न नेपाली नागरिक सधैं चनाखो रहेकोले नेपाल सिक्किम र भुटानजस्तो भारत अधीनस्थ नभएको टिप्पणी गरे ।

परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले राष्ट्रियता, जनतन्त्रको लागि सञ्चार माध्यमले निरन्तर सङ्घर्ष गरिरहनुपर्ने बताउँदै साम्राज्यवाद र विस्तारवादी अतिक्रमणको विरुद्ध जनपक्षीय सञ्चार माध्यम सधैं चनाखो रहनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला भनिएका मिडिया व्यापारीहरुले सञ्चालन गरेका कारण सर्वसाधारण जनताको आवाजको प्रतिनिधित्व हुन नसकेको बताए । यसै गरी पे्रस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्की र क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले वर्गीय समाजमा पत्रकारिता पनि वर्गीय हुने तर्क गरे ।

कार्यक्रममा नेकपाका सल्लाहकार समिति अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले, सदस्य लव प्रधान, नेकपाका केन्द्रीय सदस्य कृष्ण अधिकारी, चिरन पुन, धनबहादुर महर्जन र खुमा सुवेदीलगायतका विभिन्न जनवर्गीय सङ्गठनका केन्द्रीय अध्यक्षहरुको उपस्थिति रहेको थियो । रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईंको अध्यक्षतामा सम्पन्न गोष्ठीमा अतिथि र सहभागीहरुलाई रातोखबरका सम्पादक अशोक सुवेदीले स्वागत गरेका थिए ।

रातो खबर साप्ताहिकबाट

२०७४ कात्तिक १५ गते ८ : ४४ मा पककशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :